Friday, 25 July 2025

आध्यात्मिक साहित्य: गार्गीको साधना

 लालीगुरांश (डासिर्जना भण्डारी)

#आध्यात्मिक_साहित्य #जीवन_दर्शन



कथा

लामो समयदेखि बन्द कोठाभित्र चलिरहेको दोहोरो संवादको आवाज वाहिरसम्म पुगिरहेको थियो किनकी संवाद अलि असामान्य भएको थियो । जहाँ आत्मसम्मान र स्वाभिमानको सन्दर्भ आउछ त्यहाँ अनायासै सबैको आवाज स्वतः प्रतिवादमा परिणत हुन्छ ।

“...हजूर, हो, सहि सुन्नुभयो हजूरले, म एक्काइसौं शताव्दीकी गार्गी हुँ... ।” 

अलि प्रतिवादले भरिएको भावमा लैंगिक विभेदको सन्दर्भमा एक योगी पुरुष(लोग्ने मान्छे)लाई म यो भावमा आफ्नो परिचय दिरहेको थिएं । प्रतिवादको भाव त्यहाँ स्वतः प्रष्फुटित हुन्छ जव कसैको क्षमतामाथि उसका अनुभव तथा गुणहरुको परख नगरिकन उमाथि शंकाको नजरले हेरिन्छ र उसको उपलव्धिलाई स्वीकार गरिदैन । सामुन्नेको व्यक्तिसंग नजर जुधाएर मैले सवालको जवाफ दिदै अझै थपें,

“हो..., एउटी गार्गी सनातन वैदिक समाजमा थिइन आज भन्दा तीन हजार वर्ष अगाडि र म आजकी गार्गी हुँ... ।” 

यस्ता प्रतिवाद भावले भरिएका अभिव्यक्तिहरु नचाहेर पनि बोल्नुपर्ने बाध्यता हुनेगर्छ मलाई कहिलेकाहीं किनकी म मनुष्यको नैसर्गीक स्वतन्त्रता र समानताको सम्मान गर्ने र व्यवकारिक रुपमा त्यसलाई अनुशरण गर्ने व्यक्ति हुँ । म आफूलाई लिंग, वर्ग, जात-जातिको, सानो-ठूलोको संकीर्ण घेराभित्र कहिल्यै पनि राख्दिन । सबै मनुष्य हुन्, सबैको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक प्रक्रियाहरु उसैगरि चल्छन् । यही नै प्रकृतिको सबैभन्दा अकाट्य नियम हो  सर्वाधिक महत्वपूर्ण विषय हो । आकार, रंग, रुप, नाम यी त सबै कृत्रिम विषय हुन् जो असत्य र अनित्य छन्, माया र भ्रमयुक्त छन् ।  

मेरो पिताजी अत्यन्तै धार्मिक तथा आध्यात्मिक प्रकृतिको व्यक्ति हुनुहुन्छ । माटोका झिंगटीले छाएको घरको बरण्डामा बसेर पश्चिममा डुब्न लागेका सूर्यनाराणले छरिरहेका सगरमा आगो लागे जस्तो देखिने सुन्तले आकाशको सन्ध्या रुपको कान्तिको आनन्द लिदै एक साँझ हामी सनातन अध्यात्म दर्शनका केही विषयहरुमा सवाल–जवाफ गरेर बसिरहेको थियौं । मैले पिताजीलाई जन्म र पूनरजन्मबारे केही सनातन शास्त्रमा उल्लेख गरिएका ज्ञानमाथि प्रकाश पार्न अनुरोध गरें । वहाँ आध्यत्मिक विषयमा वातचित गर्न बढो रुचि मान्नुहुन्छ । 

“...जन्म र पूनरजन्मबारे... !?” 

मेरो अनुरोधको विषयलाई दोहोर्याउदै, पचास वसन्त पार गरिसकेको चम्किलो आभा भएको चेहरामा मिठो र मन्द प्रौढ मुस्कान भर्दै वहाँले प्रसन्न मुद्रामा भन्न शुरु गर्नुभयो,     

“पूर्वीय सनातन अध्यात्म दर्शनका मूल ग्रन्थहरुमा उल्लेख भएअनुसार यस्तो मान्यता रहदै आएको छ कि मनुष्यले आफ्नो नयाँ जन्मसंगै पूराना जन्मका धेरै संस्कार तथा गुणहरु लिएर आएको हुन्छ । हुर्कदै जाने क्रममा उभित्र अघिल्ला जन्महरुका पूराना संस्कार तथा गुणहरु उमाथि हावी हुदै जान्छन् र सहि वातावरण तथा अवसरहरु प्राप्त भएपछि उसको व्यवहार तथा जीवनमा ती संस्कार तथा गुणहरु प्रष्फुटित हुन थान्छन् । यस्ता संस्कार तथा गुणहरु सकारात्मक र नकारात्मक दुवै प्रकारका हुन सक्दछन् । यहीकारण हरेक मनुष्यका संस्कार तथा गुणहरु एकआपसमा मिल्दैनन् । जीवनका विभिन्न आयामहरुमा एक व्यक्तिबाट अर्को व्यक्ति अलग देखिन्छन् उनीहरु एकै प्रकारको वातावरणमा हुर्किएका भएपनि । तिमीहरु दाजु, बहिनीहरुको पनि त सोच, विचार, रुचि, बानी, व्यवहार एकको अर्कोसंग मेल खादैन नि त... ! हो यही नै हो शास्त्रमा उल्लेख गरिएको जन्म र पूनरजन्मको विषय यस्तो अवस्था मनुष्यको संचित कर्म तथा प्रारव्ध कर्म का कारणले हुने गर्दछ । संचित कर्म र प्रारव्ध कर्मकोबारे पछि फेरी भनौंला... ।” 

पिताजीकै ज्ञान दोहार्याछु म पनि, ‘अकाट्य प्राकृतिक नियम अनुसार प्रकृतिमा जन्मिएका सबै जिवित मनुष्य, जीव, प्राणीको मृत्यु निश्चित छ, अनि जहाँ मृत्यु निश्चित छ त्यहाँ पूनरजन्म सुनिश्चित छ ।’ यही ऋत अनुसार मेरो पनि जन्म भएको थियो प्राकृतिक रुपमा तर एक अत्यन्तै अलग प्रकारले अविश्वसनिय अवस्थामा । माता–पिता र परिवारका अग्रज व्यक्तित्वहरुले त्यसताका गर्नु भएको अनुभव अनुसार मेरो जन्म आमशिशुहरुको जन्म भन्दा फरक अवस्थामा भएको थियो रे । यो सबैको अनुभवमा आएको सर्वाधिक प्रामाणिक विषय हो कि हरेक शिशुहरु प्राकृतिक रुपमा जन्मदा माताको प्रनजनन् अंगबाट रातो रगत बहन्छ र शिशुको शरीरमा पोतिएको माताको शरीरको रगत पनि रातो नै हुन्छ र शिशुको शरीरको छालाको रंग माता–पिता तथा परिवारका सदस्यहरुसंग मिल्दोजुल्दो हुन्छ । तर मेरो जन्मको सन्दर्भ यो वास्तविकता भन्दा निकै फरक थियो रे ।

विगतका वातचित भैरहेको मौन समयको सन्नाटा चिर्दै म पट्टि हेर्दै अनायसै माताजीले भन्नुभयो, 

“मेरो मनमा अहिलेसम्म स्पष्ट नभएको कुरा र बेलाबेलामा त्यो के भएको थियो अहिलेसम्म कहिं, कतै नदेखेको र नसुनेको कुरा तेरो जन्मको सन्दर्भमा रहेको छ । यो सवाल अझैसम्म मेरो मनमा उठिरहन्छ र अझै पनि शरीरभरि काँढा उम्रिन्छन् ती दृश्यहरुलाई सम्झदा । हत्तेरीका मरेर बाचिएको थियो, साँच्चिनै के भएको थियो होला त्यो... !?” 

म अचम्म मान्दै वहाँको विगतको भयले त्रसित चेहरा हेरेर अवाक बनिरहें, वहाँले भन्दै जानुभयो,  

“तेरो जन्म हुदा मेरो प्रजनन् अंगबाट साग मिच्दा निस्कने जस्तो हरियो तरल पदार्थ बहेको थियो र तेरो शरीरमा पनि हरियो तरल पदार्थनै पोतिएको थियो, अनि तेरो शरीरको रंग कतै हरियो कतै निलो थियो । आजभन्दा तीस वर्षअघिको समय भएकोले तत्कालीन गाउँ, समाजमा गर्भमा रहेका केही भ्रूणहरुलाई पिशाचले, नाग-नागीनले, देवी-देवताले नजर लगाएका हुन्छन् भन्थे र विस्तारै उसलाई खान्छन् अथवा लान्छन् भन्ने विश्वास गरिन्थो । तेरो जन्म र शरीरको अवस्थाको सन्दर्भमा पनि यस्तै अनुमान र विश्वास गरेर यो शिशु बाच्दिन, यसकालागि धेरै मेहनत नगरौं, माउलाई चाहिं बचाउँ भन्ने पारिवारिक निर्णय अनुसार तिनै प्रयासहरुमा दिनहरु बित्दै गए । तर तँ मरिनस, बाँचिस र जन्म भएको छ महिना पश्चात अरु शिशुहरु जस्तै सामान्य देखिन थालिस र एकवर्ष पुग्दानपुग्दै आकर्षक र रहरलाग्दी देखिन थालिस् ।” 

मेरो जन्मको अनौठो अवस्थाको स्मरण गर्दै यस सन्दर्भमा एकदिन मेरो जीवनका हरेक सकारात्मक उपलव्धिहरुमा हृदयदेखि नै प्रसन्नता व्यक्त गर्ने मेरो स्वर्गीय फुपूले मलाई अत्यत्नै प्रेमपूर्ण भावले हेर्दै, मेरो शरीरमा न्यानो स्नेहले भरिएका वहाँका कोमल हातहरु सलबलाउदै गहभरि अश्रु पारेर भन्नुभयो, “...यति सुन्दर हुनुरहेछ, यत्रो गर्नुरहेछ, यस्ती बन्नुरहेछ मेरी बाबा...! तँ जन्मेपछि तेरो अवस्था देखेर यो पिशाचले खाएको गर्भ रहेछ भनेर हामीले तँलाई स्वीकार गरेनौं, अलग्ग विस्तरामा पल्टाएर पर पन्सायौं, तँ हाम्री होइन रहिछस् भनेर तर मानवता चाहिं भुलेनौं हामीले, तैंले भोक व्यक्त गर्दा आमाकै दुध चुसायौं, नयाँ शिशुलाई आवश्यक पर्ने तातो न्यानो पनि प्रदान गर्यौं... अनि... अनि... स्तव्ध, सन्नाटा... ।” 

फुपूका दुई आँखाबाट खसेका बलिन्द्र धारा आँशु गालाको मार्ग हुदै फुपूको पहेंलो चोली चिस्याउदै त्यहीं बिलाउथे । गला अवरुद्ध भएर फुपूले त्यसपछिका घटना तथा विषयहरु सुनाउनै सक्नु भएन । मेरो माता–पिताले पनि यस्तै अभिव्यक्तिहरु बारबार व्यक्त गर्नु भएको थियो मसंग । 

म छ महिना भएपछिका मेरा हुर्काइका दिनहरु परिवार तथा समाजकालागि सामान्य रहे तर माता–पिता र मेरोलागि असामान्य र रहस्यमय नै रहे । माताजी ती दिनहरु सम्झिरहनु हुन्छ र भन्नु हुन्छ, 

"तँ आम बच्चाहरु जस्तो थिइनस्, तेरो रुचि, बानी, व्यवहार, बोलि, मिझास अलि फरक प्रकारको थियो  सन्तोकी, भलाद्मी, नरुने, जोसंग पनि मान्ने, आफ्नो मुस्कान, बोली र व्यवहारले अरुलाई मुग्ध पार्ने... ।"

कहिलेकाहीं पारिवारीक माहोलमा पुराना विषहरुलाई स्मरण गरेर समय बिताउने मन भएको बखतमा माता–पितासंग मेरो हुर्काइ र त्यतिबेलाका रमाइला गतिविधिहरुलाई स्मरण गर्दा वहाँहरुले बिर्सिनु भएका कुराहरु मैले थपिदिन्छु, त्यसो होइन यसो हो भनेर । अनि वहाँहरु अत्यन्तै अचम्मित पर्नुहुन्छ र भन्नुहुन्छ, 

“तँ त्यतिबेला अढाइ वर्षकी मात्र थिस्, तँलाई कसरी थाहा हुन्छ त्यतिबेलाका कुरा !?” 

