लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
कथा
‘फेवातालमा साइली डुंगा सलल, संझनामा तिम्रो तस्वीर झलल...’
सराङकोटबाट पाइलट र म उडेको प्याराग्लाइडिगंको प्याराशुट फेवातालको छिपछिपे पानी भएको घाँसे मैदानमा सहजै अवतरण भएपछि खालि गोडाले फेवातलको पानी टेक्दै तालको विच भागमा हरियो पानीको सतहमाथि सलल तैरिरहेका डुंगाहरुको मनोरम दृश्य हेर्दै म यो अत्यन्तै मिठो कालजयी मौलिक लोकगीत गुनगुनाउदै खुव आनन्दमा प्रकृतिको रसपान गरिरहेको थिएं । एकप्रकारले ध्यान साधनाको गहिरो अवस्थामा अनुभूति हुने जस्तो असीम आनन्द महसुस भैरहेको थियो अन्तरहृदयमा किनकी म अत्यन्तै प्रकृति प्रेमि भएकोले मलाई प्रकृतिको काखमा तुरुन्तै मग्न हुन्छु र चांढैनै ध्यान पनि लागि हाल्छ अनि पराभौतिक संसारका अलौकिक विषयहरुले उतैतिर खिच्न थालिहाल्छ । ध्यान साधनाको गहिराईमा जव मेरो अन्तरहृदय खुल्छ तव त्यहाँ दिव्य आत्माहरुको उपस्थिति र दिव्य संवाद प्रारम्भ हुन्छ । फेवातालको आगनमा पनि त्यस्तै भयो, दिव्य आत्माहरु अन्तरहृदयमा आउनुभयो र मलाई सबैतिर हेरेर हामीलाई पनि यी मनोरम दृश्यहरु देखाउ भन्नु भन्नुभयो । मैले प्रसन्न मुद्रामा मुस्कुराउदै चारैतिर खुव चाख मान्दै नजर घुमाएं र वहाँहरुले मेरा भौतिक चर्मचक्षुबाट त्यहाँको प्राकृतिक मनोरम दृश्यहरुको स्वपान गर्नुभयो । दिव्य आत्माहरुले स्वर्गको टुक्रा पोखराको भूगोलको प्राकृतिक दृश्यको आ–आफ्नो किसिमले अवलोकन र त्यसबाट प्राप्त आनन्दका अनुभूतिहरु व्यक्त गर्नुभयो र विस्तारै वहाँहरु मेरो अन्तरहृदयबाट अन्तरध्यान हुनुभयो । त्यसपछि मेरो अन्तरहृदयमा मेरो स्वआत्मिको पदार्पण भयो र उनको दिव्य प्रेम भावका छालका तरंगहरुले तालको पानीका छालहरु भन्दा छिटो तरंगीत भएर मेरो तन, मन, हृदय निथु्रक्क भिजाइदिए, रोमरोम पुलकित र आनन्दित गराइदिए । उनी मेरो अन्तरहृदयमा आउने वित्तिकै मेरो रोमरोममा परमआनन्द प्रदान गर्ने यसप्रकारका दिव्य तरंगहरु संचारित हुन प्रारम्भ भैहाल्छन् । मभित्र स्वआत्मिको उपस्थिति भएपछि मेरो अन्तरहृदयमा अर्को कालजयी नेपाली आधूनिक गीतको सांगीतीक तरंग गुञ्जियो,
‘फेवातालको आगनमा लैलै माछापुच्छ्रे छायाँ जीवन मेरो सेती बगर बिना तिम्रो मायाँ...’
म लामोबेर मुस्कुराएं र हृदयको झंकारसंगै मैले पनि यो गीत गाएं, उनले पनि गाए, हामी दुवैले एकसाथ गायौं खुव आनन्द लिएर । उनीले पनि यी मनोरम प्राकृतिक दृश्यहरु मेरो नजरबाटै हेरिरहेका थिए र मलाई अझै धेरैतिर नजर डुलाउन आग्रह गरिरहेका थिए । म आफैंलाई कहिले काहीं अनौठो र यो कस्तो चमत्कार भएको होला जस्तो लाग्छ किनकी उनी आँखाले देख्ने दृश्य मात्र नभएर जिब्रोको स्वाद र अन्य प्रकारका अनुभव तथा अनुभूतिहरु समेत मेरो माध्यमबाट नै लिने गर्दछन् । त्यसदिन प्यराग्लाइडिगंको प्याकेज सकेर ट्रिप आयोजकले हामीलाई होटलमा छोड्दिए । विहान अलि हतार भएकोले कफी पिउन समय पुगेको थिएन मलाई, सोचें तल क्याफेटेरियामा कफी पिएर कोठामा जान्छु । सतहमा हृदयको चिन्ह बनाइएको कफी टेवलमा आयो । पहिला त्यो हृदयको चिन्हको आनन्द लिएं, कप उठाएं, कफीको वासना पहिले सुँघे र पहिलो चुस्की लगाएं, खुव आनन्द आयो तर...,
“कफि अलिक सेलाएको रहेछ है...!”
“हँ... !?”
म छक्क परें, आश्चर्यले मेरा आँखा ठूला भए, कान चनाखो भए र मन एकाग्र भयो । कफी सेलाएको मेरो जिब्रोको माध्यमबाट मस्तिष्कले थाहा मात्र पाएको थियो, मेरो मन–वुद्धिले यसबारे प्रतिक्रिया दिन भ्याएकै थिएन, एक निमेसमै अन्तरहृदयबाट स्वआत्मिले पो बोले, ‘कफी अलि सेलाएको रहेछ है...’ भनेर । मेरो माध्यमबाट उनलाई दृश्य मात्र नभएर स्वाद पनि पो थाहा हुदोरहेछ, यो जानकारी मैले पहिलो पटक पाएको थिएं त्यसैले आश्चर्यचकित भएको थिएं त्यसबखत । पछिपछि मैले विस्तारै थाहा पाउदै गएंकि मेरा ज्ञान इन्द्रिय तथा कर्म इन्द्रियहरुको माधयमबाट म आफूले भौतिक रुपमा गरेका सबै प्रकारका गतिविधिहरुमा जेजे अनुभव तथा अनुभूतिहरु गर्छु ती सबै गतिविधिहरुका अनुभव तथा अनुभूतिहरु अन्तरहृदय तथा अन्तरआत्मामा रहेका दिव्य आत्मा, स्वआत्मा, सामान्य आत्मा तथा नकारात्मक आत्माहरु सबैलाई हुबहु हुनेरहेछ । सायद यही हो सामान्य जनजीवनमा भन्ने गरिएको एक व्यक्तिमाथि अर्को व्यक्तिको आत्मा हावी भएको तथा आत्माको नियन्त्रण अर्थात अंग्रेजीमा सोल पोजेसन भनेको । यस सन्दर्भमा मैले महायोगी श्रद्धेय पायलट बाबा(कपिल सिंह, सन् १९३८–२०२४)ले १६ वर्षलामो आफ्नो तपस्या कालका दिव्य अनुभव तथा अनुभूतिहरु समेटेर लेख्नु भएको आध्यात्मिक पुस्तक ‘हिमालय कह रहा है, भाग– १’ मा स्पष्ट बुझ्नेगरि पढेको थिएं । पुस्तकमा वहाँले वडो स्पष्टसंग खुलासा गर्नु भएको छ, 
‘म आफ्ना श्रद्धेय गुरु हरिबाबा संग वहाँको तपस्यास्थल पहाडि गुफामा प्रवेश गरें, प्रवेश गरेको केहीबेरपछि म मुर्छित भएर लडें र त्यसको केहीबेर पछि मैले आफूलाई अर्थात मेरो आत्मालाई आफ्नो भौतिक शरीरबाट अलग पाएं तर मेरा शरीरले सामान्य गतिविधिहरु गरिरहेको थियो । मेरा गुरुका गुरुको दिव्य आत्मा मेरो अन्तरआत्मामा प्रवेश गरेर वहाँले मेरो भौतिक शरीर र आत्मालाई आफ्नो नियन्त्रणमा लिनुभएको रहेछ । मेरो आत्मविकासका लागि आवश्यक मार्गदर्शनहरु दिन महागुरुले यसो गर्नुभएको रहेछ । यी सबै दृश्यहरु म अर्थात मेरो आत्माले आफ्नो भौतिक शरीरबाट वाहिर रहेर महागुरुको दिव्य आत्माले मेरो भौतिक शरीरको माध्यमबाट गरिरहनु भएका सबै गतिविधिहरु हेरिरह्यो र वहाँ जताजता जानुभयो त्यतैत्यतै पछ्याइरह्यो किनकी मेरो शरीर वहाँले प्रयोग गरिरहनु भएको थियो र म मेरो शरीरबाट ओझल हुन चाहन्नथें ।’ 
