लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
                            ‘...यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, जुनकिरीझैं ज्योति बाली...’
कक्षा ९ मा अध्ययनरत रहदा, विद्यालयको स्वामित्वको १३ बिगा खेलकुद मैदानमा अन्तर विद्यालय महिला फुटबल प्रतियोगीतामा सहभागि हुन हाम्रो समुह खेल उद्घोषकालागि रेफ्रीको सिटि कुरीरहेको थियो । खेलकुद मैदानमा विद्यालयकै ठूलो क्यासेट र साउन्ड बक्सबाट पृष्ठभूमिमा ठूलो आवाजमा कालजयी जागृती गीत ‘यो नेपाली शिर उचाली’ बजिरहेको थियो र गीतको भावसंगै हामी खेलाडीहरुको श्वास र रक्तसंचारको गति र शरीरको तापक्रम बढ्दै गैरहेको थियो । हामी सबैका कान रेफ्रीको सिटितिर र नजर फुटबलमा थियो बिरालोले मुसालाई दुलो वाहिर कुरेझैं एकदम चनाखो भावमा । सिटि बज्यो, खेल प्रारम्भ भयो, दुवै पक्षको सक्रिय भिडन्त चल्दाचल्दै नब्बे मिनेटको समय सकियो र जित हाम्रो विद्यालयको भयो । प्रतियोगीता जितेपछि हामी विद्यार्थी फुटबल खेलाडीहरुलाई एकदमै मजा आयो, हामीले हाम्रो विद्यालय र हेडसरको जितको नारा लगायौं तर फुटबल सिकाउने कोचसरले अलि अनौठो व्यवहार प्रस्तुत गर्नुभयो । 
हामीले अपेक्षा गरेका थियौं कोचसरको मेहनेत र खेलाडी विद्यार्थीहरुको लगनशीलताले फुटबल प्रतियोगितामा जित हातपर्यो, कोचसरले अत्यन्तै खुशी भएर हामीलाई धन्यवाद र वधाई भन्नु हुनेछ र हाम्रो हौसला अझै बढाउनु हुनेछ तर त्यसो भएन, परिस्थितिले अलि अर्कै मोड लियो । कोचसरलाई खै के कुरामा चित्त बुझेन त्यसबखत हामीलाई थाहा भएन, वहाँले त सिधै यो जित अरु कसैको कारणले होइन मेरो उत्कृष्ट प्रशिक्षणका कारण भएको हो भन्नु भयो सबै शिक्षकहरुकै सामुन्नेमा । सबै शिक्षकहरु एकआपसमा मुखामुख गर्न थालनुभयो, हामी खेलाडीहरु अक्क न बक्क भयौं । कोच सरले हामीलाई धन्यवाद तथा वधाई नभन्नु भएको भएपनि यो कुरालाई सामान्य रुपमा लियौं र सहजै स्वीकार्यौं किनकी वहाँ अलि ठालु, अहंकारी र अरुलाई त्यति मान्छे नगन्ने ठाडो प्रकारको अलि खडुस तथा रुखो व्यवहार भएको व्यक्ति हुनुहुन्थ्यो । यो कुरा सबैलाई थाहा थियो तर वहाँको प्रतिभा, क्षमता र सिर्जनशीलता निकै राम्रो भएकोले सबैले वहाँको अहंकारपूर्ण व्यवहारलाई पचाउनु भएको थियो । यहीविचमा एकजना मिसले भन्नु हुन्थ्यो, 
“... बाबा ! कस्तो अहंकार यसको हेरन, सारा फुर्ति नै यही जान्ने छु भन्ने हो के यसको, कसैले केही भन्दैनन् त्यसैले थेगि नसक्नुको छ !! मान्छे हेर्दा चाहीं चिचिन्डो जस्तो छ..., हाहाहा... !!!” 