म झन उत्सुकता मानेर पुरै इतिहास खोल्दिन्छु त्यो पछि त्यो भयो, त्यसलेले त्यसो भन्यो, उसले त्यसो गर्यो... आदि । अनि वहाँहरु हाँस्दै मान्न तयार हुनुहन्छ र अढाइ वर्षको उमेरदेखिको मेरो स्मरण क्षमताको प्रशंशा गर्दै भन्नुहुन्छ, 

“यो असामान्य कुरा हो, परिवारका अरु बच्चाहरुको बातचितमा अढाइ वर्षदेखिका कुरा स्मृतिमा आएको थाहा पाएका छैनौं हामीले अहिलेसम्म ।” 

सामान्य हुर्काइमा हुर्कदै प्राकृतिक विकासक्रमको नियम अनुसार म किशोरावस्थामा प्रवेश गर्ने संघारम थिएं । विद्यालय, शैक्षिक संस्था, परिवार, समाज र प्रकृतिबाट सिकाइने तथा सिक्ने औपचारिक तथा अनौपचारिक शिक्षा लिदै म हुर्कदै गएं । शुरुशुरुमा त मैले थाहा पाइन आफू कस्तो छु भनेर, आफूलाई अरु सबै जस्तो नै छु तथा अरु पनि म जस्तै छन्, मैले अनुभव गरिरहेका दृश्य तथा विषयहरु उनीहरुले पनि अनुभव गर्छन होला भन्ने जस्तो लाग्थ्यो  १२ वर्षको उमेर अर्थात प्रथम रजश्वलाको समय पश्चात मेरो आफ्नै बुझाइमा एकपछि अर्को गर्दै मैले आफूलाई अरुको दाँजोमा फरक प्रकृतिमा पाउदै गएं र यो शिलशिला अझैसम्म यसैगरि चलिरहेको छ  म आफैंले आफैंलाई राम्ररी जान्न तथा चिन्न सकेको छैन र म आफ्नैलागि झनझन रहस्यमय बन्दै गैरहेको छु । यो रहस्यको विषय हो मेरा चर्मचक्षु बन्द हुदा मलाई आउने दृश्यहरु र मेरो सपनामा आउने अलौकिक दृश्यहरु । म ६ वर्षको उमेरमा हुदा राति ओछ्यानमा सुत्न गएपछि निदाउनुअघि बन्द आँखामा हरेक दिन मलाई ब्रम्हाण्डका अनौठा-अनौठा दृश्यहरु आउथे– तारा, नक्षेत्र, कालो सुरुङ, तारैतारा भएको अनन्त आकाश, निरन्तर आफ्नो गतिमा चलिरहेका आकाशीय पिण्डहरु...। त्यस्तै, सपनामा म आफूलाई एक्लै कहिं गहिरो गुफाको अध्यारो कुनामा पाउथें र त्यहाँ अरु केही हुदैनथ्यो वरिपरि, मात्र कालो रंगको झण्डै एक फिट अग्लो शिवलिंग देख्थें सानो चट्टानको थुम्कोमाथि गहिरो गुफाभित्र । कहिले उच्च पहाडको चचुरोमा पुग्थें, काग, गीद्ध र अरु पंक्षीहरु मेरो शिरमाथि उडिरहेका हुन्थे कराउदै, केही मेरो शिरमा बस्न खोज्ने दृश्यहरु आउथे, केहीले टोक्न खोजेका दृश्यहरु आउथे । कहिले पानीको ठूलो जलासय अगाडि आफूलाई एक्लै जलका लहरहरुलाई नियालीरहेको देख्थें । कहिले विशाल मुसलधारे वर्षामा एक्लै रुझ्दै बाटो हराएर घरि यता घरि उता हिडिरहन्थें, आत्तिन्थे  ठूलो वर्षाको कारण टेकेको ठाउँको माटो मेरो शरीरको बोझले थिचिएर पहिरो जान्थ्यो र म चिप्लेर काल्लामूनि तलसम्म पुग्थें, बल्ल-बल्ल उठेर जराबुटा समाउदै माथि आउथें... । सपनामा धर्म शास्त्रहरु, पढ्न नजान्ने अक्षरहरु देख्थें  ती शास्त्रहरु आफैं पल्टिन्थे, कहिलेकाही पानाहरु आर्फैं लामा हुन्थे बाटोमा गलैंचा बिच्छ्याए जस्तो अनि ती पान्नामाथि ७–८ वर्षकी सेतो पहिरन पहिरिइकी कन्या उभिन्थिन् र मलाई पिठ्यु फर्काएर शास्त्रको पानामाथि सुस्तरी हिड्दै टाढा पुगेर अदृश्य हुन्थिन्...। 

त्यतिबेला मलाई केहीपनि थाहा थिएन यो के भैरहेको थियो भनेर । मलाई लाग्थो म जस्ता अरु बालबालिकाहरुले पनि यस्ता दृश्यहरु देख्छन् होला । आठ कक्षामा पुगेपछि विज्ञान विषय पढ्दा मलाई पहिलो पटक थाहा भयो ती दृश्यहरु ब्रम्हाण्डका र सनातन धर्म शास्त्रहरुका रहेछन् भनेर । अहिले आफैंलाई अनुमान मात्र होइन एकिननै भैरहेको छ १४-१५ वर्षयता निरन्तर गरिरहेको अध्यात्म साधनामा आफूलाई आइरहेका अलौकिक दृश्यहरुसंग जोडेर तथा तुलना गरेर हेर्दा । चेतन अवस्था र सपानमा आउने ती सबै दृश्यहरु ब्रम्हाण्ड तथा परमात्माकै संकेतहरु रहेछन् । तर ८–९ वर्षको उमेरपछि विस्तारै यी दृश्यहरु आउन कम हुदै गएका थिए, मेरो पहिलो रजश्वलापछि मलाई त्यस्ता अलौकिक दृश्य र सपनाहरु आउन पूर्ण रुपमा बन्द भए र म ३५ वर्षको भएपछि अर्थात १४ १५ वर्ष अघिदेखि मेरो जन्मकुण्डली अनुसार केतु ग्रहको विमशोत्तरी अन्तरदशा प्राररम्भ भएपछि पुनः तीनै दृश्यहरु अझ घना र रहस्मयी भएर दाहोरिन थाले । सायद पहिलो रजश्वलापछि मेरो जीवन अर्को चरणमा प्रवेश गर्यो ।
 
म १२ वर्ष पुगेको थिएं, सात कक्षामा पढिरहदा मेरो पहिलो रजश्वला भएको थियो । यतिबेलासम्म म परिवारमा हरप्रकारले समान, स्वतन्त्र र स्वीकार्य थिएं तर यसपछिका दिनहरुमा ममाथि हाम्रा सनातन हिन्दु संस्कारका यस्तो र उस्तो भन्ने परम्परा र रहनसहनहरु थोपारिन थालियो र शुरुभयो छोरी मान्छेले गर्न हुने र गर्न नहुने विषयका श्रींखलाहरु  पहिलो रजश्वलामा आफ्नो घरबाट टाढा अरुको घरमा लुकेर बस्नुपर्छ १२ दिनसम्म, सूर्य हेर्नु हुदैन, घरका पुरुष सदव्यहरुको चेहरा देख्नु हुदैन आयु घट्छ, फूलेका तथा फलेका वनस्पतिहरु हेर्नु, छुनु तथा टेक्नु हुदैन, गाई छुनु हुदैन, गाइका गोरष खानु हदैन... । रजश्वलापछि छोरी मान्छे जवान भएको संकेत हो, यसपछि छोरी मान्छे यस्तो हुनुपर्छ, त्यस्तो हुनु हुदैन, यसो गर्नु हुदैन, त्यसो गर्नु हुदैन, यहाँ जानु हुन्छ, त्यहाँ जान हुदैन... आदि केके हो केके... । म किन भनेर सवाल गर्ने प्रयास गर्थें तर हाम्रो सनातन हिन्दु धर्म, संस्कृति मान्ने घरपरिवार तथा समाजमा खासगरि सांस्कृतिक, धार्मिक तथा सामाजिक विषयहरुमा उठाइएका सवाल तथा तर्कहरुलाई कुतर्क मान्ने गरिन्छ र जे चल्दै आइरहेको छ त्यसलाई चुपचाप अनुशरण गर्न आदेश दिइन्छ माता-पिता तथा अग्रजहरुबाट । जसले अनुशरण गर्दैन उ विविध प्रकारले जानेर या नजानेर दृश्य तथा अदृश्य रुपमा सजायको भागी हुनु पर्दछ ।

पहिलो रजश्वला अघिसम्म आवश्यक विषयहरुमा आफ्ना कुराहरु, इच्छाहरु, अनुभवहरु भन्ने, बोल्ने, हाँस्ने, अरुका कुरा सुन्ने, अरुलाई हँसाउने व्यक्ति म अव विस्तारै नबोल्ने, चुपचाप बस्ने, एकान्त प्रिय बन्दै गैरहेको थिएं र सात कक्षामा पढ्दादेखि नै मैले आफूले आफूलाई अरुबाट विस्तारै अलग गर्दै गएं  आफूलाई क्रमशः अक्षरहरुको माध्यमबाट व्यक्त गर्न थालें । अक्षर  पुस्तकहरुलाई नै आफ्ना साथीहरु बनाउन थालें को थिएं, म विस्तारै अन्तरमञखी बन्दै गैरहेको थिएं । एक्लै आफ्नो कोठमा बसेर म कविता, कथा, नाटक, निवन्ध, आख्यानहरु लेख्ने र अरुले लेखेका कृतिहरु पढ्न थालें । अधिकांश समय आफूलाई आफूभित्र र आफ्नो कोठाभित्र सिमित गर्न थालें  त्यसयता मेरो समय बिताउने माध्यम यीनै अक्षरले भरिएका कापिहरु, विद्यालयका पुस्तक तथा कापिहरु र तत्कालीन समयमा उपलव्ध हुनसक्ने पत्रपत्रिका तथा साहित्यिक पाठ्य सामग्रीहरु र रेडियो हुदै गएका थिए । विस्तारै म यति चुप भएंकी परिवारमा मलाई यसले बोल्नै बिर्सि, लाटी भइ भनेर मलाई बोलाउने सम्वोधन नै लाटी बन्यो । 

हो, म अरु समक्ष लाटी जस्तो देखिएं तर म आफ्नोलागि लाटी थिइन । मेरो साँघुरो समझ, सानो वुद्धिमा विशेषप्रकारका तर्क र सवालहरु जन्मिरहेका थिए । मभित्र एकप्रकारको अग्नि दन्किरहेको थियो घरपरिवार र समाजमा व्याप्त छोरी मान्छे र छोरो मान्छे तथा स्त्री र पुरुषविच गरिने विभेदका चांगहरु देखेर । यो किन, यस्तो किन, केकालागि यस्तो भन्ने सवालको जवाफ कसैले दिदैन्थ्यो, जवाफको साटो सबै हप्काउन उद्दत देखिन्थे र अवदेखि यस्ता के, किन जस्ता कुतर्कहरु नगरेर संस्कारी हुने पाठ सिकाउथे जसले मेरो आन्तरिक प्रतिवाद र विद्रोहमा दिनदिनै झनझन उच्च प्रज्वलनको वर्तन थपिरहेको थियो । 

‘प्रतिवाद र विद्रोह’ भन्ने शव्दावलीहरु सुन्दा अलि नकारात्मक र कठोर जस्तो लाग्न सक्छ तर यो वाहिरी रुपमा अरुसंग भैरहेको थिएन, मभित्र मात्र चलिरहेको वा अझ भनौं दन्किरहेको अतृप्त डढेलो थियो । यसले मेरो बाहेक अरु कसैको अमनचैन र शान्तिलाई बिथोलेको थिएन । प्रारम्भमा छोरी मान्छे र छोरो मान्छे, छोरी मान्छे यस्तो हुनुपर्छ र छोरो मान्छे यस्तो हुनुपर्छ भन्ने केही शव्दावली र विषयहरुले मात्र मेरो शान्ति भंग गरेका थिए तर विस्तारै यो फेहरीस्त बढ्दै गयो । ‘छोरी मान्छे’ र ‘छोरो मान्छे’ भन्ने परिवार र समाजले लगाएको परिभाषाको अर्थ र आधार खोज्न भ्याएकै थिइन मैले फेरी अर्को अझ ठूलो भार थपियो मेरो सानो मस्तिष्कमा, ‘छोरी मान्छे अर्थात श्रीमती दाषी हो छोरो मान्छे अर्थात श्रीमान मालिक हो ।’ मालिकको अर्थ त थोरैतिनै बुझेको थिएं घरमूलि हो भनेर किनकी गाउँ, समाजमा श्रीमतीहरुले आफ्नो श्रीमानलाई मालिक भनेर सम्वोधन गरेको सुन्दै आइरहेको थिएं, घरमा राखेका नोकरचारले पनि मालिक नै सम्वोधन गर्ने गर्थे घरमूलीलाई, यो मेरो समझ वाहिरको कुरा थियो । 'दाषी' शव्द मैले पहिलोपटक सुनेको थिएं, यो शव्द मेरोलागि विलकुल नयाँ थियो । मैले आफ्नै प्रयासले दाषी शव्दको अर्थ खोज्ने र बुझ्ने प्रयास गरें किनकी कसैलाई सोधे पनि मैले सहज रुपमा त्यसको जवाफ पाउने अवस्था थिएन । 

शुरुशुरुमा मालिक र दाषी भनेको मैले घरपरिवार, गाउँ, समाजमा कहिलेकाहीं देख्दै र सुन्दै आएका श्रीमान र श्रीमतीविचका अनौपचारिक संवाद तथा गतिविधिहरु हुनकी जस्तो लाग्यो मलाई । जस्तोकि, श्रीमतीले श्रीमानलाई मालिक, तपाईं, हजूर भनेर शिर झुकाएर नम्र स्वरमा सम्मान पूर्वक सम्वोधन गर्ने तर श्रीमानले श्रीमतीलाई उनको सग्लो मान समेत बिगारे बिगारेको नामले ठाडो किसिमले बोलाउने, बिना नामले पनि अनौपचारिक किसिमले सम्वोधन गर्ने, तँ भन्ने, ठूलो श्वरमा बोल्ने, हप्काउने, अपमानजनक शव्दहरु प्रयोग गर्ने, आँखा तरेर हेर्ने आदि जस्ता गतिविधिहरु मालिक र दाषीका मापदण्डहरु होलान् जस्तो लागेको थियो । मैले परिवार र समाजका हरप्रकारका गतिविधिहरु अझै नियालिरहें मेरो मनभित्र उठेका सवालहरुको जवाफ खोज्न तर पाइरहेको थिइन । कसैलाई सोध्न पनि मन थिएन किनकी यस्ता कुरा सोध्नु पनि छोरी मान्छेकोलागि उपयुक्त होइन भन्ने संकेत मैले पाइसकेको थिएं । त्यसैले मैले परिवारभित्र र समाजका गतिविधिहरु अझै नियालिरहें आफ्नै प्रकारले मनभित्र उठेका सवालहरुको जवाफ खोज्न ।  