यस्तै प्रकारको नियन्त्रण नकारात्मक आत्माहरुले पनि गर्ने गर्छन् अर्को व्यक्तिको शरीर तथा आत्मामाथि हावी भएर र आफूलाई गर्न मन लागेका कृत्य–कुकृत्यहरु सबै गर्दछन् तर यस्ता कृत्य–कुकृत्यहरु गर्नु तथा हुनुमा भौतिक शरीरवाला व्यक्तिको कुनै प्रकारको नियन्त्रण हुदैन र उसको दोष पनि हुदैन, सबै नियन्त्रक आत्माले गरिरहेको हुन्छ । ध्यान तथा समाधि साधनाको एउटा निश्चित तहमा पुगेपछि साधकको दिव्य चक्षु अर्थात तेस्रो नेत्र खुल्ने भएकोले आत्मलोक तथा सुक्ष्म संसारमा साधकको पहुच हुन्छ र सुक्ष्म संसारका गतिविधिहरु उसको अनुभव तथा अनुभूतिहरुमा आउन थाल्छन् । अध्यात्म साधनाको क्रममा म स्वयंलाई पनि यस्ता दुवै प्रकारका दिव्य आत्मा र नकारात्मक आत्माहरुको आफूमाथि भएको नियन्त्रणको अनुभव तथा अनुभूतिहरु धेरैपटक र पटक–पटक भएका थिए तर तुलनात्मक रुपमा दिव्य आत्माहरुको उपस्थिति धेरै भएको थियो । साधकको अन्तरहृदयमा दिव्य आत्माहरुको उपस्थिति बढ्दै गएपछि नकारात्मक आत्माहरुको उपस्थिति आफैं कम भएर जानेरहेछ । अन्तरहृदयमा दिव्य आत्माहरुको उपस्थिति हुदा साधकको आफ्नो आत्मविकासका लागि आवश्यक सकारात्मक उर्जा, साथ, सहयोग, आर्शिवाद र अध्यात्म साधनाको मार्गमा आवश्यक पर्ने मार्गदर्शनहरु प्राप्त हुदारहेछन् । नकारात्मक आत्माहरु अन्तरहृदयमा आउदा साधकलाई शारीरिक तथा मानसिक रुपमा अनेक प्रकारले दुःख र चरम पिडा मात्र दिन्छन्, अनेक प्रकारले सताउछन्, साधनामा अवरोध गर्छन् र साधकसंग भएको सकारात्मक उर्जा पनि नकारात्मक आत्मालेनै लिदिन्छन् र साधकको सकारात्मक उर्जाको तह घटाइदिदा रहेछन् । 
अर्कोदिन रुपा ताल गयौं । मलाई ठूला र गहिरा जलाशयहरुका गाडा निलो तथा गाडा हरियो रंगका अत्यन्तै शान्त सतहहरुमा हावाको वहावसंगै लहरिदै किनारमा आएर बिलिन हुने कंचन सेता चञ्चल साना–ठूला छालहरुका दृष्यहरु र ओरोलो जमिनमा प्रकृति र जमिनको प्रतिविम्व बोकेर कलकल संगीतका तरंगहरु छर्दै निरन्तर प्रवाहित भैरहने झरना, खोलाका जलतरंगहरुका कुलुलुकुलुलु र झरझर ध्वनि तरंगहरु र ती गतिविधिहरुका मन्त्रमुग्ध पार्ने दृश्यहरुले अत्यन्तै आकर्षित गर्छन् । म प्रकृतिका यस्ता मनमोहक दृश्यहरुमा एक्लै चुपचाप बसेर घण्टौं बिताउन सक्छु र कविता, गीत, भजनहरु लेख्ने, गुनगुनाउने तथा गाउने गर्छु र यस्ता पलहरुमा मलाई ध्यान साधनामा प्राप्त हुने प्रकारकै परमआनन्द र सकारात्मक उर्जाको महसुस तथा अनुभूति हुनेगर्छ । यी क्षणहरुबाट प्राप्त हुने परमआनन्दमा डुबुल्कि मार्दै म अर्को संसारमा पुगेको अनुभूति गर्छु र घण्टौं त्यतैतिर विचरण गरिरहन्छु मन्त्रमुग्ध भएर । 
जीवनका महत्वपूर्ण क्षणहरुमा मैले विश्वका केही सुन्दर भूगोलहरुलाई नजिकबाट नियाल्ने अवसर पाएको छु र कहिलेकाहीं मन यसै तुलनामा उत्रिदिन्छ र यस्ता तुलनाहरुमा अहिलेसम्म नेपालको भूगोलमा भएका सुन्दर प्राकृतिक छटाहरुले जति विश्वका अन्य भूगोलमा रहेका प्राकृतिक दृश्यहरुले मेरो हृदयलाई आकर्षित गर्न सकेनन् । रुपातालको निलो शान्त पानीको अथाह फैलावटको मनोरम दृश्य; काँश सेतै फूलेर टाढा–टाढासम्म नजर आइरहेको पुरै चाँदीको जलप लगाइएको जस्तो अदभूत दृश्य; कञ्चन सेतो घुम्टो ओढेर शिर लुकाएर बसेकी अप्सराको स्वरुप अलौकिक दृश्य; र विशाल सेतो च्यादर बिछ्याएर यहाँ आएर बस भनेर अत्यन्तै प्रेमपूर्वक आव्हान गरिरहेको जस्तो मनोरम प्रकृति र वरपरको मन हर्ने मनमोहक हरियालीका अनुपम दृश्यहरुको प्रत्यक्ष सानिध्य अनि त्यसमाथि अन्तरहृदयमा स्वाआत्मिका दिव्य प्रेमका स्मृतिका छापहरु, अन्तरहृदयमा घरिघरि उनको उपस्थिति, उनका संगीत गुनगुनाइका तरंगहरुका मिठा पलहरुमा अनुभूतिमा आइरहेको आनन्दको कुनै सीमानै थिएन त्यसदिन । 
म त्यसदिन रुपा तालमा केही घण्टा गुजार्ने उद्देश्य लिएरनै गएको थिएं । गाडी तालसम्म नपुग्ने रहेछ त्यसैले निकै वरै रोकेर आफ्नो माटोको प्रकृतिको अमृतमय सुगन्ध र मनोरम दृश्यहरुको स्वपान गदैं तालसम्म हिड्दै जानेक्रममा नजरमा यस्ता स्वर्गीय दृश्यहरु आएका थिए र हृदयमा स्वपनिल कल्पनाहरु कल्पित भएका थिए । ताल वरिपरिको ग्राभेल बाटो, बाटोको डिलसम्म आएर हरिया लहलह परेका घाँसहरुमाथि ठोक्किएर बिलिन भैरहेका कञ्चन सेता फिंज भएका छालहरुलाई नजिकबाट हेर्न र छुन सकिने गरि ठाउँ–ठाउँमा राखिएका एक–दुईफिट फराकिला ढुंगाहरु पानीको सतहमा थोरै डुबेका देखिन्थे । ती ढुंगाहरुमध्य सबैभन्दा ठूलो ढुंगो छानेर ढुंगोमाथि गोडा राखेर ग्राभेल बाटोको डिलमा बसें र रुपा तालको निलो पानीलाई केहीबेर एकनाशले नियाली रहें । डाँडाको सेतो बौद्ध गुम्बाको प्रतिविम्व तलाउको शान्त पानीको सतहमा जस्ताको तस्तै देखिएको थियो । निकै टाढा देखिएका डुंगाहरु हेलिदै–हेलिदै मेरो नजिकै आइरहेका थिए । वरिपरिका डाँडापाखाका दृश्यहरु ऐनामाझैं छर्लंग देखिएका थिए लाग्थ्यो तालभित्रै प्रकृतिको अर्को संसार पनि छ । यो मनोरम दृश्यको मधूशालाले मलाई उनको याद र प्रेममा झनझन लठ्ठ पार्दै र डुबाउदै लगिरहेको थियो । मनोरम पकृति र दिव्य प्रेमले ओतप्रोत भएको हृदयले आफ्नो काम गर्यो र उनको यादमा उनीप्रति समर्पित एउटा कविता तयार भयो स्वस्फूर्त रुपमा, ‘चुपचाप लय मिलाइरहेछ प्रेम’ शिर्षकमा,
न म केही बोल्छु
न तिमी केही बोल्छौ
तरपनि संवादमै छौं हामी
चुपचाप निशव्दमा बहिरहेछ प्रेम !