मिस मुख छोपेर हास्दै कोचसरलाई खिस्याइरहनु भएको थियो । हामी ९ कक्षामा पढ्ने केटाकेटी भएकोले बुझ्दैनथ्यौं वहाँहरुका कुराका सबै भावहरु र वास्ता गर्दैनथ्यौं किनकी हामी कसैलाई पनि अहंकार भनेको कुन चराको नाम हो भन्ने नै थाहा थिएन त्यतिबेलासम्म । फुटबल प्रतियोगीतामा आफ्नो विद्यालयको जित भएपछि हामी सबै खेलाडीहरुले एकआपसमा हातको गठजोड गरेर खुशी मनायौं र कोचसरले सिकाउनु भएको प्रशिक्षणको कारण हामी यो फुटबल प्रतियोगीता जित्न सफल भयौं भनेर एकआपसमा खुशी साटासाट गर्यौं किनकी वहाँले राम्ररी सिकाउनु भएकै कारण त हामीले राम्रो खेल्न र जित्न सकेका हौं भन्ने बुझाइ हामी सबैमा थियो । यसपछि हामी खेलाडी साथीहरुको एक समुह शरीर हलुका गर्न वाथरुमतिर हिड्यौं त्यहाँबाट । केहीबेरपछि फर्केर आउदा थाहा भयो कोचसर त हेडसर र अरु शिक्षकहरुसंग बटारिऐर खेलमैदानबाटै तिमीहरुको कोचको जागीर तिमीहरुनै खाउ भनेर रिसाएर हिड्नु भयो रे । कारण के थियो सबैकुरा हामीलाई थाहा भएन तर सबै शिक्षकहरुले हेडसरलाई पहिला बधाई भन्नुभयो र कोचसरलाई पछि तथा अलि ढिलोगरि बधाई भन्नु भयो भनेर वहाँलाई मन परेन रे अनि रिसाएर फुटबल कोच प्रशिक्षण र शारीरिक व्यायाम शिक्षकको जागीर छोडेको घोषणा गरेर निस्किनु भयो रे फेरी नफर्कने गरि ।
हामी विद्यार्थीहरुले कोचसर र त्यहाँको वास्तविक कुरा सबै राम्ररी बुझेनौं तर विद्यालयले अन्तर विद्यालय महिला फुटबल प्रतियोगितामा जित भयो भने कोचसर र खेलाडीहरुलाई माला र अबिर लगाउने र जितको नारा, उत्सव गर्ने भनेर पहिलाबाट नै सामग्रीहरु ठिक पारेर राखेको हामीलाई थाहा थियो । एकजना मिसले भन्नु भयो,
“हेडसरको योजना थियो कोचसरलाई सप्राइज दिएर विजय उत्सव मनाउने तर उत्सवको तयारी गर्दागर्दै चिचिण्डो अंहकारमा उन्मत्त भएर आफैं खेलमैदान छोडेर हिड्यो, आफूले गराएको जितको कदर भएन, अपमान गरियो भनेर ।” 
“त्यइत, कस्तो अहंकारी मान्छे रहेछ है ! हामीले उसलाई सम्मान गर्ने तयारी गर्दैथियौं त मलाई मान पुगेन भनेर कोचको जागीर नै पो छेडेर हिड्यो, पगला कहिंको... ।”
पछि अर्को सर पनि यही कुरा दोहोर्याउनु भयो । सर र मिसहरुले एकआपसमा गर्नुभएका कुरा सुनिरह्यौं हामीले तर हामीलाई यो विषयको गाम्भिर्यता उति महसुस भएन । सर र मिसहरुको कुरा सुनेपछि हामीलाई विषयको सतही ज्ञान त भयो तर गहिरो ज्ञान त्यतिबेला हुनसकेन किनकी ती दिनहरुमा हाम्रो हृदय, मन, मस्तिष्क आलोकाचो नै थियो परिपक्व भएको थिएन । आज यो विषयका ती स्मृति मेरो मन, मस्तिष्कमा ताजा भएर आउदा मलाई अनुमान भयोकि वहाँ भन्दा ठूलो वहाँको अहंकार रहेछ क्यारे सायद त्यतिबेला । मेरो स्मृतिमा यो विषय आउनुको कारण थियो मैले वहाँलाई धेरै वर्षपछि बैंकक उड्न ठिक्क परेको विमानमा आफ्नो छेउको सिटमा देखें र मैले चिनें तर वहाँले मलाई चिन्नु भएन । विमानभित्र वहाँसंग परिचय गर्नुअघि वहाँको चेहरा देखेपछि मेरो मस्तिष्कमा मडारिएको विषयहरु थिए यी सबै ।