झण्डै-झण्डै साँझको समयमा गाउँमा एउटा परिवारमा एकदिन अचानक मैले श्रीमानले श्रीमतीलाई जथाभावी पिट्दै गरेको देखें तर श्रीमतीले श्रीमानलाई हात फर्काएको देखिन । श्रीमानले श्रीमतीलाई भनिरहेका थिए,

"श्रीमतीलाई तँ मलाई छोड, कि अर्कोसंग पो...ल जा, कि माइत गएर उतै बस, कि आफूखुशी गर, मलाई तँ चाहिदैन, खुट्टा भए जुत्ता जतिपनि पाइन्छन्... "

श्रीमानले अत्यन्तै रिसाएर मालिकको भूमिका निर्वाह गर्दै गाली गरिरहेको थियो, लम्कीझम्की र बेलाबेलामा कुटपिट पनि गरिरहेको थियो तर श्रीमतीले रुदै र काप्दै अत्यन्तै डर र असुरक्षाको भावमा श्रीमानसंगै हारगुहार माग्दै उसका गोडा समातेर गिडगिडाइरहेकी थिइन्, 

“हजूर नै मेरो मालिक हो, दाता हो, म हजूरको दाषी हुँ, म हजूरलाई छोडेर कहिं जान्न । मैले हजूरले भनेको सबै मानेकै छु त, हजूरले नगर, नला, नजा, नखा, नबोल भन्नु भएका सबै कुराहरु हुबहु अनुशरण गरेकै छु त, मलाई त्यसो नभन्नु बरु म मन परिन भने अर्को श्रीमती ल्याए पनि ल्याउनु तर म हजुरलाई छोडेर कहीं जान्न मेरो मालिक, मलाई छोडेर जा चाहिं नभन्नु किनकी मेरा माता–पिताले आफ्नो जेथोले भ्याएको दाइजो दिएर 'मारे पाप, पाले पुण्य' भनेर मलाई हजूरसंग जिम्मा लगाउनु भएको छ, अव त्यही आगन तेरो संसार हो, त्यहींबाट तेरो अर्थी उठ्नुपर्छ, यो आगन अव तेरोलागि बिरानो देश हो र हामी तेरोलागि पराइ हौं, के गर्नु त छोरी मान्छे भएर फुटेको कर्म लिएर जन्मिस् अव आफ्नो कर्मले गरिखानु, सुख बाड्न माइत आउनु तर दुःख उतै मिलाउनु भन्नु भएको छ, म वहाँहरुको दुःख बढाउन माइत जान्न ...।” 

श्रीमती श्रीमानको गोडा समातेर डाको छोडेर रुदै हारगुहार गरिरहेकी थिइन मलाई हजूरसंगै राख्नुस् मेरो मालिक भनेर तर श्रीमान श्रीमतीलाई आफ्ना गोडाबाट छुटाउन श्रीमतीको शरीरमा तथाभावी लातैलात्ताले हानिरहेको थियो मानौं कि श्रीमती कुनै निर्जिव वस्तु हो र उसमा शरीर, मन, भावना, आत्माको कुनै चेत नै छैन... । 

१२–१३ वर्षको सानो मस्तिष्कले यसप्रकारको प्रत्यक्ष रुपमा अत्यन्तै अमानवीय र बिभत्स दृश्यबाट बल्ल बुझ्यो दाषी र मालिकको अत्यन्तै विभेदपूर्ण चरम अन्यायपूर्ण बिभत्स परिभाषा । छोरी मान्छे र छोरो मान्छेविचको विभेदको खाडल, लिंग भेद र लैंगिक विभेद... यही नै रहेछ हाम्रो हिन्दु घरपरिवार र समाजको संस्कार भन्ने बुझाइको छाप पर्यो मेरो साँघुरो र सानो मन-मसितष्कमा । दाषी भनेको आफ्ना सबै मानवीय र नैसर्गीक अधिकार र स्वतन्त्रताहरु मालिक अर्थात श्रीमान अर्थात छोरो मान्छे अर्थात पुरुषको अधिनमा सुम्पिनु पो रहेछ । छोरी मान्छे भएर जन्मिनु अभिसाप, पाप तथा फुटेको कर्म पो रहेछ र छोरो मान्छे भएर जन्मिनु पुण्य र सौभाग्य रहेछ । मेरो सानो मस्तिष्कले यस्तै नै  बुझ्यो हाम्रा संस्कृति र संस्कारहरुको सन्दर्भमा यो प्रत्यक्ष दृश्याबलोनबाट । म लगायत म जस्ता धेरै छोरीहरु घरपरिवार र समाजबाट लैंगिक विभेदका यस्तै अमानवीय र विभत्स दृश्यहरु हेर्दै र चाहेर, नचाहेर सिक्दै हुर्किरहेका थिए । अन्जानमै घरपरिवार र समाजबाट सिकिरहिएका नकारात्मक किसिमले हृदय छेड्ने अनौपचारीक ज्ञान तथा नैतिक शिक्षाहरुले म लगायत अरु छोरी मान्छेहरु सबैको मन तथा भावना एक प्रकारले तयार भैरहेको थियो पितृसत्तात्मक आदर्शलाई अनुशरण गर्दै चलिरहेको समाजमा अटाउन मिल्ने गरि कि, 

”...म छोरी मान्छे हुँ, मेरो जन्म अभिसाप हो, फुटेको कर्म लिएर जन्मिएको, निश्चित उमेरपछि मेरो विवाह हुन्छ, मालिकको घरमा दाषी बनाएर पठाइन्छु, मालिकका दुर्वचन र दुरव्यवहारहरु मैले पनि खेप्नुपर्छ...आदि ।”  

आफू स्वयंमले देखेका घरपरिवार, गाउँ, समाजका यस्ता प्रतिनिधिमूलक प्रामाणिक गतिविधिहरुले मभित्रको शान्तिलाई अझ धेरै बिथोथिरहेको थियो र बेचैनीको उच्च तहमा पुर्याएको थियो । मालिक र दाषी विचको त्यस्तो अत्यन्तै अमानवीय र विभत्स घटनाक्रमको कारण अत्तालिएको मेरो मनले कत्तिपनि विश्राम लिन सकेन  त्यसैले मैले एकदिन हिम्मत गरेर माताजीलाई यसबारे सोध्छु भन्ने निधो गरें  त्यो दिन आयो पनि । शनिबारको दिन थियो, विद्यालय जानु पर्ने थिएन । विहानपखको समय, वाहिर चराचुरुंगीहरु चिरबिरचिरबिर कराइरहेका थिए । झ्यालबाट चिसो वतास र उकालो लाग्दै गरेको उज्यालोले सुस्तरी चिहाइरहेको थियो । माताजीले भान्सामा काठको ठेकीमा भैंसीको दहीबाट मोही पारेको घार्रघुर्र आवाज मेरो कानमा ठोक्किरहेको थियो । ठेकी र मदानीको घार्रघुर्र आवाजले मेरो निद्रा खुल्यो, झल्यास्स सम्झें माताजीलाई सोध्छु भनेको कुरा र ओछ्यानबाट जुरुक्क उठें । आँखा मिच्दै माताजीको समिपमा गएर बसें र केहीपनि भूमिका नबाधिकन सवालको जवाफ पाउने आशाले थोरै डर र थोरै हतासले भरिएको आवाजमा एक श्वासमा माताजीलाई मैले सोधें, 

“माताजी, छोरी मान्छेले दाषी नबन्न के गर्नुपर्छ ?”

मतिर नफर्कीकन मदानिको नेति तान्दै माताजीको छोटो जवाफ दिनुभयो, “धेरै पढ्नु पर्छ ।” 

पढाइको सिमा जान्ने उद्देश्यले मैले फेरी माताजीलाई सोधें,  

“कति पढ्नुपर्छ ?”

मदानि थोरै उठाएर ठेकिमा मनतातो पानी हाल्दै वहाँले फेरी छोटो जवाफ दिनुभयो, 

“बि.ए., एम.ए. पाश गर्नुपर्छ ।”

अझ स्पष्ट हुने उद्देश्यले मैले फेरी सोधें,

“त्यसपछि विवाह गरेर मालिकको घरमा नगए पनि हुन्छ मालिकको दाषी भएर ?”

यसपटक चाहिं मदानिको नेति तान्न बिश्राम लिएर मतिर फर्केर मुसुक्क हाँस्दै माताजीले फेरी उही किसिमले छोटै तर अलि बुझ्ने गरि जवाफ दिनुभयो, 

“विवाह त गर्नुपर्छ तर दाषी बन्नु पर्दैन किनकी पढेका छोरी मान्छेहरु बाठा हुन्छन्, उनीहरुको आफ्नै कमाइ र इज्ययत हुन्छ । अनि कमाइ भएका श्रीमतीलाई श्रीमानले सम्मान गर्छन, आफूलाई श्रीमतीको मालिक र श्रीमतीलाई आफ्नो दाषी बनाउदैनन्... ।”

मोही पारिसकेर नौनी झिक्दै गर्दा माताजीसंग भएको यो सौहार्दपूर्ण संवाद मेरोलागि अत्यन्तै जानकारीमूलक र उपलव्धिमुलक थियो । म मनबाट ढुक्क भएं र मेरो जिज्ञासाको जवाफ पाएपछि म मेरो कोठामा फर्कें र फेरी सिरकभित्र गुटुमुटु भएं । ठण्डीको मौसममा सिरकमा गुटमुटिएपछि मेरो शरीर त शान्त भयो तर मन–मस्तिष्कमा तुफान चल्न थाल्यो । मनमा थोरै सुखको अनुभूति भयो कमसेकम दाषी बन्नु नपर्ने उपाय त रहेछ नि भनेर र त्यत्तिनै गतिमा मन आत्तिरहेको पनि थियो, ‘ओहो त्यत्तिकाविधि कहिले पढिसक्नु, कसरी पढ्नु, कति मुस्किल हुन्छ होला । सात कक्षा त सकियो बल्ल, आठ कक्षाको पाठ सात कक्षाको भन्दा कति धेरै गाह्रो रहेछ । बि.ए., एम.ए. त झन कति गाह्रो हुन्छ होला । म समय र वर्षको लेखो लगाउन थालें । आठ कक्षादेखि औंला भाँच्दै गएं, नौ; दश; आइ.ए. पहिलो वर्ष, आइ.ए. दोस्रो वर्ष; बि.ए. पहिलो वर्ष, बि.ए. दोस्रो वर्ष; एम.ए. पहिलो वर्ष, एम.ए. दोस्रो वर्ष... ! वर्ष ठम्याएं र आफैंसंग संवाद गरें, 

“मलाई अव आठ वर्ष लाग्ने रहेछ खुरुखुरु पाश गरें भनें । अवको आठ वर्षमा म २२–२३ वर्षको हुने रहेछु....।”

 मैले एक निमेशमा यी सबै हिसाव–कितावहरु निकालें र सोही क्षणबाट मेरो सानो मस्तिष्कले ततक्षण संकल्प गर्यो जति दुःख तथा मेहनेत गर्नु परेपनि परोस, मेहनेत गरेर बि.ए र एम.ए. सम्म पढ्ने र म कुनैपनि हालतमा मालिकको दाषी नबन्ने, आफैं धन र इज्ययत कमाउने ...। यहींबाट तय भयो मेरो उच्च शिक्षाको मार्ग र दिशा । त्यसयता मेरो औपचारीक र अनौपचारीक अध्ययन तथा लेखनले रफ्तार पक्डिदै गयो र आजपर्यन्त यो रफ्तार कम भएको छैन कसैको दाषी नबन्ने र छोरी मान्छेको जन्म पाप र फुटेको कर्म होइन भनेर आफूले आफैंलाई सावित गरेर डर, त्रास र अन्धविश्वासमा जकडिएको परिवार र समाजमा उदाहरण बनेर आफैंलाई पेश गर्न आज पर्यन्त लागिपरिरहेको छु म ।

ती दिनहरुमा अलि मुस्किल थियो, पाइला–पाइलामा चुनौतीहरु बाटो छेक्न आउथे तर म अत्यन्तै आत्मानुशासित भएर आफ्नो संकल्पको मार्गमा अगाडि बढिरहें । यसक्रममा धेरै अवरोधहरु आए, केही आर्थिक प्रकारका र केही सांस्कृतिक, धार्मिक तथा सामाजिक प्रकारका । आर्थिक भन्दा सांस्कृतिक, धार्मिक तथा सामाजिक अवरोधहरु बढि झेल्नु परेको थियो परिवार तथा समाजमा छोरी मान्छे र छोरो मान्छेको पहिचान दिने लैंगिंक विभेदले गहिरो जरो गाडेको कारण । आफ्नो संकल्पसंगै अगाडि बढिरहदा खासगरि स्त्रीहरुकालागि अनिवार्य परम्पराका रुपमा मान्दै आइएको विवाह सम्वधमा अगाडि बढ्नुको विकल्प थिएन, विवाह भयो तर मेरो औपचारीक अध्ययन जारिनै रह्यो । नयाँ घरपरिवारको जिम्मेदारी बढ्यो तर मेरो औपचारीक अध्ययन जारिनै रह्यो । सन्तान जन्मिए तर मेरो औपचारीक अध्ययन जारिनै रह्यो, आफ्नो रुचिको पेशा व्यवसाय अंगालें यसपश्चात पनि मेरो औपचारीक अध्ययन जारिनै रह्यो र मेरो अध्ययनको शिलशिला अझै पनि जारी नै छ किनकी जीवन नै एउटा सबैभन्दा ठूलो सिकाई तथा अत्यन्तै महत्वपूर्ण महाविश्वविद्यालय रहेछ जहाँ अध्ययन गर्नु बाहेक अर्को विकल्पनै छैन जीवनलाई सहि ढंगले अगाडि बढाउन । 