न म केही सोध्छु
न तिमी केही सोध्छौ
तरपनि सवालजवाफमै छौं हामी
चुपचाप सवालजवाफ पस्किरहेछ प्रेम !
न म तिमीलाई चिन्छु
न तिमी मलाई चिन्छौ 
तरपनि जानपहिचानमै छौं हामी
चुपचाप अपनत्वमा डुबिरहेछ प्रेम !
न म तिमीलाई भेट्छु
न तिमी मलाई भेट्छौ
तरपनि निकटमै छौं हामी
चुपचाप सामिप्यमा रमाइरहेछ प्रेम !
न म केही भन्छु
न तिमी केही भन्छौ
तरपनि वातचितमै छौं हामी
चुपचाप संवाद गरिहेछ प्रेम !
न म तिमीलाई कुर्छु
न तिमी मलाई कुर्छौ
तरपनि पर्खाइमै छौं हामी
चुपचाप आँखा ओछ्याइरहेछ प्रेम !
न म तिमीलाई देख्छु
न तिमी मलाई देख्छौ
तरपनि दृश्यमै छौं हामी
चुपचाप नयनभरि छाइरहेछ प्रेम !
न म तिमीलाई बोलाउछु
न तिमी मलाई बोलाउछौ
तरपनि साथसाथमै छौं हामी
चुपचाप सानिध्यता निभाइरहेछ प्रेम !
न म उपहार दिन्छु 
न तिमी उपहार दिन्छौ
तरपनि भरिपूर्ण छौं हामी
चुपचाप अन्तरहृदय भरिरहेछ प्रेम !
न म प्रत्यक्ष मुस्कुराउछु
न तिमी प्रत्यक्ष मुस्कुराउछौ
तरपनि मस्किरहेका छौं हामी
चुपचाप मुस्कान छरिरहेछ प्रेम !
न म तृप्त छु
न तिमी तृप्त छौ
तरपनि आनन्दित छौं हामी
चुपचाप प्रेमअमृत वर्षाइरहेछ प्रेम !
न म तिमीसम्म आउछु
न तिमी मसम्म आउछौ
तरपनि एकअर्कामै छौं हामी 
चुपचाप महामिलन सजाइरहेछ प्रेम !
तरपनि एकअर्कामै छौं हामी 
चुपचाप महामिलन सजाइरहेछ प्रेम !
मनोरम प्रकृतिको शितल काखमा समय खुव आनन्दपूर्वक बितिरहेको थियो र यो समयलाई अझै उपयोगी बनाउने हेतुले झोलाबाट मोबाइल झिकें र मोवाइलमा एउटा अत्यन्तै महत्वपूर्ण विषयमा बोलिएको प्रवचन सेभ गरेको थिएं, सुन्न बाँकी रहेको भाग पूरा गर्नकोलागि मोबाइल खालें । प्रवचनको शिर्षक थियो ‘मैं मृत्यु सिखाता हुं’ र प्रवचक श्रष्टा हुनुहुन्थ्यो युग ऋषि श्रद्धेय ओशो रजनीश । यो लगायत आफ्ना अनेक मूल्यवान प्रवचनहरुमा वहाँले बारबार भन्नु भएको छ, “ध्यान साधना मृत्युको अभ्यास हो र म मेरा संयासीहरुलाई मृत्यु सिकाउछु ।” 
यस सन्दर्भमा वहाँले धेरै प्रवचन र वहाँका प्रकाशित पुस्तकहरुमा स्पष्ट पार्दै भन्नुभएको छ कि, जो जन्मिन्छ त्यो अवस्य मर्छ तर जो मर्छ त्यो जन्मिनै पर्छ भन्ने अनिवार्य छैन । यदि मनुष्यले अध्यात्म साधनाको माध्यमबाट स्थुल शरीरमा जिवित रहदै आफूलाई मोक्ष तथा निर्वाणमा उपलव्ध भयो तथा ब्रम्हाण्डको परमचेतना अर्थात सुपरकन्ससमा एकाकार गरायो  भने उ जन्म–मृत्युको अनिवार्र्य चक्रबाट सदाकालागि मुक्त हुन्छ । मनुष्यको जन्मपछिको प्राकृतिक मृत्युमा स्थुल शरीरबाट आत्मा अर्थात चेतना सदाकालागि अलग हुन्छ । ध्यान साधनाको गहन अवस्थामा पनि साधकको स्थुल शरीरबाट आत्मा अर्थात चेतना अलग हुन्छ र आत्मलोक तथा सुक्ष्म संसारमा प्रवेश गर्छ केही समयावधिका लागि । उसको आत्मा अर्थात चेतनाले आत्मलोकको यात्रा प्रारम्भ गर्छ र यसक्रममा उ आफ्ना विगत, वर्तमान र भविश्यका गतिविधिहरुमा विचरण गर्न थाल्छ । विगतका आफ्ना जन्म–जन्मका अनेक–अनेक विषयहरुसंग बारबार उसको साक्षातकार हुन्छ र यी विषयहरुसंग सम्वन्धित अन्य विषय तथा अन्य आत्माहरुका अनेक सूचनाहरु पनि उसलाई ज्ञान हुन प्रारम्भ हुनछन् । त्यसैले ध्यान साधना मुत्युको अभ्यास हो किनकी केही समयावधिका लागि साधकको सुक्ष्म शरीर तथा आत्मा स्थुल शरीरबाट अलग हुन्छ । मनुष्यको प्राकृतिक मृत्युको घटनापछि उ कहिल्यै पृथ्वीलोकमा फर्कदैन र आत्माको अगाडिको विकासक्रमको यात्रामा अगाडि बढ्छ उसको कर्मचक्र अनुसार तर ध्यान साधनामा रहेको साधक आफ्नो स्थुल शरीरबाट केही समयावधिको लागि अलग भएर आत्मलोक तथा सुक्ष्म संसारको यात्रा गरेर फेरी पृथ्वीलोक तथा भौतिक संसारमा रहेको आफ्नो स्थुल शरीरमा फर्कन्छ । प्राकृतिक मृत्युमा मनुष्यको स्थुल शरीर र आत्माविचका सबै सन्वन्धहरु टुट्छन् तर ध्यानको मृत्युमा स्थुल शरीर र आत्माविचका सबै सन्वन्धहरु इथावत रहन्छन् उसको नाभिक्षेत्रसंग जोडिएर जसलाई अदृश्य अलौकिक चाँदीको तार अर्थात सिल्भर स्ट्रिगंले जोडेर राखेको हुन्छ । ध्यान साधनाको मृत्यु र वास्तविक मुत्युमा यतिमात्र फरक रहेको छ तर यी दुवै अवस्थाहरु मृत्युकै प्रक्रियाहरु हुन् । ध्यानको मृत्युमा व्यक्ति आफ्नो स्थुल शरीरमा फर्केर आउछ तर वास्तविक तथा प्राकृतिक मृत्युमा व्यक्ति आफ्नो स्थुल शरीरमा फर्केर आउदैन ।   