करिव तीन दशक भन्दा बढि समयपछि फुटबल कोचसरसंग विदेश यात्राको क्रममा विमानभित्र यो अभूतपूर्व भेट भएको थियो । नचिनेका कारण वहाँले मतिर हेर्दै हेर्नु भएन तर म बेलाबेला वहाँतिर हेर्दै वहाँका हाउभाउहरु नजिकबाट नियालिरहेको थिएं कि यो मान्छे अझै त्यस्तै छ कि बदलियो होला भनेर । यात्रा तीन घण्टा भन्दा बढिको थियो, मैले एउटा श्रव्य अर्थात अडियो पुस्तक बोकेको थिएं र आज त्यसलाई सक्छु भन्ने योजना बनाएर लाइनमा अर्को श्रव्य पुस्तक पनि राखिसकेको थिएं । तर जव कोचसरलाई आफ्नो सिट नजिकै देखें एउटै गन्तव्यमा पुग्नेगरि तव मैले पुस्तक सुनेर सक्ने मेरो योजना परिवर्तन गरें । मेरो मानसपटलमा १३ बिघा खेलमैदानका ती दृश्यहरु झलझलि घुम्न थाले र वर्षौंदेखि पत्ता पाउन नसकोको त्यसदिनको घटनाको वास्तविक कारण कोचसरकै मुखबाट सुनेर जान्ने चाहना मनमा झांगिदै गयो । शुरुमा सरको ध्यानाकर्षण गरेर नमस्कार भन्दै जानपैचान गरें, म सुमिता, ९ कक्षा पढ्दा हजूरको फुटबल प्रशिक्षणको विद्यार्थी भनेर । मैले आफूलाई चिनाउने वित्तिकै वहाँ अत्यन्तै प्रसन्न भएर मेरो नाम लिदै छक्क परेर मलाई खुव नियालेर हेर्नुभयो । एकछिन सन्च–विसन्च र यताउताका कुरा भए तर मेरो उद्देश्य त्यसदिनको घटनामा जानु थियो । मलाई त्यो विषय उठान गर्न अत्यन्तै असहज भैरहेको थियो किनकी विषयनै त्यस्तै अलि असहजवाला थियो, कतै कोचसर फेरी रिसाउनु हुने होकि भन्ने डर पनि मनमनमा लागिरहेको थियो । 
पुरानो घटनाका कारण मेरो मनमा फेरी रिसाउनु होलाकि भन्ने चिसो पसेको भएपनि अहिले वहाँलाई देख्दा वहाँ विलकुल फरक, भलाद्मी , सौम्य, शान्त र निकै भलो आद्मी जस्तो देखिनु भएको थियो । विषय उठान कसरी गर्ने होला भन्ने सोच्दै गर्दा मनमा उउटा सोच आयो, संवादको शुरुआत तथा विषय उठान केवल शव्दले मात्र गर्दैन, मैले झोलामा भएको मेरो सामसुंग मोबाइल झिकें र हातमा लिएर चलाएको अभिनय गरें । मेरो मोबाइलको लक स्कृन इमेजमा जहिले पनि युगऋषि श्रद्धेय ओशो रजनीशको तस्वीर हुन्छ र होम स्कृनको इमेजमा कहिले भगवान शिवको तस्वीर, कहिले वहाँले संसारलाई प्रदान गर्नुभएको महाविद्या मनुष्यका शरीरका सात चक्रको तस्वीर हुनेगर्छ । मैले मोबाइल हातमा खेलाएं, घरि याप्स चलाएजस्तो गरें, भरि लक स्कृनमा अडिएं, घरि होम स्कृनमा अडिएं । मेरो योजना सफल भयो, कोचसरले मेरा गतिविधि याद गर्नुभयो र सोध्नुभयो,
“तपाई ओशो रजनीशको फलोअर हुनुहुन्छ, समिता ?”
“... हजूर । ...तर म अहिलेसम्म कुनै ओशो आश्रम गएको चाहिं छैन । म वहाँका मूल्यवान सनातन दर्शनका विषयमा गरिएका प्रवचनहरु र प्रवचनहरु समेटिएका पुस्तक तथा आध्यात्मिक साहित्यको चाहिं दह्रो अनुयायी हुँ ।”
मैले शिर मात्र हल्लाएर हो भनें र तुरुन्तै आफ्नो वास्तविकता पनि बताएं कोचसरलाई । वहाँको मन, मस्तिष्क र हृदयमा विद्यालयको १३ विघा खेलमैदानमा भएको त्यसदिनको त्यो पूरानो स्मृतिको उकुशमुकुश अझै ताजा रहेछ क्यारे या यो घडिमा वहाँको र मेरो चेतनाकोविचमा प्रत्यक्ष संवाद भयो पराभौतिक स्तरमा या बहाँले मेरो चेहराको भाव पढेर जान्नु भयो र वहाँ आफैंले त्यो घटनाले वहाँमा ल्याएको मुस्किल, उकुशमुकुश र त्यसपछि जीवनमा आएका परिवर्तनहरुको पोको खोल्ने जमर्को गर्नुभयो र भन्नुभयो,