मेरो आफ्नै परिभाषामा, अव अहिले त म परिपक्व भएको छु । व्यक्ति, परिवार, समाज, राज्य, विश्व, प्रकृति, जगत, परमात्माकाबारे थोरबहुत जानकारी राख्न सक्ने भएको छु । अवस्था र परिस्थिति अनुसार केही जमघट, समारोह, कार्यक्रम, संस्थाहरुमा लैंगिक विभेदहरु अझैपनि पाइला–पाइलामा मेरो अनुभवमा आइरहन्छन् तर म अव मलाई यो विषयले बेचैन गर्न छोडेको छ किनकी यी दिनहरुमा अव म लैंगिक विभेदका विषयहरुलाई मुसुक्क हाँसेर सजिलै पचाउन सक्ने भएको छु । मभित्र यस्तो सकारात्मक दृष्टिकोण तथा समयसान्दर्भिक परिवर्तन आउनुमा लैंगिक विभेदयुक्त व्यवहार गर्ने तथा विभेदको सोच राख्ने व्यक्ति, समुदाय, समाज तथा संस्थाको उति ठूलो गल्ती म मान्दिन र देख्दिन किनकी उनीहरुले पनि मैले जसैगरि अनौपचारिक शिक्षाको माध्यमबाट सानैदेखि आफ्नो घरपरिवार, गाउँ, समाजबाट त्तस्तै प्रकारका ज्ञान तथा सिकाएहरु सिक्दै आइरहेका छन् जुन मैले अनुभव गरेको थिएं आफू हुर्कने क्रममा मेरो सानो मस्तिष्क नै त्रसित र अस्तव्यस्त हुनेगरि । 

लैंगिक विभेदको सन्दर्भमा मभित्र यस्तो सकारात्मक दृष्टिकोण बन्नुको पछाडि अर्को कारण पनि हुनसक्छ । अधिकांश मानिसहरुले आफ्ना बाल्यकालदेखिका यस्ता विभेदपूर्ण, अन्यायपूर्ण, अनुपयोगी परम्पराका सिकाइहरुलाई जस्ताको तस्तै ग्रहण र स्वीकार गर्छन, थोरैले मात्र त्यसमाथि सवाल–जवाफ गर्छन् र अझ थोरैले मात्र त्यसबारेमा चिन्तन्, मनन् र अनुशरण गर्छन । यस्ता संस्कार तथा परम्पराहरु मानवीय हितकालागि सहि छन् भने तिनलाई परिवार, समाज तथा राज्यमा अझ व्यवहारिता प्रदान गर्ने तथा बढाउने प्रयास गर्दछन् । अमानवीय तथा गलत छन् भने त्यस्ता विभेदयुक्त संस्कार तथा परम्पराहरुलाई हटाउने, सूधार तथा समय सान्दर्भिक हुृगरि परिमार्जन गरेर व्यवहारमा ल्याउने प्रयास गर्दछन् । मैले चिन्तन, मनन्को मार्ग लिएं र लैंगिक विभेदको विषयलाई समय सान्दर्भिक बनाउने उद्देश्यले यसबारे जागरण ल्याउने प्रकारका विषयवस्तुहरु सबैमाझ पस्किन कापि–कलम समातें र यसैलाई आफ्नो कर्म क्षेत्र बनाएं किनकी म कसैको दाषी होइन र ममा छोरी मान्छे भएर जन्मेकोमा कुनै प्रकारको हिनता भाव पनि छैन अव बरु आफूलाई भाग्यमानी ठान्छु र गौरव मान्छु कि प्रकृतिले मलाई स्त्री शरीरमा अस्तित्वमा ल्यायो । स्त्री हुनुको आनन्द केवल स्त्रीलाई नै थाहा हुन्छ तर यो आनन्द थाहा पाउन आफ्नो आत्मा अर्थात चेतना जाग्रीत हुनु अत्यावश्यक हुन्छ । आत्मा अर्थात चेतना जाग्रीत गर्न आफ्नो दैनिक जीवनमा अनुशासित भएर सनातन अध्यात्म विज्ञानका वैज्ञानिकतामा आधारित योग साधना(योगासन, प्राणायाम, ध्यान) का विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरण गर्नु अपरिहार्य हुन्छ ।

आफ्नो संकल्पमा आफैंले आफूलाई प्रोत्साहित गरिरहन समय-समयमा म उत्प्रेरणात्मक नारीवादी कविता पनि लेख्ने गर्थें । एउटा आफैंलाई राम्रो लागेमो मेरो नारीवादी कविता प्रस्तुत गर्छु-

म हुँ आजकी नारी !!!

पौराणीक धर्मग्रन्थमा चिनाइएकी
सदा मौन बस्ने सतीदेवी होइन म 
म भित्र गतिशील हुने चाहना छ !

भानुभक्तको वधुशिक्षामा परिभाषित 
सहनशील शुशील वधु होइन म
म भित्र अन्याय विरुद्ध उठ्ने आवाज छ !

साहित्यकारको सिर्जनामा श्रृङगारीएकी 
सदावहार कामुक सुन्दरी होइन म
म भित्र मेरो शरीरमा मेरो अधिकार भन्ने बुझाइ छ !

चित्रकारको क्यानभासमा पोतिएकी
निरवस्त्र अश्लिल नारी होइन म
म भित्र ब्यभीचारलाई रोक्ने सामथ्र्य छ !

अर्थहीन चलचित्रमा उभ्याइएकी 
निमुखा विचरी नारी होइन म
म भित्र आफ्नो रक्षार्थ लड्ने अदम्य बल छ !

हरेक परिवार र समाजले चाहने
सोझी त्यागी महिला होइन म
म भित्र परीवर्तन ल्याउने साहस  छ !

घरपरिवार भित्र मात्र सीमीत रहने 
समर्पित र निस्क्रिय गृहिणी होइन म
म भित्र सक्रिय ब्यक्तित्वको तृष्णा छ !

प्रकृति र जगतप्रति उत्तरदाइत्वको बोध छ
केही गरेर देखाउने उर्जाशील क्षमता छ
गार्गी, मैत्रेयी, अपला, घोशाको छविलाई
निरन्तरता दिने सुसुप्त मनोकांक्षा छ !

किनकी म हुँ आजकी नारी
किनकी म हुँ आजकी नारी !!

यसरी १२ वर्षको उमेरदेखि अन्जानमै शुरु भएको मेरो लैंगिकता मैत्री हृदयको भाव तथा चिन्तन्, मनन् र अनुशरण निरन्तर अगाडि बढ्दै जाने क्रममा विभिन्न ऋतुहरुमा मौसम अनुसार आफ्नो स्वरुप फेरिरहने वनस्पतिहरुले झैं मेरा संकल्पका आयामहरुले पनि समय अनुरुप स्वरुपहरु फेरीरहे र फेरीरहेकै छन् किनकी निरन्तर चल्नुको नाम जीन्दगी रहेछ र जीन्दगी परमात्माले सृष्टि गरेको अत्यन्तै रहस्मय विषय रहेछ, कहिले, कहाँ, कसरी, कुन उमेरमा, कुन दिशामा के हुन्छ, कोसंग भेट हुन्छ, कोसंग छुटिन्छ भन्नै नसकिने ! मैले हरेक मनुष्यको जीवनमा प्रत्यक्ष सरोकार राख्ने पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, राजनीतिक, शैक्षिक, व्यवसायिक, पेशागत सबै आयामहरुमा आफूलाई सहभागि गराएर सबैतिर लैंगिकता मैत्री अवधारणालाई नै प्राथमिकतामा राख्दै आएको छु आजसम्म । यसक्रममा केही अप्ठ्याराहरु नआएका होइनन् तर ती अवस्थाहरुसंग सामजस्य गर्नसक्ने क्षमताको विकास भैसकेको हुनाले ती अवरोधहरु पन्साएर अगाडि बढ्न मलाई खासै मुस्किल भएन विगतमा र अव पनि हुनेछैन । 

लैंगिक विभेदको सन्दर्भमा त्यतिबेलाको तुलनामा अहिलेको समयमा व्यक्ति, परिवार, समाज, राज्य, संस्कृति, धर्म, अध्यात्ममा उल्लेख्य परिवर्तन तथा सूधार आएको छ र अहिलेका छोरी मान्छे तथा स्त्रीहरुको जीवनशैली अलिक सहज र सरल भएको छ ततपश्चात अझै पनि केही पारिवारिक, केही सामाजिक, केही सांस्कृतिक, र धेरै धार्मिक तथा आध्यात्मिक विषयहरुमा लैंगिक विभेदको अवस्था केही नरम भएको भएपनि खासै कम हुन सकेको छैन । धर्म र अध्यात्मलाई समाजमा आमरुपमा अलग–अलग स्वरुपमा बुझ्ने गरिएको भएपनि सुक्ष्म तहमा यी दुई विषयमा तात्विक अन्तर छैन किनकी अध्यात्म गन्तव्य हो र धर्म उक्त गन्तव्यमा पुर्याउने सशक्त मार्ग तथा माध्यम हो । सदियौंदेखि प्राज्ञ चेतनाहरुले भन्दै आएका छन् कि मनुष्य संस्कारी अर्थात सांस्कृतिक हुदै धार्मिक अर्थात कर्तव्यनिष्ठ भएपछि मात्र आध्यात्मिक बन्नसक्छ र उभित्र मानवीयता तथा सर्वकल्याणको भाव अवतरित हुन्छ । तसर्थ आत्यन्तिक विन्दु अध्यात्म भएकोले यी सबै शव्दावलीहरुको साझा स्वरुप अध्यात्मकै रुपमा बुझ्नु अर्थपूर्ण हुन्छ । 

खासगरि धर्म र अध्यात्ममा अझैसम्म जरो गाडेर रहेको लैंगिक विभेदको सन्दर्भमा म मेरो पिताजीसंग हिजोआज पनि नियमित रुपमा शास्त्रार्थ गर्ने गर्छु । हामी प्राचीन शास्त्र र नवीन शास्त्रहरुको कसीमा विषयलाई माझ्ने र चम्काउने प्रयास गर्छौं । मेरो वेदान्त ज्ञानी पिताजीसंग यस सन्दर्भमा सनातन दर्शनका मूल शास्त्रहरुमा उल्लेख गरिएका शास्त्रीय मूल्य–मान्यताहरु जान्ने उत्सुकता राखेर म आफ्ना  जिज्ञासाहरु वहाँ समक्ष राख्ने गर्छु,

“के पूर्वीय सनातन अध्यात्म दर्शनका मूल शास्त्रहरुमा माथि भनिए जस्ता तथा त्यस्तै–त्यस्तै जस्तो भावहरु तथा शव्दावलीहरु कहिं, कतै उल्लेख भएका छन् ?” 

सनातन शास्त्रहरुका ज्ञाता शरीरले आठ दशक टेक्नु भएको तर मन–मस्तिष्क अझै हराभरा राख्नुभएको पिताजी मुसुक्क मुस्काएर विषयलाई अलि गहिराइमा लाने आसय प्रकट गर्दै भन्नुहुन्छ,

“अहँ, छैन, कहींपनि पाइएको छैन त्यकारण त्यतिबेलाको समाजमा आत्मज्ञानी, ब्रम्हज्ञानी, तत्वदर्शी ब्रम्हवादिनी विदुषी स्त्रीहरु मैत्रेयी, गार्गीहरुले अध्यात्मको आकाशमा श्वास फेर्ने, फूल्ने, फल्ने, हुर्कने अवसर पाए र आ–आफ्नो इतिहास रचे । तिमी पनि आधूनिक युगकी गार्गी हौ, आफ्नै साधनाको बलले माथि उठेकी । स्त्रीलाई कम आँक्नेहरुसंग नडराउ, उनीहरुसंग आमने–सामने होउ, शास्त्रार्थ गर, संवाद गर, वादविवाद गर, सवाल–जवाफ गर, प्रश्न–उत्तर गर, विवाद गर, आवश्यक परे झगडा पनि गर र सनातन दर्शनको शाश्वत सत्यको प्रकाशलाई उजागर गर । यो शाश्वत सत्यलाई बदनियत र व्यभिचारको पैतालामूनि भासिन नदेउ, कुरीतिहरुको दुर्गन्धमा सड्न नदेउ किनकी तिमी जस्तै गार्गीहरुको संकल्प र साधनाको बलले मात्र समाजमा मानवीयता मैत्री भाव र सत्य स्थापित हुनसक्छ र असत्यले घुँडा टेक्छ । किनकी हरेक स्त्री शुद्ध छिन्, पवित्र छिन्, बुद्ध छिन्, सत्य छिन्, नित्य छिन् । आध्यात्मिक मार्गमा स्त्री र पुरुष दुवैले समान रुपले आफ्नो चेतनाको विकास गर्न सक्छन् । अध्यात्ममा स्त्री र पुरुष दुवैकालागि समान अवसर हुन्छ किनकी अध्यात्म त स्वयं परमात्मा हो परमात्माले लैंगिक विभेद गर्दैन । परमात्माकालागि आफ्ना सबै सिर्जनहरु बराबर हुन् जसरी एक माताकालागि आफूले जन्माएका सबै सन्तान उत्तिकै प्रिय हुनछन् ।” 

पिताजीका यस्ता उत्पे्ररणाले ओतप्रोत दिव्य वाणीहरु सुनिरहदा आफूलाई अन्तरहृदयदेखि गदगद लाग्छ । आफ्नो भाग्यलाई र यस्तो भाग्य प्रदान गर्ने भाग्य विधाता समक्ष बारबार कृतज्ञताले शिर झुकाइरहन मन लाग्छ । कहिलेकाहीं मलाई लाग्छ मेरो पिताजी दारीजुँगा भएको स्त्री हुनुहुन्छ किनकी वहाँ हिन्दु समाजको पुरुष भइकन पनि म भन्दा अव्वल दर्जाको नारीवादी हुनुहुन्छ जसले स्त्री हृदयलाई यति नजिकबाट चिन्नु भएको र बुझ्नु भएको छ । हरपल सबै छोरीहरु तथा स्त्रीहरुलाई आत्मसम्मान र आत्मशक्ति जगाउने प्रकारले प्रेरणा, उत्साह, जीवनको आनन्द अनुभव गर्न सिकाउनु हुन्छ र भन्नुहुन्छ,