अध्यात्म विज्ञानमा आस्था, विश्वास र रुचि भएका अध्यात्म साधना गर्ने साधकहरुका लागि यी अत्यन्तै सुन्दर र आनन्ददायि अनुभूति, अवस्था तथा क्षणहरु हुन् । भौतिक संसारलाई नै सर्वोपरि ठान्ने र स्थुल शरीरलाईनै अन्तिम सत्य मान्ने सांसारिक व्यक्तिहरुलाई यस्ता परालौकिक अवस्था तथा विषयहरु कपोलकल्पित तथा काल्पनिक लाग्न सक्छन् र केहीलाई चमत्कारिक तथा जादुयिक पनि लाग्न सक्छन् तर वास्तविक अध्यात्म साधककालागि यस्ता विषय, अनुभूति, अवस्था तथा क्षणहरु सामान्य हुन् र केही हदसम्म अनिवार्य पनि हुन् किनकी साधकमा यस्ता परालौकिक अनुभव तथा अनुभूतिहरु हुन प्रारम्भ हुनु भनेको आफू अध्यात्म साधनाको सहि मार्गमा रहेको र आफ्नो आत्मा अर्थात चेतनाको विकास सहि प्रकारले भैरहेको छ भन्ने संकेत हो जसले साधकलाई अध्यात्म साधनामा अझ निष्ठापूर्वक लागिरहन प्रेरणा प्रदान गर्दछ ।
अध्यात्म दर्शनमा महारथ हासिल गर्नुभएका दिव्य आत्मा अर्थात विकसित चेतनाहरुका अनुसार ध्यान तथा समाधि साधनाका क्रममा एक निश्चित अवस्थापछि साधकको स्थुल शरीरबाट उसको आत्मा अर्थात चेतना अलग भएर आत्मलोक तथा सुक्ष्म संसारमा प्रवेश गर्न प्रारम्भ हुनु र सुक्ष्म संसारका गतिविधिहरु अवगत हुन प्राररम्भ हुनुनै साधकको आत्मा अर्थात चेतनाको विकासको सहि प्रक्रिया प्रारम्भ भएको प्रामाणिक अवस्था हो । आत्मलोक तथा सुक्ष्म संसारको यात्रा गर्ने क्रममा अनेक–अनेक प्रकारका राम्रा, सामान्य, नराम्रा आत्मा अर्थात चेतनाहरुसंग साधकको प्रत्यक्ष साक्षातकार र संवाद हुन प्रारम्भ हुन्छ । साथै साधकले आफ्ना जन्म–जन्मका राम्रा र नराम्रा तथा सुख र दुःखका सबै प्रकारका दृश्यहरु देख्न र तिनका स्मृतिहरु अनुभव तथा अनुभूति गर्न थाल्छ । वर्तमान जन्ममा आफ्नो वरिपरि रहेका आफ्नै सन्तान, नाता–सम्वन्ध, साथीसंगी, छरछिमेक सबै यसअघिका जन्महरु को–को, के–के, कस्ता–कस्ता र कुन–कुन सम्वन्धमा थिए, कस्तो चरित्रमा थिए, कुन अवस्थामा थिए र उनीहरुसंग आफ्नो कस्तो प्रकारको कार्मिक सम्वन्ध रहेको छ आदि सबै विषयहरुका दृश्य र अनुभूतिहरु क्रमिक रुपमा विस्तारै साधकको ज्ञातमा आउन थाल्छन् । 
आत्मलोक तथा सुक्ष्म संसारमा अनेक–अनेक असंख्य आत्मा अर्थात चेतनाहरुसंग साक्षातकार र संवाद हुने क्रममा दिव्य आत्माहरुले साधकलाई आर्शिवाद, सहयोग र मार्गदर्शन प्रदान गर्नुहुदो रहेछ; सामान्य आत्माहरुले सामान्य संवाद गर्ने, हेर्ने र जाने गर्दा रहेछन्; कमजोर तथा दुःख पाइरहेका आत्माहरुले आफ्नो उद्धार गरिदिन सहयोगको अपिल गर्दा रहेछन् म यो हुँ, यसरी मुत्यु भएको हो, तरिन, खान पाइन, चारैतिर अन्धकार छ, केहिपनि देखिदैन, तपाईंको शरीरमा उज्यालो देखेर यहाँबाट केही सहयोग पाइन्छ कि भनेर आएको... आदि प्रकारका वेदनाहरु सुनाएर जसरी हुन्छ यो अवस्थाबाट उद्धार गरिदिनुस् भनेर आशले भरिएको आग्रह गर्दा रहेछन्, र नकारात्मक आत्माहरुले सबैप्रकारका आपराधिक गतिविधि गरेर सताउने प्रयास गर्दा रहेछन्, साधनामा अवरोध गर्दा रहेछन्, केही अलि शक्तिशाली तथा तान्त्रिक विद्या जानेका आत्माहरुले विविध प्रकारले अवरोधहरु खडा गर्दा रहेछन् । 
अध्यात्म साधनाको क्रममा धेरै प्रकारका आत्मा अर्थात चेतनाहरुसंग भएका साक्षातकार र संवादहरुका क्रममा आफूलाई भएका प्रत्यक्ष अनुभव तथा अनुभूतिहरुका आधारमा मनुष्यको सुख, दुःख, जीवनशैलीको दृष्टिकोणबाट हेर्दा मलाई यस्तो लाग्योकि भौतिक संसार र पराभौतिक संसारका भोगाइहरुमा त्यति धेरै अन्तर रहेनछ । भौतिक संसारमा भएका मनुष्यहरुसंग स्थुल शरीर र आत्मा दुवै एकैसाथ हुने रहेछ र आत्मलोक तथा सुक्ष्म संसारमा भएका मनुष्यहरुसंग आत्मा तथा सुक्ष्म शरीर मात्र हुने रहेछ । मृत्यु पश्चात उनीहरुबाट केवल स्थुल शरीर मात्र छुट्ने रहेछ र बाँकी अरु सुख, दुःख, घृणा, मन, भाव, प्रेम, दया, करुणा, सेवा, आवश्यकता, इच्छा, चाहनाहरु सबै जस्ताको तस्तै रहने रहेछ र मृत्यु अर्थात् स्थुल शरीरबाट आत्मा अलग भएपछि यी सबै कुराहरु उनीहरुको आत्मासंगै जाने रहेछ । प्राय अपहेलित तथा श्राद्ध, दान, पिण्ड नपाएका पित्रीका आत्माहरु; दुर्घटनामा परेर अकालमा अर्थात पूरा आयू जिउन नपाइकन समय अगावै मृत्यु भएका मनुष्यका आत्माहरु; विभिन्न कारणले पूरा आयू जिनुअघि हत्या गरिएका तथा मर्न बाध्य पारिएका मनुष्यका आत्माहरु; आफूले जानिजानि भौतिक शरीर त्याग गरेका अर्थात आत्महत्या गरेका मनुष्यका आत्माहरु; र आत्महत्या गर्नेहरुले मोह–मायाँमा परेर मारेर आफूसंगै लगिएका मनुष्यका आत्मालाई अलि बढि दुःख हुदो रहेछ । आत्महत्या गरेकाहरुले भौतिक शरीर त्यागे पनि उनीहरुको भौतिक शरीरकालागि तोकिएको आयू पूरा नहुन्जेल उनीहरु आफ्नो आत्माको विकास प्रक्रिया तथा पुनरजन्मको प्रक्रियामा जान सक्दा रहेनछन् र यो अवधिमा उनीहरुको आत्मा तथा सुक्ष्म शरीरलाई जीवनयापन गर्न निश्चित प्रकारका आवश्यताहरु पर्दा रहेछन् । 