“त्यतिबेला जातिवाद र वर्गविभेदको बीउ रोपिएको थियो त्यतिबेला मेरो जवान मानसपटलमा, म युवा थिएं, रगत तातो थियो, सहने क्षमता कम थियो, म कोही भन्दा कम छैन भन्ने अहंकारले वुद्धि र विवेकलाई आफ्नो नियन्त्रण लिएको थियो । घरको आर्थिक अवस्था कमजोर भएको र कमाउने व्यक्ति म मात्र भएकोले विद्यालयमा फुटबल कोचको जागीर छोडेको केही दिनपछि घरबाट दवाव आउन थाल्यो, बल्लबल्ल पाएको जागीर छोडेकोमा कोही पनि सन्तुष्ट हुनुहुन्नथ्यो मसंग । माफी मागेर फेरी शुरु गर भनेर जोड गरिरहनु भएको थियो सबैले तर म माफी माग्ने कुरामा आउनै सकिन किनकी एक त म के कम भन्ने अहम थियो मनमा र अर्को कुरा त्यसदिन मलाई अरु कसैले केही भनेकै थिएन । मैले गरेको काममा कुनै कमीकमजोरी पनि थिएन, म पनि खुशी थिएं, विद्यालय टिम पनि खुशी थियो । विद्यार्थी बच्चाहरु तिमीहरुसंग खुव लगाव पनि भैरहेको थियो मलाई, तिमी खुव राम्रो फुटबल खेल्थ्यौ, म खुशी थिएं र सबै मसंग खुशी थिए । पछि मलाई अत्यन्तै ग्लानी भयो बिनाकारण मैले आफ्नै जातिवादको दम्ब र आफ्नो मनको अनावश्यक अहंकारले त्यति राम्रो जागीर छोडें भनेर । मेरो बारेमा विद्यार्थीहरुसंग के भनियो होला भन्ने कुराले झन पिरोल्यो मलाई, तिमीहरुले के भन्ठान्यौ होला, मेरोबारेमा के बुझाइयो र के बुझ्यौ होला तिमीहरुले... । मन अशान्त थियो, अर्को जागीर खोजिरहेको थिएं, घरबाट पुरानै काममा जान बारबार दबाव आइरहेको थियो तर मैले त्यो हिम्मत गर्न सकिन । जवजव जाउँकि भनेर सोच्थें तवतव अहंकार अगाडि आइरह्यो, विद्यालयले बोलायो भने चाहिं जान्छु भन्ने लाग्यो तर विद्यालयले मलाई बोलाएन, केहीसमयपछि नयाँ कोच राख्यो र यसो हुनु स्वभाविक कुरा थियो । त्यसपछि घरको दवाब, बेरोजगारी र आफूभित्रको अन्तरद्वन्दको शिकार हुदै गएं म । शुरुमा निद्रा लाग्न छोड्यो, त्यसपछि पेट खराव हुन थाल्यो, भोक लाग्न छाड्यो, खाएको पच्न छोड्यो, माइग्रेन भयो, मैले थाहानै नपाइ म त डिप्रेसनमा गैसकेछु, घरपरिवारले याद गरिरहेका रहेछन् ममा आएको परिवर्तनहरु । म डाक्टरकहाँ गएं निद्रा लाग्ने, भोक लाग्ने औषधी, मानसिक अशान्ति कम गर्ने मस्तिकको स्नायु प्रणालीका नशाहरु लट्याउने औषधी लिन शुरु गरें, छ महिना लिएं, विस्तारै सामान्य भएं र आफ्नो दैनिकीमा फर्किएं । मलाई त्यतिबेलानै थाहाभयो अहंकारले मनुष्यलाई सिध्याउने रहेछ, अहंकार जागाउन समाजले कुनै कसर बाँकी राख्दैन रहेछ र समाजले नै दिएको अहंकारबाट पिडित भैरहदा समाजले पिडामाथि झनझन पिडा थप्दो रहेछ । तव मैले बुझेंकि आफ्नो जीवनका महत्वपूर्ण निर्णयहरु आफ्नै वुद्धि, विवेक, आफ्नो खुशी, आफ्नो अन्तरआत्माको आवाज र आफ्नो तत्कालको वास्तविकतामा आधारित भएर आफैंले गर्नुपर्ने रहेछ अरुका कुरा नसुनिकन । एक पटक गल्ती भयो अव यो गल्ती फेरी दोहोर्याउदिन भनेर म आफ्नो किसिमले शान्तिपूर्ण जीवनका आयामहरुमा तयार गरिएका सन्दर्भ सामग्रीहरु खोजेर पढ्न थालें ।” 
यो विषयलाई टक्क यहीं रोकेर वहाँले प्रसन्न मुद्रामा मेरो चेहरामा हेरेर मलाई आग्रह गर्नुभयो,  
“अनि, तपाईंको बारेमा सुनाउनुस् सुमिता । कहाँ छ बसाइ, के गर्दै हुनुहुन्छ, अरु साथीहरु कहाँ छन्, केके गर्दैछन्... ?”