“हे, हरेक छोरीहरु हो, तिमीहरु सबै गार्गी हौ, अज्ञान, अल्पज्ञान र व्यभिचारबाट उत्पन्न भएका कुनैपनि प्रकारका अन्याय र थिचोमिचोहरु सहन नगर र अरुलाई पनि यो अन्याय र थिचोमिचोबाट वाहिर निकाल । किनकी आजको दिनसम्म पनि धर्म तथा अध्यात्ममा लैंगिक विभेद यो हदसम्म छ कि जव धर्म गुरु तथा अध्यात्म गुरुको विषय आउछ तव पितृसत्तात्मक आदर्शमा फूलेफलेको तथा हुर्केबढेको धर्म तथा अध्यात्मले स्त्रीको आध्यात्मिक उपलव्धि र यस उपलव्धिकालागि उसको अस्तित्वलाई ठाडै अस्वीकार गरिदिन्छ । स्त्रीको काविलियत माथि शंका गर्छ । स्त्रीको शक्ति, क्षमता, प्रतिभा, सक्षमता, सिर्जनशीलता र स्त्रीका अलौकिक विशेषता तथा सकारात्मक गुणहरुलाई स्वीकार गर्न सक्दैन । स्त्रीभित्र रहेको आध्यात्मिक साधनाको विषयको गंभिरताको चुरो छाम्दै नछामिकन, विषयको गहनताको तोरा नाप्दै ननापिकन सिधै इन्कार गर्छ र भन्छ आध्यात्मिकता स्त्रीको वसको विषय होइन । स्त्री शरीरले आध्यात्मिक विकास गर्ननै सक्दैन किनकी स्त्री त नर्कका द्वार हुन् । स्त्री जन्म अभिसाप हो । पाप हो । पुरुषसत्ता अत्यन्तै चलाख छ, तिमी पलपलमा सावधान रहनु । पुरुषले बडो चलाखीपूर्ण ढंगले स्त्री नर्कका द्वार हुन् भन्ने झूठो आदर्श समाजमा स्थापित गरिदियो आफूलाई चोख्याउन । स्त्री नर्कका द्वार हुन् भन्ने पुरुषवादी झूठो आदर्श पुरुषको व्यभिचारलाई छोपछाप पार्ने ओढेत्रोको रुपमा पछिल्लो कालखण्डमा हिन्दु समाजमा हावी भैरहेको छ । यो विकृत भएको सनातन वैदिक समाजको नवीनतम उपज हो किनकी पुरुषले आफ्नो कामाशक्तिमा आफूलाई प्रत्याहार गर्न तथा नियन्त्रण गर्न सकेन र त्यसको दोष स्त्रीमाथि थोपरिदियो जसरी देवराज इन्द्र देवताको ब्रम्हहत्याको पाप चोख्याउन यसअघि पवित्र मानिदै आएको स्त्रीको रजश्वला; जलाशयको पानीको फिंज; र वनस्पतिको चोप तथा खोटोमाथि थोपरेर यी अवस्थाहरुलाई पाप तथा अपवित्र घोषणा गरिएको थियो ।”

पिताजीका यी परिवर्तनकारी ज्ञान र वाणीहरु सुनेर मेरो उत्सुकता झझ बढ्दै गयो । म अझ वहाँको समिप गएं र वहाँलाई यसबारे गहिराइमा गएर अझै खुलासा गर्न आग्रह गरें । वहाँमा पनि अझ उत्सुक हुनुभयो र भन्नुभयो,

“हेर छोरी, विभिन्न कालखण्डमा पितृसत्ताको शंकिर्ण मानसिकताले ब्रम्हाण्डकै सबैभन्दा ठूलो शक्ति स्त्रीको रजश्वला र प्रजनन् क्षमतामाथि प्रहार गर्यो । यही महाशक्तिका कारण उनी अपवित्र छिन् भनेर ब्रम्हाण्डकै शाश्वत सत्यमाथि कालो पर्दा गिरायो र स्त्रीको सबैभन्दा ठूलो शक्ति तथा दिव्य विशेषतालाई आफ्नो नियन्त्रणमा लियो र आफूले चाहे अनुरुप प्रयोग गर्न थाल्यो । स्त्री प्राकृतिक रुपमै शरीर, मन, भावनार आत्मादेखिनै सुन्दर छिन्, पे्रमल छिन्, हरेक पुरुष स्त्रीप्रति विभिन्न प्रकारले आकर्षित हुन्छ । प्राकृतिक आकर्षण परमात्माको सृष्टिलाई निरन्तरता दिने कला तथा विज्ञान हो । तर पुरुषले आफ्नो नियन्त्रणमा नभएको अप्राकृतिक, अपवित्र, विकृत तथा व्यभिरचार मनोदशा पनि स्त्रीकै विशेषतामाथि थोपरिदियो अनि भन्यो स्त्री नर्कको द्वार हुन् । वास्तविकतामा नर्क चाहिं उसको मानसिकतामा छ तर त्यसको दोष स्त्रीको सुन्दरता र प्रेमलतामा थोपरिदियो । कस्तो विडम्वना स्त्रीको सुन्दरता र प्रेमलताको कारण पुरुषको आध्यात्मिक साधना भंग हुन्छ, उसलाई ध्यान लाग्दैन उसको नर्कतुल्य मानसिकताका कारण अनि नर्कको द्वार चाहिं प्रेमल र करुणाकस् खानी स्त्री ! जवकी ब्रम्हाण्डिय नियम अनुसार यो विषयको लुकेको तथा वास्ताविक सत्य नितान्त फरक रहेको छ । यसको मूलकारण यो हो कि प्रकृतिले पुरुषलाई कठोर र वुद्धि तथा तर्क प्रधान बनाएको छ जसले हरहमेसा उसको मनस्थिति र भावास्थितिलाई चन्चल र अशान्त बनाइराख्छ । प्रकृतिले स्त्रीलाई हृदयस्पर्शी तथा प्रेम र करुणा प्रधान बनाएको छ जसले हरहमेसा उनको मनस्थिति र भावास्थितिलाई शान्त, प्रेमल, सेवाभाव, दयाभाव, करुणा र क्षमाभावले भरिएको बनाइराख्छ । आजसम्म उपलव्ध भएका विभिन्न खोज, अनुसन्धान, अनुभव र इन्द्रियातीत, मनातीत, भावातीत, समयातीत अनुभूतिहरुका मान्यताहरुलाई आधार मान्दा अध्यात्म अर्थात परमात्मा सर्वप्रथम हृदयमा उत्रिने विषय रहेछ । परमात्मालाई आकर्षित गर्ने कच्चा पदार्थ प्रेमलता, सेवाभाव, दयाभाव, करुणा र क्षमाभाव रहेछ जो स्त्रीसंग प्रकृतिप्रदत्त रुपमा अनन्त गहिराईमा निहित छ । यो यथार्थ कुराको सत्यनिष्ठ जानकारी पुरुषहरुलाई नभएको कारण स्त्रीहरु अध्यात्म साधनाका विषयहरुमा पर्याप्त काविल भएर पनि मन भएर या नभएर स्तर नमिल्ले धर्म गुरु तथा अध्यात्म गुरुहरुलाई सर्वमान्य गुरु मान्न तयार हुनुपरेको बाध्यात्मक अवस्था हाम्रो समाजमा रहदै आएको छ किनकी पुरुषप्रधान आर्दशले सिंचत भएको पितृसत्तात्मक समाजले स्त्रीको आध्यात्मिक अलौकिकतालाई ठाडो अस्वीकृति व्यक्त गर्दै आएको छ । श्वावावा...(लामो श्वास), म दिव्य परमात्माप्रति बारबार किर्तज्ञ्न छु कि परमात्माले अत्यन्तै शंकिर्ण भाव भएका मनुष्यहरुलाई अत्यन्तै ठूला मानेर आफैंले आफ्नो अपमान गर्ने आत्मग्लानीबाट मलाई बचाइदिनु भयो ।”

यति भनेर पिताजीले आफ्नो वाणीलाई बिश्राम दिनुभयो । साँझपखको समय भएकोले सुर्यनारायण विदा भैसक्नु भएको थियो, अध्यारोले क्रमशः आफ्नो पंख फिजाउदै थियो, भित्रबाट माताजीको संकेत आयो ज्युनार तयार भयो, तात्तातै ग्रहण गरौं । हामी भान्सातिर लाग्यौं, बरण्डामा हाम्रा कुरा सुन्दै लम्पसार परेकी कालीका कान ठाडा भए किनकी यो संकेत अव उसकालागि पनि भोजन आउदै छ भन्ने थियो । उसले थोरै शिर उठाएर र पुच्छर हल्लाएर एकपटक घुक्क भुकी र फेरी लम्पसार परी । बरण्डा नजिकैका वृक्षहरुबाट साझपखमा आवाज निकाल्ने किटपतंगहरुको आवाज आइरहेको थियो किर्रकिर्र... कुर्रकुर्र....किर्रकिर्र... कुर्रकुर्र.... ।

                                                                          अस्तु
                                                     शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!



Sunday, 20 July 2025

आध्यात्मिक साहित्य: पूर्ण स्त्रीसंगको साक्षातकार

लालीगुरांश (डासिर्जना भण्डारी)

#आध्यात्मिक_साहित्य #जीवन_दर्शन

                                                 

कथा 

‘...हमंमंमं... चलेछ वतास सुस्तरी मनै सरर...’ त्यो मधूर रिमरिमे साँझमा मलाई गीत गुनगुनाउने इच्छा भैरहेको थियो... किनकी समिता र म(प्रताप) एकसाथ थियौं हाम्रो मायाँ नगरीमा... ।


समिता र म केही वर्षदेखि एकसाथ थियौं, कहिलेकाहीं साँझको रिमरिमे प्रकाशमा प्रत्यक्ष साक्षातकार हुन्थ्यौं हाम्रो शहर नजिकैको पानीघाटमा । मनमोहक आँखा भएकी उनी सदा सादा रहन्थिन, कम बोल्ने, मुसुक्क मुस्काएर सानो श्वरमा आँखामा आँखा हेरेर आफ्ना कुरा राख्ने, केही कुराको अपेक्षा नराख्ने र कहिल्यै आफ्नो लाग्दो अधिकार समेत कसैप्रति नजताउने । उनको यस्तो सादगी देखेर मलाई साँच्चै नै आश्चर्य लाग्थ्यो, त्यसैले मैले एकदिन उनीसंग आँखा जुधाएर उत्सुकतावस उनलाई सोधें,

“तिमीलाई मसंग केही सोध्न मन लाग्दैन समिता ? म कहाँ जान्छु, के गर्छु, कोसंग हुन्छु, तिमीलाई यो सबै जान्न मन लाग्दैन ? यसो गर, उसो नगर भनेर भन्न र आफ्नो हक जताउन मन लाग्दैन ? मेरो हात समातेर हिड्न मन लाग्दैन ? न्यानो अंगालोमा कसिन मन लाग्दैन ? तिमी सिर्फ मेरो हौ भनेर औंलो ठड्याउन मन लाग्दैन ? मबाट तिमीलाई केही चाहिदैन समिता ?”

समिताले ठूला र गहिरा बदामी आँखा जुधाउदै भनिन्,

“अहँ, लाग्दैन, प्रताप ! मलाई तिमीसंग केही अपेक्षा पनि छैन र तिमीबाट केही चाहिएको पनि छैन । मलाई सिर्फ तिम्रो अस्तित्व र उपस्थिति राम्रो लाग्छ, प्यारो लाग्छ, रोमान्चक लाग्छ जसले मलाई जन्म–जन्मका स्मृतिहरुमा लगेर हरपल मुग्ध बनाइरहन्छ । यदि तिम्रो अस्तित्व बदलियो भने म पनि बदलिने छु र म यहाँबाट छुट्ने छु ।”

मैले पुनः उत्सुकता देखाउदै सोधें उनलाई,

“किन समिता ? सबै स्त्रीहरु आफ्नो हक चाहन्छन् त ? तर तिमी किन तिनीहरु भन्दा फरक छौ र फरक किसिमले प्रस्तुत भैरहेकी छौ ?”