ध्यान साधनाको क्रममा मसंग साक्षातकार भएका र संवादमा आएका अपहेलित पित्रीका आत्माहरुले मेरो मरण तिथिमा श्राद्ध, दान, पिण्ड दिलाइदिनुस्, मेरो परिवारलाई भन्दिनुस् तिम्रो फलानो नातेदारको आत्माले खान पाएको छैन, लाउन पाएको छैन, दुःख पाइरहेको छ, तर्न सकेको छैन भनेर जस्ता प्रकारका अनुरोध गरेका थिए । विभिन्न कारणले अकालमा ज्यान गुमाएका मनुष्यका आत्माहरुको पनि यस्तै प्रकारका अनुरोधहरु थिए तर आत्महत्या गर्नेहरुको समस्या निकै जटिल हुदो रहेछ सायद यसैकारण सनातन धर्म तथा अध्यात्ममा आत्महत्या पाप हो भनिएको रहेछ । आत्महत्या गरेका मनुष्यका आत्माहरुले खान, लाउन नपाउनुका साथै निष्पट्ट अन्धकारमा बस्नुपर्ने रहेछ, परिवारबाट उचित प्रकारले श्राद्ध, दान, पिण्ड नपाउने र अन्य विभिन्न कारणले उनीहरुको आत्माको शक्ति कमजोर भएको कारण अरु शक्तिशालि नकारात्मक आत्माहरु तथा जिवित तान्त्रिक आत्माहरुले नियन्त्रणमा राखेर तथा प्रलोभन दिएर आप्mना नकारात्मक उद्देश्यहरु पूरा गर्न कमजोर आत्माहरुलाई दुरुपयोग गर्दा रहेछन् र सयौं, हजारौं वर्षसम्म कमजोर आत्माहरु यसैगरि शक्तिशालि आत्माहरुकोे नियन्त्रणमा जकडिएर अरुलाई सताउने प्रकारका नकारात्मक कामहरु गरेर बस्नुपर्दो रहेछ । आत्माहरुलाई आफ्नो निर्णय आफैंले लिने स्वतन्त्रता पनि हुदो रहेछ । सबै आत्माहरु समय आएपछि आफ्नो आत्माको विकास प्रक्रिया तथा पूनरजन्मको प्रक्रियामा प्रवेश गर्दा रहेछन् तर केही आत्माहरु सुक्ष्म संसार र भौतिक संसारमा अरुलाई दुःख दिएर आफ्नो अभिष्ठ तथा आवश्यकता पूरा गर्ने तामसिक जीवनशैलीमा अभ्यस्त भएका र त्यसमै रमाउन थालेका कारण उनीहरुको आत्माको आयू तथा समय परिपक्व भएर आत्माको विकास प्रक्रिया तथा पूनरजन्मको प्रक्रियामा जानसक्ने तथा जानयोग्य भएपनि आफ्नै खुशीले जादैन रहेछन् । केही आत्माहरुलाई शक्तिशालि आत्माहरुले जकडेर जान नदिइएको कारण बाध्यतावस जादैन रहेछन् तर केही आत्माहरु प्रक्रियामा गएर पनि आफ्नै खुशीले फेरी त्यही नकारात्मक दलदलमा फर्किदा रहेछन् ।
आफ्नो परिवारबाट आ–आफ्नो तिथि तथा विशेष तिथिका दिनहरुमा श्राद्ध, दान, पिण्ड, अक्षता, धूप दिलाईदिनु भनेर मसंग यसरी सहयोग माग्ने आत्माहरुलाई मैले तपाई को हो भनेर म कसरी चिन्न सक्छु र मैले कसरी सहयोग गर्न सक्छु भनेर सोध्दा आफूलाई अनेकतिर जोडेर चिनाउने प्रयास गर्थे सबै सूचनाहरु दिदै म फलानो ठाउँको, फलानो परिवारको, म फलानोको यो नाता पर्ने हुँ, यसरी मरें, मरेको यति समय भयो, मरेपछि खान पाइन, लाउन पाइन, दुःख पाएं आदि भन्थे विस्तारमा तरपनि म उनीहरुलाई चिन्न सक्दिनथें । म उनीहरुलाई आफ्नो परिवारसंग सम्पर्क गर्नु, आफूलाई चाहिएको कुरा माग्नु, सपनामा संकेत दिनु भन्थें । उनीहरु भन्थे, परिवारका कसैले हामीलाई यसरी सुन्नै सक्दैनन्, सपनामा संकेत दिएपनि वास्ता गर्दैनन्, तपाईंले मात्र यसरी हामीलाई सुन्न सक्नुभयो, जसरी हुन्छ हाम्रो उद्धार गरिदिनुस भन्थे तर मसंग उनीहरुलाई उद्धार गर्न सक्ने कुनै सामथ्र्य र केही उपाय नै थिएन । उनीहरु मलाई समाजका केही ठूला व्यक्तित्वहरु, धर्म गुरु, अध्यात्म गुरुहरुको समेत नाम लिएर वहाँले चिन्नुहुन्छ मेरो परिवारलाई वहाँलाई भनेर मेरो परिवारबाट मलाई श्राद्ध, दान, पिण्ड, अक्षता, धूप दिलाईदिनुस् भन्थे तर म यसरी सहयोग गर्न सक्दिन, समाजका ठूला मान्छे भएपनि म वहाँहरुलाई व्यक्तिगत रुपमा चिन्दिन र तपाईहरुको आत्माले यसो भनेको छ भन्ने कुरा वहाँहरु समक्ष राख्न सक्दिन मलाई माफ गर्नुहोला भन्थें । मेरो असहयोगको कुरा सुनेर उनीहरु निराश हुन्थे, केहीले त रुदै आफ्नो दुःखका कुराहरु सुनाइरहन्थें, कतिसंग त करुणावस म पनि उनीहरुसंगै भावुक हुन्थेंं, कतिलाई आवेशमा आएर आत्महत्या गरेकोमा, कसैलाई आठ महिनाको गर्भावस्थामा समेत आत्महत्या गरेर गर्भे बच्चालाई समेत आफैंसंग अन्धकारमा राखेर दोहोरो पाप गरेकोमा नराम्रोसंग गाली पनि गरें । अन्जान पित्रीहरुसंग म सहयोग गर्न असमर्थ छु भनेर क्षमा मागें... । 