“सर, हजूर मेरो गुरु हुनुहुन्छ र म हजूरको विद्यार्थी हुँ, मलाई तिमी भन्नुहोस्, म तिमी शव्दमा गुरुको मप्रतिको सदभाव, स्नेह र सम्मान महसुस गर्छु ।”
जीवनका उकाली ओरालीहरुमा ६० वसन्त काटेको चम्किलो चेहरामा मिठो मुस्कान भर्दै सन्तोषको लामो श्वास भित्र तानेर वहाँले फेरी दोहोर्याएर भन्नुभयो, 
“तिमी फुटबल निकै राम्रो खेल्थ्यौ, सुमिता... ।” 
“त्यो सबै हजूरको मेहनेत थियो सर... ।” 
“मैले तिम्रा भावहरुमा ओशोको दर्शन झल्किरहेको पाएं सुमिता । म पनि सुन्छु, पढ्छु ओशोका आध्यात्मिक साहित्यहरु । तर मैले धेरैपछि वहाँलाई पढ्न र शुन्न थालेको हुँ । शुरुशुरुमा वहाँको विरुद्धमा कुरा सुनें मैले अस्लिल गुरु हुन रे भनेर र त्यस्तो कुरा किन सुन्नु, किन पढ्नु भन्ने लाग्यो र अवसर मिलेपनि वहाँका विषयहरु  पढिन, सुनिन मैले । तर पछि वहाँको लोकप्रियता बढ्दै गएको, आफ्नै वरपरका समाजका प्रतिष्ठित व्यक्तित्वहरुले वहाँका आश्रमहरुमा गएर ओशो सन्यास लिएको देखेपछि ममा उत्सुकता जाग्यो, ओशोमा केही अलग विशेषता नभइकन समाजका प्रतिष्ठित व्यक्तित्वहरुले यसरी वहाँको नाममा सन्यास लिएर वहाँको माला गलामा किन लगाए होलान र । तव वहाँकाबारे जुन विषयले मेरो मन भड्काएको थियो र वहाँको वहाँको नाम नराम्रो भावमा उछालिएको थियो सर्वप्रथम मैले त्यही आध्यात्मिक साहित्य पढें ‘सम्भोगदेखि समाधिसम्म’ । तव मेरो आँखा खुल्यो र त्यतिबेला बल्ल बुझें मैले कि मेरो आँखामा बाँधिएको वहाँको विरुद्ध बाँधिएको पट्टि र मन ढाकिएको कालो वादल सबै अफवाह र भ्रम रहेछ । त्यसयता मैले वहाँका आध्यात्मिक साहित्यहरु खोजीखोजी सुन्न र पढ्न थालें । सबै उस्कृष्ट र व्यवहारिक लागे तर ती उस्कृष्ट र व्यवहारिकहरु मध्यपनि वहाँले ‘अहंकार र वास्तविक जीवन’ को सन्दर्भमा दिनुभएको प्रस्तुति अत्यन्तै उस्कृष्ट र सबैकालाति उत्तिकै व्यवहारिक लाग्यो । त्यसले मेरो सोच र जीवन परिवर्तन गरायो र म मेरो विगतको अहंकारप्रति झनझन आफैंसंग लज्जित हुदै गएं, म मा एकप्रकारको ग्लानी बसिरहेको थियो मैले १३ बिघा खेलमैदानमा तिमीहरु सानासाना विद्यार्थी बच्चाहरुसंग गरेको असहज व्यवहारप्रति त्यसैले तिमीले आफूलाई म फलानो हुँ भनेर चिनाउने वित्तिकै मेरो मानसपटलमा त्यही घटना तरंगीत भयो त्यसैले म आफैंले तिमीलाई सुनाएं मेरो तत्कालीन अवस्था, अव म हलुका भएं...!”