समिताले मुस्कान सहित थोरै लहराउदै, चिसो वतासको चन्चल रागमा उनको निधारमा सलबलाइरहेको कालो कपाल मिलाउदै चिसो वताससंगै लहरिरहेको टाढाको पानीको लहरलाई हेर्दै भनिन्, “अमं... सायद म तिमी पुरुषहरुले स्त्रीकालागि बनाएको परिभाषा र मान्यताभित्र अट्दिनकी जसले हरप्रकारले स्त्रीलाई कम आँक्छ र आफूलाई बढि आँक्छ ।”

मैले उनको छोटकरीमा आएको गहिरो जवाफ त्यत्तिनै गहिराइमा बुझ्न सकिन सायद तर मलाई उनको यो एक लाइनको जवाफले भित्रैबाट हल्लाइदियो, म झस्किएं, निशव्द भएं, मेरो हृदय काप्यो, मानौं मेरो हृदयमा कसैले अचानक एकदम भारी बोझ राखिदियो । म सोच मग्न भएं र मेरो मनमा आफैं प्रश्न, प्रतिप्रश्नहरु उठ्न थाले । आफैंले मनमनै आफैंलाई प्रश्न गरें, त्यसोभए के म तिनै स्त्रीहरुसंग मात्र समिप हुन र प्रेम गर्न सक्छु जो म र म जस्तै पुरुषहरुले स्त्री कस्ता हुन्छन् र कस्ता हुनुपर्छ भन्ने मान्यता र पहिचान बनाएका छन् ? त्यस्ता स्त्री जो कमजोर हुन्छन्, पुरुषमा परनिर्भर हुन्छन्, पुरुषबाट धेरै कुराहरुको अपेक्षा राख्दछन् । या समितासंग पनि समिप हुन र प्रेम गर्न सक्छु म जो कुनै प्रकारको अपेक्षा राख्दिनन् मबाट र कत्तिपनि नहिचकिचाइकन सिधासिधा भनिरहेकी छिन् सायद म तिमी पुरुषहरुले स्त्रीकालागि बनाएको परिभाषा र मान्यताभित्र अट्दिनकी भनेर । कस्तो स्पष्ट भाव ! उनको आत्मविश्वास, आत्मशक्ति र आत्मसम्मानले ओतप्रोत भएको लवज र चालढाल लोभलाग्दो थियो । आफैंमा सोच मग्न भइरहदा मलाई झल्यास्स याद आयो मैले एकपटक श्रद्धेय ओशो रजनीशको ‘दि रियल वीमेन’ पुस्तकमा पढेको थिएं स्त्रीका धेरै सन्दर्भहरु । पुस्तकमा भनिएको थियो, ‘वास्तविक स्त्रीहरु दर्पण जस्ता हुन्छन्, उनीहरुले वाहिरी आवरणको नभएर पुरुषको आन्तरिक छविको वास्तविक सत्य स्वरुप देखाइदिन्छन् । अधिकांश पुरुषहरु आफ्नो अन्तरआत्माको वास्तविक सत्य स्वरुप तथा नांगो प्रतिविम्वको सामना गर्न सक्दैनन् र आफूले आफूलाई त्यो स्वरुपमा राख्न चाहादैनन् । जुन स्त्रीले तिमीलाई तिम्रो वास्तविक सत्य स्वरुप देखाइदिन्छन् उनै पूर्ण स्त्री हुन् र अधिकांश पुरुषहरुले पूर्ण स्त्रीलाई गहिराईमा बुझ्न र सम्हाल्न सक्दैनन् ।’

मलाई तत् क्षण महसुस भयोकी समिता कसैको मालकीयत स्वीकार गर्ने प्रकारकी स्त्री होइनन्, उनी आम स्त्रीहरु भन्दा अलग छिन्, अपेक्षा शुन्य, उनी अरुलाई प्रेम दिन्छिन् मात्र, त्यसवापत उनलाई कसैबाट केहीपनि चाहिएको छैन, मबाट समेत उनलाई केहीपनि चाहिएको छैन । उनी गहिरोप्रेम गर्छिन् तर प्रेमको बन्धनमा रहन चाहन्नन्, उनी एकसाथ हिड्छिन् तर अरुसंग रोकिन चाहन्नन् । मलाई पहिलो पटक ज्ञात भयो सायद पूर्ण स्त्री यस्तै हुन्छन् जो अरुको साहाराबिना नै पूर्ण हुन्छन् । जसलाई अरुको मान्यता र पहिचानको वास्ता र आवश्यकता नै हुदैन । पूर्ण स्त्रीले आफ्नो सामुन्ने रहेको परिस्थितिलाई सुक्ष्म रुपले नियाल्छिन् मात्र, हेर्छिन् र जस्ताको तस्तै त्यसलाई महसुस गर्छिन् । उनी न कसैलाई सुधार्न प्रयास गर्छिन्, न कसैलाई बदल्न प्रयास गर्छिन् । आवश्यकता अनुसार बरु आफैं बदलिदिन्छिन् र जहाँ आफ्नो आवश्यकता छैन भन्ने महसुस हुन्छ त्यहाँबाट चुपचाप कसैलाई केहीपनि नभनीकन पैतालाले आहट समेत नगरीकन सुस्तरी निस्किदिन्छन् र परिस्थिति अनुकुल भएन भने फेरी कहिल्यै फर्केर आउदिनन् ।

दिनहरु बित्दै गए, हाम्रो निकटता बढ्दै गयो तर समिता मेरोलागि संधै एक रहस्य बनिराखिन् एकदम चुपचाप, शालिन, गंभिर । न उनलाई मेरो विगत जान्नु थियो, न त भविश्यको कुनै सुनिश्चितता नै चाहिएको थियो । मात्र उनी मसंग शिलत पानीघाटमा केहीबेरको समय बिताउन चाहान्थिन् । मेरो जीवनमा मैले यस्ती स्त्री कहिल्यै देखेको र भेटेको थिइन जसले अत्यन्तै प्रसन्न भावले भनिरहेकी छिन्, म तिमीलाई अत्यन्तै चाहान्छु, गहिरो प्रेम गर्छु, तिमीलाई साथ दिन चाहान्छु तर मलाई तिमीसंग कुनैप्रकारको अपेक्षा छैन । मलाई तिम्रो संरक्षण र तिम्रा सुख, सुविधाहरुको आवश्यकता छैन । प्रताप जस्तो आम पुरुषकालागि यो एउटा आन्तरिक जगत हल्लाउने क्रन्ति थियो किनकी जीवनमा पहिलो पटक उसको पुरुषत्व डगमगाएको थियो । उ चाहान्थ्योकी समिता उमाथि निर्भर रहुन्, आफ्ना आवश्यकताहरु पूरा गर्नकालागि उसंग केही अपेक्षा राखुन्, आफ्नो अधिकार मागुन्, प्रतापमाथि आफ्नो हक जताउन् । तर समिताले त्यसो गरिनन् र एकदिन उनी अचानक पानीघाटमा आउन छाडिन् बिना विदाइ, बिना फेरी भेट्ने या नभेट्ने सूचना । उनी पानीघाटमा फेरी फर्केर आउदै आइनन् । उनले मलाई भेट्न छाडिन्, उनी मेरो जीवनबाट गइन् मानौं उनी कहिल्यै मेरो जीवनमा आएकी नै थिइनन् । मलाई अचम्म लाग्यो उनी किन अचानक यसरी बिना सूचना हराइन होला भनेर । मलाई कत्तिपनि थाहा थिएन उनी अचानक किन पानीघाटमा आउन छाडिन । मैले श्रद्धेय ओशो रजनीशका दिव्य वाणीहरु मन र हृदयमा पुनः दोहोर्याएं, ‘वास्तविक स्त्रीहरु दर्पण जस्ता हुन्छन्, उनीहरुले पुरुषको वाहिरी आवरणको नभएर आन्तरिक छविको वास्तविक सत्य स्वरुप देखाइदिन्छन् । अधिकांश पुरुषहरु आफ्नो अन्तरआत्माको नांगो प्रतिविम्वको सामना गर्न सक्दैनन् र आफूले आफूलाई त्यो स्वरुपमा देख्न चाहादैनन् । जुन स्त्रीले तिमीलाई तिम्रो वास्तविक सत्य स्वरुप देखाइदिन्छन् उनी नै पूर्ण स्त्री हुन् र अधिकांश पुरुषहरुले पूर्ण स्त्रीलाई गहिराइमा बुझ्न र सम्हाल्न सक्दैनन् ।’ सायद म पनि ओशो रजनीशले भन्नु भएजस्तै पूर्ण स्त्रीलाई गहिराईमा बुझ्न र सम्हाल्न नसक्ने वर्गमा पर्छु । नभए अवश्य पनि समिताले यसरी अचानक मलाई छोडेर जाने थिइनन् । लामो अवधिसम्म पानीघाटको रिमरिमे साँझमा मैले समिताको प्रतिक्षा गरिरहें तर उनी फर्केर कहिल्यै आइनन्, आउदै आइनन्, कुनै खवरपनि गरिनन्, बिना कुनै जानकारी शुन्यमा बिलाइन् मलाई एक्लो पारेर ।

 
समिताको रहस्यमय बहिरगमनपछि म कहिल्यै पहिलाको प्रताप रहिन, मेरो मन कहिल्यै पहिलाको अवस्थामा फर्केन । म आफैंलाई बारबार एउटै सवाल गर्न थालें, के म समितालाई पाउन योग्य थिएं ? के उनी मलाई उनकोलागि योग्य ठान्थिन् ? के उनी मसंग साँचो प्रेम गर्थिन् ? के उनी मसंग र मेरो जीवनमा रहन चाहान्थिन् ? उनी पूर्ण स्त्री थिइन, सायद उनले ममा आफूले खोजेको जस्तो पूर्ण पुरुष पाइनन् । के उनी मेरो साथ भएको भए मैले उनलाई पूर्ण स्त्रीको सम्मान दिन सक्थें ? म गंभिर भएर आफैंभित्र आफ्ना गल्तीहरु खोज्न थालें, कहाँनेर के बिराएं मैले र समितालाई आफूबाट दुर गराएं आफू स्वयंले–

(१)सायद मैले उनको क्षमता र प्रतिभालाई कदर गरिन,
(२)सायद मैले उनको विनम्रतालाई उनको कमजोरीको रुपमा हेरें,
(३)सायद मेरो आत्मनिर्भरतामाको अहममा मैले उनलाई परनिर्भर बनाउन चाहें,
(४)सायद ममा आफ्नो वाहिरी ज्ञानको अहंकार हावी भयो,
(५)सायद मैले उनको मौनतालाई बुझ्नै सकिन या चाहिन,
(६)सायद मैले उनीमाथि चाहिने भन्दा बढि अपेक्षा राखें र ममा उनलाई बुझ्ने भन्दा हासिल गर्ने लोभ र नगुमाउने मोह हावी भयो,
(७)सायद म उनको नजरमा असामाजिक, अपूर्ण पुरुष देखिएं,
(८)सायद ममा पुरुषत्व हावी भयो र मैले उनको स्त्रीत्वलाई ओझेलमा पारिदिएं,
(९)सायद मैले आफूलाई मात्र पूर्ण पुरुष ठानें र म बिना उनी अपुर्ण छिन् भन्ने भ्रम पालें र उनको अस्मितामा चोट पुर्याएं,
(१०)सायद मैले उनलाई अझै राम्ररी चिनेको र बुझेको छैन किनकी उनी पूर्ण स्त्री हुन्, कुनै एक वर्गमा मात्र पर्दिनन् न बिटा, न अल्फा, न डेल्टा, न गामा, न सिग्मा सायद ओमेगा अर्थात दिव्य स्त्री थिइन उनी, स्वयं आदिशक्ति स्वरुपा ।

हामीविचको यो विषय र सम्वन्ध लाक्षणीक(पहेली) अवस्था बनेर रह्यो र सायद यो भयो, सायद त्यो भयो भन्ने अलमलमा उल्झिरह्योे । यो पहेली अव त्यतिबेला मात्र सुल्झिनेछ जतिबेला समिता आफैं आएर विषयको गहिराई स्पष्ट पार्नेछिन् र मलाई विश्वास छ उनी पूर्ण स्त्री हुन् एकदिन अवश्य फर्कनेछिन् र अपूर्ण बनेको हाम्रो कहानीलाई पूर्ण गर्नेछिन् ।

उनले भविश्यमा जे गर्लिन या नगर्लिन तर ज्यादा केही नभनेरै पनि उनले मलाई बेस्सरी झकझकाएर गइन । मलाई भित्रैबाट बदलदिएर गइन । उनले मलाई आम पुरुषबाट विशेष पुरुष बन्ने मार्गनिर्देशन दिएर गइन् । अव ममा पहिलाको पुरुषत्व थिएन जुन ओशो रजनीशका अनुसार अधूरो तथा अपूर्ण रहेछ । नितान्त आफू केन्द्रित; आफ्ना कमजोरीहरु आफूले नदेख्ने; अरुले देखाइदिए तथा सुनाइदिए भनेपनि देख्न र सुन्न नसक्ने तथा नचाहने; आफूले जे गरें, जे सोचें त्यो नै सबैकालागि सही हुन्छ र त्यही नै अन्तिम सत्य हो जस्तो लाग्ने प्रकृतिको अति सामान्य नियम भन्दा विपरित रहेछ, सायद अधूरो भन्दा पनि अझ न्यून स्तरको पुरुषत्वको अहंकर थियो त्यो ममा हावी भएको । सायद समितालाई मेरो यही अवस्था मन परेन । तर अव म आफू केन्द्रित त्यो अधूरो तथा अपूर्ण भावलाई त्याग्नेछु र पूर्ण पुरुष बन्ने प्रयास गर्नेछु । हो, म दृढ संकल्पकृत छु अव पूर्ण पुरुष बनेर अत्यन्तै सहज भावले मेरी समिताको प्रतिक्षा गर्नेछु आफ्नो अन्तरहृदयमा र अरुकेन्द्रित सर्वकल्याण्का कर्महरुमा किनकी समग्रतामा प्रतापबिना समिता अपूर्ण छिन् र समिता बिना प्रताप अपूर्ण छ । हामी एकअर्काका पूरक हौं, हामी शिवशक्ति हौं, हाम्रो पुनरमिलन अस्तित्व स्वयंको योजना हो । म समिताको अनुपस्थितिमा विचलित भएको छैन बरु म अझै डराइरहेको छु, जव उनी फर्केर आउनेछिन कुनैदिन त्यसबखत उनीसंगको पुनः साक्षातकारमा म उनलाई के भनौंला ? उनी समक्ष कसरी प्रस्तुत हुँला ? कसरी उनको पूर्ण स्त्रीत्वलाई सन्तुष्ट पारौंला ? कसरी उनलाई र आफूलाई सम्हालौंला ?