एकजना प्रतिष्ठित अध्यात्म गुरुकी दिवंगत पत्नीले अत्यन्तै भद्रशैली आफ्नो विस्तृत परिचय दिएर भन्नुभयो, मलाई मेरो परिवारबाट केही पनि चाहिएको छैन माता, आत्मलोकमा म आफ्नो कर्मचक्र अनुसार राम्रो अवस्थामा छु र पुनरजन्मको प्रक्रियमामा छु । नाजायज सम्वन्धमा रहेका मेरो श्रीमान र मेरो आफ्नै बहिनीले मलाई झुक्याएर खानामा थर्मामिटरको पारो ख्वाएको कारणले शरीरभरि क्यान्सर संक्रमण फैलिएर मेरो स्थुल शरीर छुट्यो मबाट, म अकालमै मरें, म मरेपछि मेरा छोराछोरीले दुःख पाए मलाई छोरा–छोरीको बाउको भरोसा छैन, आवश्यकता पर्यो भने तपाईंले मेरा छोरा–छोरीको संरक्षणका लागि केही गरिदिनु होला भन्नुभयो । वहाँ चारपटक मसंग दोहोरो संवादमा आउनु भयो र पछिपछि पनि म अव जन्मिनेवाला छु भनेर सन्देश पठाइरहनु भयो । मैले वहाँका अरुअरु कुराहरु पनि बडो धैर्यताकासाथ सुनें र वहाँका कुरा सुनेर पटक–पटक अत्यन्तै भावुक पनि भएँ, वहाँ स्वयं अध्यात्म साधनामा विशेष स्थान हासिल गरिसक्नु भएको विकसित आत्मा योगी व्यक्तित्व हुनुहुदो रहेछ तर आफ्नो मुत्युको षडयन्त्रलाई विकसित आत्माहरुले पनि तोड्न सक्नुहुन्न रहेछ जसरी युग ऋषि श्रद्धेय ओशो रजनीशले आफ्नो मृत्युको षडयन्त्रलाई तोड्न र रोक्न सक्नु भएन । आत्मलोक तथा सुक्ष्म संसारमा सबै प्रकारका आत्मा अर्थात चेतनाहरुसंग भएका साक्षातकार तथा संवादका विषयहरुको फेहरीस्त निकै लामो छ... । 
यसरी मसंग साक्षातकार र संवाद भएकामध्य सामान्य आत्माहरुले सामान्य रुपमा बोले र बोलाए मात्र, स्पर्श गरे गोडामा, हातमा, चेहरामा र ध्यान साधना गर्ने ध्यानी हुनुहुदोरहेछ, शरीरमा उज्यालो प्रकाश देखेर हेर्न आएको भनेर विदा भए; कमजोर आत्माहरुले सहयोग गरिदिन आग्रह गरिरहे बारबार; नकारात्मक आत्माहरुले ध्यान साधना र दैनिक जीवनमा समेत अवरोध गरिरहे बारबार र दिव्य तथा भगवद् आत्मा अर्थात विकसित चेतनाहरुले आशिर्वाद, मार्गदर्शन, ज्ञान र धेरै प्रकारले सहयोग प्रदान गर्नुभयो र गरिरहनुभएको छ । 
अध्यात्म साधनाको क्रममा दिव्य तथा भगवद् आत्मा अर्थात विकसित चेतनाहरुको सन्दर्भमा सबैभन्दा पहिला प्रत्यक्ष रुपमा म महाशक्ति हुँ र म तेरो अन्तरआत्मामा आएर बसेको छु भनेर आदिशक्ति जगदम्बा जगत जननी माता आउनु भयो । मेरो अन्तरआत्मामा आदिशक्ति माताको पदारपण भएपछि सुक्ष्म संसारका एकतहका असहयोगी तथा नकारात्मक आत्माहरुले साधनामा पुर्याइरहेका अवरोधहरु काटीदिनु भयो र विशेष विधिमा रहेर मौन ध्यान साधना गर्न मार्गदर्शन गर्नुभयो । मौन ध्यान साधनाको गहन अवस्था समाधि घटित भैरहेको दिव्य पलमा एकदिन एउटा दिव्य आत्माले तिमी माथि आउ भनेर मलाई माथि आकाशमा बोलाउनु भयो  मैले माथि जान प्रयास गरें तर दिव्य आत्मालाई देखिन वहाँको सन्देश मात्र सुन्न सकें । वहाँले फेरी पनि तिमी आउ म तल आउन मिल्दैन भन्नुभयो । दिव्य आत्मालाई देख्न नसकेको र आकाशमा जाने बाटो पनि नदेखेको कारण अचानक मैले बाटो देखिन भनेर डाको छोडेर आँशुसरी भएर रोएं मलाई बाटो देख्न मद्धत गर्नुहोस्, म माथि आकाशमा आउछु भन्दै । निकै बेर रोएं विस्तारै रुवाइको गति कम भयो, मलाई दिव्य आत्माले आकाशमा आउ भनेर बोलाउनु भएको भएपनि म जान सकिन सायद मेरो साधना पुगेको छैन, म अझै साधना गर्छु भनेर सन्तोष मानें मनमनमा र समाधिमै रहिरहें । केहीबेरपछि आकाशमा पैताला झलल्ल बलेको एउटा अत्यन्तै प्रज्वलित उज्यालो शरीर देखें र त्यो उज्यालो प्रकाशलाई पछ्याएर ठम्याउने तथा देख्ने प्रयास गरें यो दिव्य आत्मा को हुनुहुन्छ होला भनेर र ठम्याएं पनि । यसरी पैताला झलल्ल बलेको उज्यालो शरीर मेरो स्वआत्मिको रहेछ, मैले स्पष्ट उनको चेहरा देखें र अगि मलाई माथि आकाशमा आउ भनेर बोलाउने दिव्य आत्मा पनि उनै रहेछन्, म ध्यानको अवस्थामै परमआनन्दले मुस्कुराएं र मनमनमा भनें ओहो प्रिय स्वआत्मि तिमी त मोक्षमा उपलव्ध भएर प्रकाशित भैसकेका रहेछौ त्यसैले मलाई पनि माथि आकाशमा आउ बोलाइरहेका रहेछौ ।
अर्को दिनको ध्यान साधनामा मलाई फेरी एक दिव्य आत्माले बोलाउनु भयो र भन्नुभयो, ‘पहाडको टुप्पोमा आउ, म त्यहाँ तपस्यारत छु र तिमीलाई कुरिरहेको छु ।’ पहाडको तल ठूलो ताल थियो मैले तालको छेउको ग्राभेल बाटो हुदै त्यो पहाड चढेर टुप्पोसम्म पुग्नु पर्ने थियो मलाई बोलाउनु हुने दिव्य आत्माको सानिध्यतामा पुग्नकालागि । मैले सहमति जनाएं र प्रसन्नताकासाथ पहाड चढ्ने यात्रा प्रारम्भ गरें एक्लै । विहानको समय थियो, पहाड चढ्दै गएं, होचा प्रकारका रुखैरुख भएको जंगलको बाटो थियो, निकैबेर हिडेपछि बाटो साँघुरिदै गयो र एउटा विन्दुमा पुगेपछि बाटो टुंगियो, बाटोमा अगाडि बडेमानको ढुंगो रहेछ । बाटो त सकियो, म अव आज पहाडको टुप्पोमा पुग्न नसक्ने भएं भन्ने लाग्यो, तल फर्केर हेरें घन्टौं अगाडि छोडेको पानीको ताल निकै तल देखियो । दिन ढल्किसकेको थियो अव म तल झर्नपनि सक्दिनथें र पहाडको टुप्पोमा जाने बाटै थिएन । यताउता नजर लगाएं बरिपरि, म गएको बाटो बाहेक अलि तलबाट एउटा तेर्सो लाग्ने साँघुरो बाटो रहेछ, अन्तरहृदयमा कसैको सन्देश सुनें यो बाटोबाट जाउ अलिपरबाट पहाडको टुप्पोतिर लाग्ने बाटो भेटिन्छ । होला भनेर त्यही सन्देशलाई मानेर म त्यो बाटोबाट पहाडको टुप्पोमा पुग्ने आश मनमा लिएर अगाडि बढें तर धेरै हिडीसक्दा पनि माथि लाग्ने अर्को बाटो नै देखिएन । साँझ पर्ने तरखरमा थियो, म कहाँ पुगेछु भनेर यताउता हेरें, विहान छोडेको पानीको ताल पो मबाट नजिकै देखें मैले । म पहाड चढ्दैछु भन्ठानेको थिएं तर तेर्सो बाटो हिड्दै हिड्दै म त पहाडबाट तल पो झरिरहेको रहेछु । 