कोचसरको मुस्कानमा आधा खुशी आधा ग्लानीका तरंगहरुको आभवा स्पष्ट देख्न सकिन्थ्यो । 
हामीसंग गन्तव्यमा पुग्न अझै डेढ घण्टा समय बाँकी थियो, मैले सरलाई श्रद्धेय ओशोको उस्कृष्ट र व्यवहारिक मध्यपनि उस्कृष्ट र सबैकालागि उत्तिकै व्यवहारिक लागेको ‘अहंकार र वास्तविक जीवन’ को सार सुनाउन र पुनः गुरुको चेली हुने अवसर प्रदान गर्नुहुन विनम्र आग्रह गरें । वहाँले प्रसन्न मुद्रामा मेरो आग्रह स्वीकार गर्नुभयो र भन्नुभयो, 
“...तर तिमीलाई थाहा छ होला नि यो बारेमा सबै किनकी तिमी म भन्दा अझ गहन अनुयायी रहेछौ ओशो रजनीसका साहित्यहरुको... ।” 
तत् पश्चात मैले वहाँलाई विनम्र विन्ति गरें म हजूरकै शव्द र भावहरुमा सुन्न चाहान्छु, तव वहाँले ‘अहंकार र वास्तविक जीवन’ विषयमा आफ्नो हगन प्रवनच पस्किन लाग्नु भयो,
“मैले आशो रजनीश लगायत परमहंश योगानन्दका र अरु आध्यात्मिक गुरुहरुका आध्यात्मिक साहित्यहरु पनि पढेको छु र विभिन्न आश्रमहरुमा गएर ध्यान साधना पनि गरेको छु त्यसैले अहंकार र वास्तविक जीवनको सारमा सबै गुरुहरुको भाव तथा ज्ञान मिसिएर आउनसक्छ ।”
मैले शिर हल्लाएर सहमति जनाएं र व्यागबाट डायरी र कलम झिकेर फेरी उही गुरु–चेलीकै पूरानो अवस्थामा पुगेको भावमा मग्न भएं जुनबेला सरले हामीलाई फुटबल खेल्दाका नियम र विशेष परिस्थितिहरुमा आफूले लगाउने ट्रिक तथा आफूले देखाउने विशेष कलाका टिप्सहरु सिकाउनु हुन्थ्यो र हामी रिठ्ठो नबिराई कपिमा नोट गर्थेयौं वहाँका सबै टिप्सहरु र खेलमैदानमा उतार्ने प्रयास गथ्र्यौं । मलाई यो अविस्मरणिय पलको स्मृति र कोचसरको आवाज मोबाइलमा अडियो रेकर्ड गर्ने विचार भयो, सरसंग अनुमति लिएं, वहाँले मौन स्वीकृति दिनुभयो । केही क्षणपछि मैले सरको चेहरामा हेरेर रेकर्डिंगको तयारी पूरा भएको संकेत दिएं, सर बोल्न प्रारम्भ गर्नुभयो, 
“विद्यालयको फुटबल कोचको जागीर छोडेपछि डिप्रेसनमा गुज्रिरहेका र विभिन्न स्वास्थ्य समस्याका औषधीहरु खाइरहेको समयमा मेरा केही शुभचिन्तकहरुले मलाई केही आध्यात्मिक पुस्तकहरु उपलव्ध गराउनु भयो । म ती सामग्रीहरु पढ्दै गएं र पछिपछि आफैं ती पुस्तकहरुमा जिकिर गरिएका विविध विषयका अन्य आध्यात्मिक सन्दर्भ सामग्रीहरु आफैंले खोजेर संकलन गर्न र पढ्न थालें । जव मैले अहंकार, वास्तविक जीवन, मनुष्यका वाहिरी तथा आन्तरिक सुख, खुशी, शान्ति, आनन्दको बारेमा बुझ्दै गएं र यी सैद्धान्तिक ज्ञानहरुसंगै योग र ध्यानका व्यवहारिक अनुभवहरु हासिल गर्दै गएं तव म त्यो व्यक्ति रहिन जो कुनै बेला अत्यन्तै अहंकारी र उदण्ड स्वभावको थियो । विस्तारै मलाई थाहा भयो, त्यो म थिइन, मेरो अहंकार, अहम, दम्व, अभिमान थियो । आध्यात्मिक साहित्यहरुको अध्ययन र साधु, सन्त, गुरुहरुसंगको सतसंगबाट मैले राम्ररी बुझें कि मेरो वास्तविक जीवन अर्थात ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना कुनै विराट विषय रहेछ, मेरो साँघुरो बुझाइ भन्दा निकै परको विषय रहेछ । अहंकार र वास्तविक जीवनको कुनै आन्तरिक सम्वन्ध नै रहेनछ र यी दुवै विलकुल अलग विषय रहेछन् । जव मैले वास्तविक जीवन त अरुनै केही प्राकृतिक रुपमा सुखी, खुशी, शान्त, आनन्दित, प्रेमल