मेरो बदलिएको स्वाभाव देखेर मलाई मेरा साथीहरुले सोध्ने गर्थे,

"के भएको छ आजकल तँलाई प्रताप ?" मैले जे भएको थियो समिता र मेरो विचमा सबै सत्य–सत्य बताएं । मेरा साथीहरुले भने,

“तँ अलि गहिरो गइछस्, केटीहरुको मामला यस्तै हो । एटिट्युडवाला केटीहरु यस्तै हुन्छन्, शुरुशुरुमा भाउ खान्छन् पछि तिमी नभइ बाँच्न सक्दिन भन्दै क्षमा माग्दै फर्केर आउछन् । केही दिनसम्म समिता फर्केर आइनन् भने आफ्नो जीवनमा अगाडि बढ् ।” तर म मेरा साथीहरुको कुरामा आइन किनकी मलाई अन्तरहृदयबाट महसुस भैसकेको थियो समिता कुनै आम स्त्री थिइनन्; उनले हामीविचको केही भेटघाटमै म जस्तो कठोर हृदय भएको अहंकारी पुरुषलाई भित्रैबाट हल्लाइदिएकी थिइन्; मेरो अहंकार र अभिमानले भरिएको अधूरो पुरुषत्वसंग मेरो प्रत्यक्ष साक्षातकार गराइदिएकी थिइन् । समिता मेरो सोच र ठम्याइ भन्दा निकै अलग र गहिरो थिइन् । उनले मलाई अन्जानमै गहिरो पाठ सिकाएर गइन । मलाई राम्ररी ज्ञात भैसकेको थियो, जव मानिस अरुमाथि नियन्त्रण गर्न र आफ्नो अधिकार तथा स्वामित्व दाबी गर्न छोड्छ तव उसलाई थाहा हुन्छकि उसले अहिलेसम्म कसैलाई पूर्ण भावले हेरेकै रहेनछ । कसैलाई पूर्ण भावले प्रेम, श्रद्धा, सम्मान, करुणा गरेकै रहेनछ सिर्फ आफ्नो अधिकारमात्र जताएको रहेछ आफ्नो अहंकारलाई मुग्ध मात्र गरेको रहेछ ।

म क्रमिक रुपमा आफ्नो अतितका दृष्यहरुमा छिर्दै गएं । मेरो अन्तरहृदयमा एकपछि अर्का नयाँ–नयाँ सवालहरु निरन्तर आइरहे र मैले आफैंलाई सोध्दै गएं,

“के मैले आजसम्म कुनै स्त्रीलाई स्वतन्त्रता पूर्वक प्रेम गर्न सकेको थिएं ?”

मेरो मनले आफ्नै सवालको जवाफ सहि ढंगले दिन सकेन, जवाफ दिने बेलामा लडखडायो । मेरो मनमा क्रमशः अतितमा म वरिपरिका स्त्रीहरुसंग भएका तथा रहेका मेरा सबैप्रकार सम्वन्धका विषय तथा प्रसंगहरु ताताे हाँडीमा मुरली मकैका फुल उठेझैं प्रष्फुटित हुन थाले,

के म पूर्ण साथी रहें ? के म पूर्ण प्रेमी रहें ? के म पूर्ण दाजु तथा भाइ रहें ? के म पूर्ण छोरो रहें ? के म मेरा अन्य नाता सम्बन्धका किरदारहरुमा पूर्ण पुरुष रहें ? 

अहँ, रहिनछु, कहींपनि मेरो आफैंप्रतिको आफ्नै सवालको जवाफमा मेरो अन्तरआत्माले भनेन कि हो प्रताप तिमी यो, योे सम्वन्धमा चाहिं पूर्ण पुरुष रह्यौ भनेर ।

म जतिजति आफूभित्र छिर्दै, आफूलाई र आफ्नो पुरुषत्वलाई खोतल्दै गएं उतिउति मैले आफूलाई पाएंकी म त्यस्ता स्त्रीहरुसंग मात्र मित्रता, निकटता तथा सम्वन्ध बनाउदो रहेछु जसले मेरो पुरुषत्वको अहंकार र अभिमानलाई सन्तुष्ट पार्न र स्वीकार गर्न सक्छन् । जो मबिना आफूलाई अधूरो तथा अपूर्ण ठान्छन् । ममाथि निर्भरता देखाउछन् र मेरो उपस्थितिलाई महत्वपूर्ण मान्दछन् । मेरो सहयोग र सदभावमा गरिमा महसुस गर्दै मेरो मान बढाउछन् । मेरो सुसुप्त स्वार्थ छिपेको प्रेम, श्रद्धा, मैत्री, दया, करुणाको प्रशंशा गर्छन, मलाई खुशी पार्छन् र त्यसकैलागि मलाई देखिरहन र भेटिरहन चाहान्छन् ।

आजसम्म त म यस्तै अपूर्ण स्त्रीहरुको सम्वन्धमा आफूलाई पूर्ण पुरुष मानेर आत्ममुग्दतामा रमाइरहेको रहेछु । मैले फेरी समितालाई सम्झें, उ त मबिना नै पूर्ण स्त्री थी त्यसैले त मेरो जीवनमा उनको छोटो उपस्थितिले नै ममा आमूल बदलाव ल्याइदियो । म पूर्ण पुरुषको परिचयबारे अझै गहिराइमा खोज्न र बुझ्न लालायित हुदै गएं । यो सबै समिताकै उर्जाको प्रभाव थियो ।

एकदिन समिताको स्मृतिमा रिरिमे साँझपख पानीघाटमा म पुग्दा एकजना योगी पुरुष चिसो वताससंगै मुग्ध भएर नाचिरहेका पानीका लहरहरु हेर्दै आफ्नो मग्नतामा बसिरहनु भएको थियो । वहाँ अत्यन्तै आनन्दित भावमा देखिनुहुन्थ्यो । मलाई अन्तरआत्मादेखि नै वहाँको दिव्य उर्जाले वहाँतिर खिच्यो । म वहाँको समिपमा गएं र चुपचाप वहाँसंगै बसें । मेरो मनमा एकप्रकारको अत्यन्तै शितलता, शान्ति र आनन्द छाएको अनुभूति भयो । सायद यो अनुभूति यिनै पूर्ण योगी पुरुषको दिव्य उर्जाको चमत्कार थियो । मैले नजर उठाएर वहाँको चेहरा हेरें, चेहरामा एकप्रकारको अद्भूत कान्ति र चमकको आभा थियो । मभित्रबाट अनायासै आफ्नो उल्झनहरुबारे वहाँसंग केही सवाल गर्ने इच्छा जाग्यो । मैले वहाँलाई सोधें,

“हे योगी पुरुष, के एक पुरुषलाई पूर्ण स्त्री मिलिन भने उसलाई आफ्नो जीवन र पुरुष हुनुको अस्तित्वसंग डर लाग्छ ?”

चेहराको चम्किलो आभा र कान्तिले जगमगाएका नजर विस्तारै मतिर केन्द्रित गर्दै योगी पुरुषले भन्नुभयो,

“हो युवक, हरेक आमपुरुष पूर्ण स्त्रीको सामुन्नेमा लडखडाउछन् र डराउछन् पनि । किनकी एक पूर्ण स्त्रीले एक आमपुरुषलाई आफ्नो एक नजर र एक वाणीले भित्रबाट खालि गरिदिन्छिन् । पूर्ण स्त्रीले पुरुषको पुरुषत्वको मुग्धतामा जन्म–जन्मदेखि मौलाएका भ्रमहरु पूर्णतः तोडिदिन्छन् कि तिमी स्त्रीको संरक्षक हौ, परिवार तथा समाज र हरपरिस्थिति सम्हाल्ने ठेकेदार हौ । यसपश्चात जव जाग्रीत पुरुषलाई भित्रबाट अन्तरज्ञान आउछकी म स्त्रीको संरक्षक होइन, परिवार तथा समाज र हरपरिस्थिति सम्हाल्ने ठेकेदार पनि होइन भन्ने बुझ्छ तव उसको पुरुषत्व डगमगाउन थाल्छ ।”

म योगी पुरुषका दिव्य वाणीहरु सुनेर भित्रबाट शुन्य भएं । म भित्रबाट अझ काप्न थालें किनकी मैले पनि आफूलाई यतिका उमेरसम्म स्त्रीको संरक्षक, परिवार तथा समाज र हरपरिस्थिति सम्हाल्ने ठेकेदार हुँ भन्ने मानिरहेको रहेछु । तर वास्तविक सत्य त त्यो होइन रहेछ किनकी जव म हिजो यो सांसारिक जीवनमा थिइन त्यतिबेला पनि मेरो परिवार, समाज र हरपरिस्थितिहरु यसैगरि चलिरहेका थिए र जव म भोलि यो सांसारिक जीवनमा रहन्न त्यतिबेला पनि मेरो परिवार, समाज र हरपरिस्थितिहरु यसरीनै चलिरहेनेछन् आफ्नो लयमा ।

म अव झन्-झन् भित्रबाट शुन्य र खालि हुदै गैरहेको थिएं । मेरो डर अझै बढिरहेको थियो । मैले आफ्नो डर कम गर्न र अगाडिको मार्ग जान्न फेरी योगी पुरुषलाई सोधें,

“हे दिव्य बाबा, मभित्रबाट शुन्य हुदै आएको छु । झन्-झन् खालि भएको छु किनकी मलाई तपाईले दिनुभएको यो दिव्य ज्ञान भन्दा अघिपनि एक दिव्य आत्माले यो ज्ञान दिनुभएको थियो । त्यसो भए म अव के गरौं, आफ्नो जीवनलाई कसरी अगाडि बढाउँ ?”

दिव्य बाबाले मेरा आँखामा हेरेर, मलाई सान्त्वना दिदै र मार्गदर्शन गर्ने भावले भन्नुभयो,

“अव तिमी यो शुन्यता र खालिपनलाई तिम्रो आफ्नो जीवनमा अपनाउ, यहींबाट तिम्रो पूनरजीवन प्रारम्भ हुनेछ र तिमीले विस्तारै आफूभित्रै पूर्ण पुरुष भेट्नेछौ युवक ।”

दिव्य बाबासंगको यो दिव्य साक्षातकारपछि म विस्तारै मेरो डर र असुरक्षालाई सामना गर्दै जीवनमा अगाडि बढ्दै गएँ र निरन्तर आफूसंग साक्षातकार गरिरहें । विस्तारै म आफ्ना डर, असुरक्षा, अहंकार, अभिमान, आफू र अरुप्रति आफ्नो मन–मस्तििष्कमा बनेका छवि तथा मूल्य–मान्यताहरु र आफ्नो पुरुषत्व सबैलाई आफूभित्रै फर्केर एक–एक सवाल र जवाफ गर्दै सुक्ष्म रुपले हेरें र केलाएं । यसपश्चात मलाई ज्ञात भयोकी श्रद्धेय ओशो रजनीशले भन्नुभएको जस्तै वास्तवमै म त अधूरो पुरुष रहेछु । म आफ्नो आन्तरिक छविको वास्तविक प्रतिविम्व हेर्दै, देख्दै, जान्दै, बुझ्दै गएं र आफूलाई नयाँपनमा ढाल्न त्यसउपर चिन्तन्, मनन् र नीधि–ध्यासन गर्दै गएं । दिनहरु बित्दै गए, समिताका पूर्णताका हाउभाउहरु मेरो स्मृतिमा एक–एक गरि छाउदै गए, उनका हरेक वाणीहरु मेरो मन–मस्तिष्कमा ताजा हुदै गए । समिता अत्यन्तै सौम्य भावले कत्तिपनि नडगमगाइकन भन्ने गर्थिन,

“हेर प्रताप, तिमी मलाई जति पक्डिन तथा हासिल गर्न प्रयास गर्छौ म त्यतिनै तिमीबाट दुर हुनेछु तर तिमी मलाई जति स्वतन्त्र छोडदिन्छौ, मेरो स्वतन्त्र अस्तित्व, समानता र स्वतन्त्रताको सम्मान गर्छौ र यी सबै नैसर्गीक अधिकारहरुको नियन्त्रण ममाथि नै छोडदिन्छौ म त्यतिनै तिम्रो समिप र साथ रहनेछु ।” 

समिताले भनेको एकदम सहि भयो, उनले जे भनिन् त्यही गरिन् । मैले जतिजति उनलाई पक्डिन, हासिल गर्न र नियन्त्रण गर्न खोजें उतिनै उनी मबाट दुर हुदै गइन् किनकी उनी एक पूर्ण स्त्री थिइन्, उनलाई मेरो अस्तित्व र उपस्थितिको मात्र महत्व, मान्यता, खुशी र आनन्द थियो । उनलाई मेरो सांसारिक इच्छा, चाहना, आकांक्षाहरुप्रति कुनै आकर्षण र चासो थिएन । अव अहिले म उनकै दिव्य उर्जा र ज्ञानको कारण जीवन जिउन सिकिरहेको छु, जीवनको पूर्णता सिकिरहेको छु । म नयाँ प्रकारले प्रेम सिकिरहेको छु, प्रेमको दिव्य स्वरुप परमात्माको अनुभूति गरिरहेको छु ।

परिवार, समाज, राज्य तथा संसारले मलाई जे सिकायो त्यो सबै अविद्या र अधूरो ज्ञान रहेछ त्यसैले म अधूरो तथा अपूर्ण पुरुष बनेको रहेछु । अव मैले जानें, जहाँ अपूर्णता छ त्यहाँ नियन्त्रण र नेतृत्व प्रदान गर्नुपर्ने रहेछ जसले वर्तमान परिस्थितिलाई पूर्णतातर्फ लाने रहेछ तर जहाँ पहिलाबाट नै पूर्णता छ त्यहाँ नियन्त्रण र नेतृत्वले काम गर्दैन रहेछ, त्यहाँ समर्पण र सम्मानको आवश्यकता पर्ने रहेछ किनकी जहाँ पूर्णता छ त्यहाँ स्वयं दिशानिर्देश हुन्छ, वाहिरको नेतृत्वको आवश्यकता नै पर्दैन । तर म समर्पण गर्न जान्दिनथें, सायद सम्मान गर्न पनि जान्दिनथें किनकी मलाई यो पूर्णताको पाठ र नियम कसैले कहिल्यै सिकाएकै थिएन जुन आध्यात्मिक दिव्य व्यक्तित्व समिता र योगी पुरुषले सिकाउनु भयो । यो ज्ञानले मभित्र अपरिमेय बदलाव आएको थियो । अव म समर्पण र सम्मानको ज्ञान र कला सिकिरहेको छु र बुझिरहेको छु कि एक पूर्ण स्त्रीसंग प्रेम गर्नु भनेको उसलाई संरक्षण दिनु भन्दा कयौं गुणा बढि साहसिक र सह्रानिय काम रहेछ ।