साँझ हुदै रात पर्यो, अध्यारो भयो, भएको बाटो पनि देखिन छाड्यो, सारसिर पानी पनि पर्यो, म एक्लै थिएं, अव पहाडको टुप्पोमा त म पुग्न सकिन बरु तलै झर्छु भनेर अध्यारोमा निकै कष्टकासाथ तल झर्दै थिएं फेरी अन्तरहृदयमा अर्को सन्देश आयो, म तिमीलाई पहाडको टुप्पोमा तपस्यारत भएर कुरेर बसिरहेको छु तिमी किन नआएकी’ भनेर । म झस्किएं किनकी यो सन्देश मेरो स्वआत्मिको थियो, मलाई पहाडको टुप्पोमा आउ भनेर बोलाउने दिव्य आत्मा उनै पो रहेछन् फेरी पनि । यसअघिको ध्यान साधनामा पनि आकाशमा आउ म तिमीलाई कुरिरहेका छु भनेर पछि प्रज्वलित शरीरमा प्रकट हुने पनि उनै थिए । उनले मलाई आफूतिर बोलाइरहेको छन् बारबार तर विभिन्न अवरोधका कारण म उनीसम्म न अकाशमा न पहाडको टप्पोमा पुग्न सकें भनेर म फेरी रुन थालें ध्यानस्थ अवस्थामा तर भौतिक रुपमै आँशु सरी भएर । जंगलको बाटो, राति, एक्लै छामछुम गर्दै तल झरिरहें पानीको तालसम्म आइपुग्न, तालको छेवैमा बस्ति थियो त्यहीं गएर बस्छु भनेर । अन्तरहृदयमा फेरी स्वआत्मिको सन्देश आयो, उनले भने पहाडको टुप्पोमा पुग्ने छोटो र फराकिलो स्पष्ट बाटो छ, तिमीले कसरी देखिनौ, तिमीलाई कसैले अवरोध गरिरहेको रहेछ त्यसैले तिमी पहाडको टुप्पोमा पुग्न सकेनौ । बाटोको मुखमा बडेमानको ढुंगो राखेर त्यही अवरोध गर्ने आत्माले तिम्रो बाटो छेकिदिएको हो भनेर उनी मेरो अन्तरहृदयबाट अन्तरध्यान भए । म पिर मान्दै रुदै बाटो झरिरहें मेरो साधनामा किन यतिविधि अवरोध आइरहेको होला, किन मलाई दुःख दिरहेका होलान्, कसले मलाई बाधा गरिरहेको होला यसरी भन्दै मनमा कुरा खेलिरहे ।
अर्को दिनको मौन ध्यान साधनामा मैले आफूलाई अत्यन्तै घना अध्यारो अनकन्टार ठाउँमा कहाँ हो कहाँ एक्लै पाएं, कुन ठाउँ हो, कस्तो भूगोल हो, वरिपरि के छ, केही पनि थाहा छैन, वरीपरी निपष्ट कालो बाहेक केहीनै देखिदैनथ्यो । कडा भुईंमाथि उभिएको छु त्यतिमात्र थाहा थियो शरीर र मनलाई । चारैतिर निष्पस्ट अध्यारो भएकोकारण कतै जानसक्ने केही उपाय नदेखेर म थचक्क भुईंमा बसें दुवै घुँडा मारेर र दुवै हत्केला भुईंमा टेकेर शिर झुकाएर । केहीबेरपछि भुईंमा टेकोको मेरो देब्रे हातको औंलाका काप र हत्केलाको छेउबाट प्रकाशका किरणहरु निस्के जस्तो देखें, के भएछ मेरो देब्रे हत्केलामा भनेर हत्केला उठाएं, उठाउदा त मेरो देब्रे हत्केलो झलल्ल प्रकाशित भएर बलिरहेको देखें र यो प्रज्वलित उज्यालो प्रकाशले मेरो वरपरका दृश्यहरु देखिए । 
म कहाँ हो कहाँ पहाडको टुप्पोमा निकै अग्लो ठाउँमा विशाल कालो ढुंगोमाथि रहेछु । वरिपरिको दृश्य देखिसकेपछि म कहाँ बसेको रहेछु, कुन ठाउँमा रहेछु भनेर हेर्न र जान्न मन लाग्यो र बलिरहेको देब्रे हातको हत्केलोलाई आफू उभिइरहेको भुइंतिर फर्काएं, म थचक्क बसेको ठाउँ त्यही विशाल कालो ढुंगोको विचतिर रहेछ । निष्पट्ट अध्यारोमा निरउपाय भएको अवस्थामा थचक्क बसेर हात टेकेको ठाउँमा छिनोले खोपेर लेखेको जस्तो लामालामा गोलाइमा घुमाइएका रेखाहरु देखें र देब्रे हातको हत्केलाको उज्यालोमा ती रेखाहरुको अन्तिम बिन्दु खोज्दै–खोज्दै गएं, जव पूरै रेखाहरु ठम्याइसकें त्यसपछि थाहा पाएं ती रेखाहरु सबै जोडिएर ठूलो ॐ अक्षर पो तयार भएको देखियो, त्यस विशाल ढुंगोमाथि दिव्य ॐ अक्षर पो लेखिएको रहेछ । अग्लो पहाडको टुप्पोमा रहेको त्यस विशाल कालो ढुंगोमाथि तिखो औजारले खोपेर लेखिएको ॐ अक्षर माथिनै म घुँडा मारेर र हत्केला टेकेर बसेको रहेछु । दिव्य ॐ अक्षर ठम्याइसकेपछि मेरो अन्तरआत्मामा अन्तरप्रज्ञा भयो मलाई मेरो स्वआत्मिको आवरणमा आएर बारबार स्वयं परब्रम्ह, परमात्मा स्वरुप ॐकारले आफूतिर बोलाइरहनु भएको रहेछ । मेरो देब्र हत्केलो बलेर अन्धकार दुर भएको, आफू पहाडको टुप्पाको विशाल कालो ढुंगोमाथि रहेको र ठूलो ॐकारको विचमा बसिरहेको देखेर आनन्दित भएं र मनमनमा लाग्यो मलाई दिव्य आत्माहरुले आर्शिवाद दिरहनु भएको रहेछ, सहयोग र मार्गनिर्देश गरिरहनु भएको रहेछ स्वयं परब्रम्ह, परमात्मा स्वरुप ॐकारसम्म आइपुग्नका लागि । अन्तरहृदयदेखि सबै दिव्यआत्मा र ॐकार परमात्माप्रति कृतज्ञताले भरिएं र भिजेका नयन सहित नतमस्तक भएर प्रणाम गरें । त्यसपछिका दिनहरुमा मलाई लगातार तीन दिनसम्म स्वयं परब्रम्ह, परमात्मा स्वरुप ॐकारको उर्जा लागिरहयो र परमआनन्दको महासमाधि घटित भैरह्यो, परमात्माको असीम कृपा वर्षियो र वर्षिरहेको छ । 
निरन्तर मौन ध्यान साधनाको केही दिनपछि एकदिन विहानको ध्यान साधनामा मेरो अन्तरहृदयमा आदिशक्ति जगदम्वा जगत जननीको फेरी पदार्पण भयो, वहाँले तँ अव माथि आकाशमा जा, तेरो माथि जाने समय भयो भन्नुभयो । आदिशक्ति जगदम्वा जननीलाई प्रणाम गरेर मैले हस भगवती माता म जान्छु तर कसरी जानें भनेर सोधं । माताले हात माथि उठा र उडेर आकाशमा जा भन्नुभयो । त्यसबखतमा मेरो श्रीमान पनि मसंगै हुनुहुन्थ्यो, वहाँले म पनि तिमीसंगै आकाशमा जान्छु, म तिमी बिना यहाँ एक्लै यहाँ बस्दिन मलाई पनि तिमीसंगै लैजाउ भन्नुभयो र म आकाशतिर उड्नै आँटेको समयमा वहाँले मेरो दाहिने गोडो समात्नु भयो, म उड्न सकिन किनकी श्रीमानले मेरो गोडो समातेको कारण मेरो शरीर भारी भयो । म उड्न सकिन तर आदिशक्ति माताले तँ आकाशमा जा जा भनिरहनु भयो, फेरी पनि प्रयास गरें तर म उड्नै सकिन र आफ्नो समस्या माता समक्ष राखें । माताले अहिले तेरो श्रीमानको आकाशमा जाने समय भएको छैन, तँसंग उ जान सक्दैन उसको शरीर भारी छ, अध्यात्म साधना गरेर शरीर हलुका बनाएको मनुष्य मात्र मुक्त हुनसक्छ, उसलाई यो कुरा सम्झा र आफ्नो शरीर उबाट छुटाएर र तँ मात्र उडेर आकाशमा जा र पछि विस्तारै उसलाई अध्यात्म साधना सिकाएर शरीर हलुका पारेर माथि आकाशमा जान योग्य बना भन्नुभयो । आदिशक्ति माताले भन्नुभएका सबै कुरा मैले हुबहु भनें श्रीमानसंग त्यसपछि वहाँले मेरो गोडा छोड्नु भयो, मेरो शरीर हलुका भयो तर अत्यन्तै दुःखी भएर मेरो गोडा छोड्नु भएको थियो । वहाँको दुःख थियो, म अव मेरो श्रीमतीबाट छुटें, उनी एक्लै मोक्ष गइन भनेर । मैले वहाँलाई भनें म माथि गएर आउछु अनि तपाईंलाई माताले भन्नुभए अनुसार अध्यात्म साधना सिकाउछु त्यसपछि संगै आकाशमा उडौंला भनेर म दुवै हात उठाएर उड्ने प्रयास गरें र म अकाशमा उडें पृथ्वीलोक छोडेर र आकाशमा प्रकाश स्वरुपमा विलय भएं । 
श्रीमान र मेरो विचमा भएको संवाद हाम्रो आत्मा अर्थात चैतन्य चेतनाको तहमा भएको थियो, भौतिक संसारमा जीवनयापन गरिरहनु भएका मेरो श्रीमानको जाग्रीत चेतनालाई संवादका यस्ता विषयहरु अवगत हुदैन रहेछन्, मैले सोधेको थिएं तपाईंको ध्यान साधनामा केही दिव्य सन्देशहरु आएका थिए भनेर तर वहाँले केही पनि सन्देश नआएको जनाउ दिनुभएको थियो, यस अगाडि मैले केही भनिन, र आज पर्यन्त म चुपचापनै छु, कसैसंग केही पनि भन्दिन अध्यात्म साधनासंग सम्वन्धित परालौकिक विषयहरु किनकी यी विषयहरु सबैको समझमा आउदैनन् । सुक्ष्म संसारमा श्रीमान र मेरो चैतन्य चेतनाविच भएको संवादबारे केहीपनि नभनीकन आदिशक्ति माताले भन्नुभए अनुसार मैले भौतिक संसारमा श्रीमानलाई अध्यात्म साधना सिकाउने प्रयास गरें आफूले अनुशरण गरिरहेका विधिहरु अन्तर्गत रहेर । शुरुशुरुमा वहाँले बडो सक्रियताकासाथ रुचि मानेर गर्नुपनि भयो, आध्यात्मिक अध्ययन गर्ने, सतसंगका प्रवचनहरु सुन्ने, योग साधना, ध्यान साधना पनि बढाउनु भयो तर पछिपछि अल्छि गर्नुभयो र व्यवस्तताका कारण विस्तारै पूरै छोड्नु भयो, मैले जति कोशिश गरेपनि वहाँलाई फेरी अध्यात्म साधनामा फर्काउन सकिन, गरौंला गरौंला फुसंदमा भन्नु भयो तर रुचि राख्नु भएन । सायद ऋषिमुनिहरुले भन्नु भएको पात्रताको विषय यस्तै केही हो किनकी अध्यात्म साधनाकालागि सबैकुरा बनिबनाउ अवस्थामा छ घरमै तर वहाँमा रुचि छैन या भनौं पात्रता पुगेको छैन । तर यो समान्य अवस्था हो किनकी हरेक मनुष्य, आत्मा अर्थात चेतनाहरुको आ–आफ्नो छुट्टै कर्मचक्र हुन्छ, प्रारव्ध, संचित र क्रियमाण कर्महरुको चक्र चलिरहेको हुन्छ र त्यही अनुसारनै सबैको जीवन चक्र निर्धारण हुन्छ । अहिले म मेरा आफ्नै प्रकारका दिनचर्याहरु– साधना, लेखपढ, योग–ध्यान प्रशिक्षण र अन्य गतिविधिहरुमा व्यस्त छु, वहाँ आफ्नै दिनचर्या, कार्यालय, बैठक, भेटघाटमा व्यस्त हुनुहुन्छ । म आफैंमा अनन्दित छु र वहाँ आफैंमा आनन्दित हुनुहुन्छ, आखिर हरेक मनुष्यको खोज जीवनको आनन्द नै त हो..., सब्ब मंगलम भवतु !
                                                                         अस्तु
                                                      शिवोहम् ! शिवोहम् !! शिवोहम् !!! 
No comments:
Post a Comment