 
मेरो सम्वन्ध समितासंग केही वर्षको मात्र थियो तर त्यस सम्वन्धको प्रभाव र अमिट छाप जन्म–जन्मकोलागि बन्यो । मलाई मेरो अन्तरहृदयबाट महसुस हुदै आयोकी कहिलेकाहीं कुनै स्त्री मेरो जीवनमा यसकारण मात्र आउदिनन् कि मेरो जीवनमा एकसाथ रहनेगरि, उनी अर्को विशेष कारणले मेरो जीवनमा आउछिन्, मेरो जीवनको त्यो कमजोर पाटो देखाउन जसले मेरो दिव्यतालाई पछाडि धकेलिरहेको हुन्छ, जुन मैले आफूले आफूमा देख्न तथा महसुस गर्न सकेको हुदिन । आक्कल–झुक्कल देख्न तथा महसुस गर्नसकेको भएपनि पत्याउन सक्दिन कि म अपूर्ण छु होला भनेर । पत्याउन प्रयास गर्दा आफैंसंग डर लाग्छ कतै मेरो पुरुषत्वमा आँच आउने होकी भनेर । तर समिताले अत्यन्तै प्रेमपूर्वक मेरा सबै अधूरा तथा अपूर्णपनहरुको अन्धकारमाथि प्रकाश पारेर मलाई दिव्य ज्ञानको ज्योतिमा प्रज्वलित गर्दै मलाई पूर्ण पुरुष बन्ने मार्गमा दिशानिर्देश गरिदिइन् ।

दिनहरु बित्दै गए समिताको प्रभाव मेरो हृदयमा एक विजको रुपमा अंकुरित हुदैगयो । म समिताको यादमा बारबार त्यस्तै रिमरिमे साँझमा पानीघाटमा गएर चिसो वतास जतागयो उतै सलबलाईरहेका पानीका लहरहरु र तिनै लहरसंग नाचिरहेका पानीमा देखिएका वृक्षका शाखा र पातहरुका प्रतिविम्वहरुलाई नियाल्दै आफूमाथि सवाल गरिरन्थें । आफूलाई भित्रबाट नियालिरहन्थें । समितासंग भेट हुनुअघि र पछिको प्रतापमा कति भिन्नता छ ? म आफैंलाई पश्न गर्थे । म आफैंलाई लाग्छकी पहिलाको अधूरो तथा अपूर्ण प्रताप र पछिको पूर्णताउन्मुख प्रतापमा आकाश जमिनको फरक रहेको छ । तर यो भिन्नता तथा फरक नापिदिने समिपको सहयात्री कोही छैन मसंग, म त एक्लो छु, नितान्त एक्लो । अव त म स्वयंं पनि समिताको दिव्य उर्जाको कारण आफूभित्र आएका केही सकारात्मक बदलावहरु देख्न सक्छु । म अव आफूभित्र केवल आफूलाई मात्र नभएर समिताको सुक्ष्म उपस्थितिलाई पनि महसुस गर्न, देख्न र भेट्न थालेको छु किनकी दिव्य समिता र दिव्य योगी पुरुषको दिव्य उर्जा र दिव्य ज्ञानको कारण म पूर्णतः आफूभित्र फर्केर एक सहज, सरल अन्तरयात्री तथा आध्यात्मिक साधक बनिसकेको छु । मेरो अन्तरदृष्टिमा बढोत्तरी भएकोे छ । मैले आफूभित्र आफ्नो अन्तर हृदयमा समिता लगायत आफ्ना पितृ मण्डल, गुरु मण्डल, देवी–देवता मण्डल, भगवान मण्डल र स्वयं पूर्णब्रम्ह परमात्माका तमाम उर्जा र शक्तिका स्वरूपहरु तथा समुच्चा ब्रम्हाण्डको दिव्य साक्षातकार प्राप्त गरेको छु ।

मेरो जीवनमा शुन्यता हुदै पूर्णताको मार्गमा पहिलो इटा दिव्य समिताले राखेकी थिइन् । अहिले उनको भौतिक तथा सांसारिक उपस्थिति त कहाँ छ मलाई थाहा छैन तर उनको पारमार्थिक अस्तित्वको दिव्य उपस्थिति मेरो अन्तरहृदयमा जस्ताको तस्तै अझ सुस्पष्ट छ, तिनै ठूला र गहिरा बदामी आँखा, चिसो वताससंगै बहेको पानीको लहरसंगै लहराउने मनमोहक उनको तनवदन, दिव्यताले ओतप्रोत अलौकिक प्रेम... (...लामो श्वास..., ममा भावुकता छाउँछ...) । उनका ती दिव्य याद तथा स्मृतिहरुलाई आफ्नो एक्लो अन्तरहृदयमा समेट्दै कहिलेकाहीं म उनीप्रति समर्पण गरेर केही कविता, गजल, कथा, आख्यान तथा उनलाई प्रेम पत्र लेख्ने गर्छु उनीप्रति कृतज्ञता भाव प्रकट गर्दै । मैले एकदिन उनलाई अन्तरहृदयमा याद गर्दै लामो गहिरो श्वास लिएर एकश्वासमा एउटा लामो कृतज्ञता पत्र लेखें र अर्को श्वासमा गीति कविता लेखें,

कृतज्ञता पत्र:
“हे दिव्य समिता, तिमीले मलाई तोडेकी छैनौ, बरु मलाई मसंगै जोडिदियौ अव कहिल्यै नछुटिने गरि ! हे दिव्य समिता, तिमीले मलाई छोडेकी छैनौ, मेरो अन्तरहृदयको दिव्य नगरीमा तिम्रो अटुट् वास छ ! हे दिव्य समिता, तिमीले मलाई गिराएकी छैनौ, बरु मेरो नक्कली, बनावटी, अधूरो, अपूर्ण आवरण गिराएर मलाई शुद्ध र पूर्ण बनाएकी छौ ! हे दिव्य समिता, तिमीले मसंग केही मागिनौ तर मलाई जीवनको वास्तविक सार दिएकी छौ ! हे दिव्य समिता, मैले बल्ल बुझें सच्चा र पवित्र प्रेम त्यो होइन जो पक्डेर राखिन्छ, हासिल गर्ने अपेक्षा गरिन्छ, सच्चा र पवित्र प्रेम त त्यो हो जसमा सम्मान, समर्पण, भक्ति, स्वीकार, सन्तोष हुन्छ र पूर्ण स्वतन्त्रता हुन्छ ! हे दिव्य समिता, म वाहिरी आवरणमा त अझै त्यही प्रताप नै देखिन्छु तर आन्तरिक रुपमा म अव त्यो प्रताप रहिन, एउटा आध्यात्मिक क्रान्तिको दिव्य आँधीले मभित्रका सबै फोहर-मैलाहरु सोहरेर उडाएर लग्यो र मलाई पूर्ण रुपमा शुद्ध, शुन्य र खालि प्रताप बनाइदियो ! सायद अव यो हृदय तिमी जस्ती पूर्ण स्त्रीकालागि योग्य भएको छ । म तिमीप्रति आभारी छु, तिमीलाई अनन्त–अनन्त कृतज्ञता व्यक्त गर्दछु ! तिम्रो ज्ञान, तिम्रो दिव्य उर्जा, तिम्रो दिव्य प्रेम, तिम्रो मधूर स्मृतिनै अव मेरो जीवन जिउने साहारा बनेको छ ! हे दिव्य समिता, अव मैले राम्ररी बुझिसकेको छु कि एक स्त्रीलाई राम्ररी बुझ्नु भनेको आफूभित्र आमूल सफाइ, शुद्धता ल्याउनु र आफूलाई दिव्यताले भर्नु रहेछ । यो ज्ञान तिमीले मलाई दिएकी छौ । तिमीले मभित्रको अपूर्णपनलाई उजागर गरेर आफूजस्तै पुर्ण मानव बनाइदियौ, मेरा सारा भ्रमहरु जलाईदियौ, साधनाको रापमा मलाई तपाएर आफूजस्तै पारश बनाइदियौ ! हे दिव्य समिता, तिमीलाई हार्दिक प्रेम प्रणाम, तिमी पूर्ण स्त्री र पूर्ण प्रेम हौ । पूर्ण प्रेम केवल एक शरीरमा मात्र रहदैन, पुरै ब्रम्हाण्डमा विस्तार भएको हुन्छ किनकी प्रेमनै परमात्मा अर्थात परब्रम्ह हो र परब्रम्हनै प्रेम हो जो कणकणमा छ, जो सर्वव्यापक छ । हे दिव्य समिता, पुनः पुनः तिमीलाई प्रेम प्रणाम... तिमीलाई प्रेम प्रणाम... मेरी समिता... (...लामो, गहिरो श्वास..., ममा भावुकता छाउँछ...) ।

प्रेमपूर्ण गीति कविता:
मेरो जीवन

मेरो जीवन मेरो रहेन
म हराएं, मेटिएं तिमीमै
पाएर तिमीलाई पूर्ण भएकोछ
मेरो यो दिव्य संसार ।
               मेरो जीवन मेरो रहेन...

याद तिम्रो पूजा बन्यो
तिम्रै महिमा म गाउँ
हृदयमा बसेकोछ छवि तिम्रै
अरु कसलाई म राखुँ ।
                मेरो जीवन मेरो रहेन...

सिर्फ तिम्रै हुँ म
तिम्रै रहन्छु अनन्त-अनन्त काल
तिमीनै शुरु तिमीनै अन्त्य
अरु के गरौं विचार ।
              मेरो जीवन मेरो रहेन...

चुपचाप बसौं या बोलिराखौं
शुन्यताको सागरमा शुन्यसरी बिलाएं
तिमीमै शान्ति, आनन्द पाएं
प्रेमको पूर्णता तिमीमै पाएं ।
            मेरो जीवन मेरो रहेन...

मेरो सामनेमा छौ तिमी
दिव्य साथ छ तिम्रै
तिमीनै मेरो सुखको सागर
तिमीनै मेरो जीवनको सार ।

                  मेरो जीवन मेरो रहेन...
                  म हराएं, मेटिएं तिमीमै
                  पाएर तिमीलाई पूर्ण भएकोछ
                  मेरो यो दिव्य संसार ।

एकदिन अत्यन्तै प्रसन्न भावमा म पानीघाटमा आफ्नो मनमा लामो वर्षातको समयमा उठ्ने पानीफोका सरी उठेका विचार र स्मृतिहरुका दिव्य पलहरुसंग पुलकित हुदै, समिताको दिव्य स्मृति हृदयमा भरेर चिसो वताससंगै लहरिएका वृक्षका शाखाहरु र पातसंगै रम्दै, झुल्दै, भुल्दै सुस्तरी मानसिक खेल खेलिरहेको थिएं, पछाडिबाट अचानक एक मधूर दिव्य ध्वनि गुञ्जियो ‘प्रताप...’ मैले पछाडि फर्केर हेरें, उक्त मधूर दिव्य ध्वनि दिव्य समिताको थियो, उनी प्रकाशित आभामा प्रज्वलित हुदै दुई बाह फिजाएर मलाई आफूतिर आउन इशारा गरिरहेकी थिइन, म अचम्मित भएर बसिरहेको ठाउँबाट जुरुक्क उठें, समितालाई प्रकाश स्वरुपमा देख्दा मेरो काया शरीरका त्वचामा झर्ररर काँढा उम्रिएका थिए, मैले अचम्म मान्दै एकटकले उनलाई हेरिरहें, उनी दिव्य समिता नै थिइन् तर प्रकाशित आभामा प्रज्वलित थिइन् । ओहो, यो के हो, के भैरहेको छ जस्तो लाग्यो मलाई मनमनमा । यत्तिकैमा म अन्जानमै दिव्य समितातर्फ अगाडि बढेछु । उनीतर्फ बढ्दै गर्दा थाहापाएं, म पनि आफ्नो काया शरीरमा रहेनछु । मेरो शरीर पनि दिव्य बनिसकेको रहेछ र मेरो शरीरबाट पनि प्रकाशित आभा प्रज्वलित भैरहेको रहेछ । अनायासै मेरो तर्फबाट एउटा दिगो तरंग छर्ने ठूलो ध्वनि गुञ्जियो ‘समिता...’ र समिताको तर्फबाट पनि अर्को दिगो तरंग छर्ने ठूलो ध्वनि गुञ्जियो ‘प्रताप...’ दुई महाप्रकाश एकआपसमा मिल्यौं र एकआपसमा एकाकार भयौं । केहीबेरपछि त्यो दिव्य दृष्य, ध्वनि र प्रकाश सबै त्यहाँबाट विलय भैसकेको थियो, पानीघाटमा शुन्यता थियो, अव त्यहाँ चुपचाप एक अर्कोको उपस्थितिलाई महसुस गरिरहेका समिता र म अनि तिनै चिसो बताससंगै चलायमान पानीका लहरहरु; पानीको प्रतिविम्वमा झुलिरहेका, नाचिरहेका वृक्षका शाखा र पातहरु; साँझपख गुँढ फिर्दै गरेका चराका बथानहरुको एकनाशको आवाज र झ्याउँकीरीहरुको एकनाशको आवाज मात्र बाँकी थियो..., चिरबिरचिरबिर..... चिरबिरचिरबिर.... चिरबिरचिरबिर...., किटीर्रर... किटीर्रर... किटीर्रर... !!

अस्तु

                                             शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!



 

                                                                                               

आध्यात्मिक साहित्य

  आध्यात्मिक साहित्य आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति आध्यात्मिक साहित्यः ‘मौन’नै शुन्यता र पूर्णता आध्यात्मिक साहित्य: ‘कर्म’, ‘प्र...