आत्मा अर्थात चेतना रहेछ भनेर जानें तव मैले फुटबल कोचिगंको साथसाथ विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई र सामुदायिक भेलाहरुमा समुदायका व्यक्तिहरुलाई अहंकारको पक्ष र विपक्ष तथा अहंकार र वास्तविक जीवन अर्थात सानो ‘म’ र ठूलो ‘म’ को गहिराइ र भिन्नता बुझाउन थालें र अझै पनि यो काम गरिरहेको छु बडो उत्साहकासाथ । मलाई यस प्रकारको अध्यात्म स्वजागणको कामले अत्यन्तै आनन्द दिन्छ, त्यसैले मैले अध्यात्मको सेवा र सर्बकल्याणको काम गरे वापत पारिश्रमिक पनि लिनेगरेको छैन, यसै तृप्ति भैरहेको छ मलाई ।”
कोचसरले अहंकारको पक्ष र विपक्ष भन्नु हुदा ममा थोरै विश्मय छायो तर भित्रबाट मनले तुरुन्तै भन्यो तेरो सर हो, चुपचाप केही प्रतिप्रश्न नगरि वहाँका कुरा सुन र सबै नोट गरेर बस । मैले मेरो मनले भनेको कुरा मानें, त्यसमाथि रेकर्ड पनि चलिरहेको हुनाले म केही पनि बोलिन तर सरले मेरो चेहराको भाव पढ्नु भयो, बुझ्नु भयो र मेरो प्रशंशा गर्दै अहंकारको पक्ष र विपक्षबाट आफ्नो प्रवचन प्रारम्भ गर्नुभयो,  
“तिम्रो उत्सुकता अझै पनि उस्तै रहेछ र चेहरामा आफ्नो उत्सुकताको भाव छर्ने तौरतरिका पनि त्यस्तै नै रहेछ, सुमिता । मैले बुझें, ‘अहंकारको पक्ष’ भन्दा तिम्रो चेहरामा यसबारे जान्ने उत्सुकता छायो, अंकारको पनि कहिं पक्ष हुन्छ र भन्ने लाग्यो तिमीलाई सायद । अहंकारको पक्ष हुन्छ, ल सुन र नोट गर्ने भएपनि गर तर सुने मात्र राम्रो सबै रेकर्डमा आइहाल्छ ।
एक दृष्टिकोणबाट मलाई लाग्छ ‘अहंकार’ अन्यायमा परेको शव्द तथा विषय हो, यसको सहि परिभाषा, विश्लेषण र सकारात्मक तथा नकारात्मक पाटो हरकोहीलाई राम्ररी बुझाउनु पर्दछ किनकी सहज, सरल र सफल सांसारिक जीवन जीउनकालागि अहंकार अनिवार्य छ । 
श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, “मनुष्य योनी कर्म योनी हो, कर्मबिना मनुष्यको जीवन सम्भव छैन किनकी प्रकृतिले शरीर, मन, भावना दिएर मनुष्यलाई यस धर्तीमा पठाएको छ । शरीर, मन, भावनाका आ–आफ्नै प्रकारका अनिवार्य आवश्यकताहरु हुन्छन् । ती आवश्यकताहरु पूरा गर्नकालागि हरेक मनुष्यले कर्म गर्नु अत्यावश्यक छ र कर्म गर्नकालागि हरेक मनुष्यमा ‘सकारात्मक अहंकार’ अर्थात ‘इख’ को अनुभव हुनु जरुरी हुन्छ ।” 
अध्यात्म विज्ञान र आधूनिक विज्ञान दुवैले मान्दछन् कि मनुष्यको शरीर, मन, भावनाका हरेक गतिविधिहरु सबै कर्म हुन् । कर्म स्वचालित र संचालित दुुईप्रकारका हुन्छन् । प्राकृतिक रुपमा निरन्तर चलिरहने क्रियाहरु जस्तो श्वास फेर्नु, मुटु चल्नु, रक्तसंचार हुनु, आँखा झिम्क्याउनु आदि स्वचालित कर्म अन्तर्गत पर्दछन् र स्वचालित कर्ममा सामान्य मनुष्यको कुनैप्रकारको नियन्त्रण तथा व्यवस्थापन हुन सक्दैन । वाहिरका कर्महरु कामकाज, पेशा, व्यवसाय, अध्ययन, दान, पुण्य, दया, करुणा, सेवा, श्रद्धा, भक्ति आदि संचालित कर्म अन्तर्गत पर्दछन्् र संचालित कर्ममा मनुष्यको प्रत्यक्ष तथा अप्रत्यक्ष नियन्त्रण तथा व्यवस्थापन रहेको हुन्छ । सबै संचालित कर्महरु मनुष्यले आफूले चाहना गरे अनुसारले गर्न तथा नगर्न सक्छ र उसका सबै इच्छा, चाहनाहरु अहंकार तथा इखका कारण संचालित हुने गर्दछन् । हामीले जनबोलिमा बोलिदै आएको उखान सुन्दै आएका छौं कि ‘इख नभएको मनुष्य र विष नभएको सर्पको केहीपनि काम छैन ।’ यो भनाई सत्य हो किनकी इख नभइकन मनुष्यले कुनै कर्म नै गर्दैन र जीवनमा सम्भावित र इच्छित प्रगति नै गर्न सक्दैन । साना ठूला सबैप्रकारका कर्महरु गर्ने तथा गराउने, म पनि गर्छु, गर्न सक्छु, गरेर देखाउछु भन्ने उत्साह, हिम्मत तथा प्रेरणाको श्रोत मनुष्यको मनमा लाग्ने इख नै हो र यही इख अहंकार हो । यसकारण अहंकार बिना मनुष्यको सांसारिक जीवन सम्भव नै छैन तर कुन तथा कस्तो अहंकार भन्ने चाहिं चिन्तन, मनन् तथा विश्लेषणको विषय हो । अहंकारका दुईवटा आयामहरु रहेका छन्ः सकारात्मक अहंकार तथा ‘इख’ र नकारात्मक अहंकार तथा ‘अभिमान’, ‘अहम’, ‘घमण्ड’  । 
सकारात्मक अहंकार तथा इखमा मनुष्यले महर्षि वेदव्यासको महावाक्य ‘परोपकार पुण्याय पापाय परपिडनम’ को भावसंग एकाकार भएर सकेसम्म कसैलाई कुनै प्रकारको दुःख, पिडा, हानि नपुग्नेगरि कर्म गरेर अरुलाई सुविधा प्रदान गर्ने प्रयास गर्दछ तर उसले गर्ने कर्मको पछाडि उक्त सुविधा प्रदान गरेवापत आफूले पनि केही प्राप्त गर्ने निश्चित उद्देश्य, अपेक्षा तथा स्वार्थको भाव जोडिएको हुन्छ । यस्ता कर्महरुले अरुको र आफ्नो पनि भलाई हुन्छ र सुविधा प्रदान गर्ने व्यक्तिलाई वाहिरी सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दको अनुभव तथा अनुभुति हुन्छ । तर यस्ता वाहिरी अनुभव तथा अनुभुतिहरु क्षणिक हुन्छन्, वाहिरका परिस्थितिहरुबाट प्रभावित हुन्छन्, विस्तारै हराउदै जान्छन् र मनुष्य अर्को प्रकारको कर्म तथा सुविधा प्रदान गरेर फेरी यस्ता अनुभव तथा अनुभूतिहरु प्राप्त गर्ने आकांक्षामा अरु प्रकारका कर्म तथा सेवाहरु गर्ने प्रयासमा लाग्छ ।
अहंकार मुक्त तथा इख शुन्य भावले पनि अरुलाई सुविधा तथा सेवा पुर्याउने कर्म गर्ने गरिन्छ, यस्तो कर्म निस्काम भावले ओतप्रोत हुन्छ र यसप्रकारको कर्मललाई नै वास्तविक सेवा भनिन्छ । अरुकालागि निस्काम भावले प्रदान गरेको सुविधा तथा सेवा गरेवापत सेवा प्रदायकको भावमा केही प्राप्त गर्ने उद्देश्य तथा कामना हुदैन । वास्तविक अर्थमा निस्काम भावले गरिने सेवा नै विस्तारै भक्ति बन्दछ र यसले सेवादायि र सेवाग्राही दुवैलाई अवर्णणीय असीम खुशी, शान्ति, आनन्दको अनुभूति हुन्छ । वास्ताविक सेवा तथा भक्तिमा मनुष्यले आफूलाई अकर्ता भावमा राखेर र परमात्मालाई कर्ता भावमा राखेर निस्काम कर्म गर्दछ र आफूलाई परमात्माको निमित्त मात्र ठान्दछ । यसप्रकारको सेवा तथा भक्तिबाट मनुष्यलाई आन्तरिक सुख, खुशी, सफलता, शान्ति, आनन्दको परम अवस्था अनुभव तथा अनुभुति हुन्छ । आन्तरिक परम अवस्थाका अनुभव तथा अनुभुतिहरु दिगो हुन्छन्, वाहिरका कुनैपनि कारणहरुले कुनैप्रकारको नकारात्मक प्रभाव पार्न नसक्ने हुनाले यस्ता परम अवस्थाहरु कहिल्यै ननासिने अविनासी हुन्छन् । अध्यात्म साधनाको निश्चित तहमा पुगेका साधकहरुमा मात्र वास्तविक सेवा तथा भक्तिको भाव आउछ । यस्तो साधक सांसाररिक जीवन जीउछ, आफ्ना सबैप्रकारका उत्तरदायित्वहरु निर्वाह गर्छ, कर्म गर्छ तर आफू सदा अकर्ता भावमा रहेर परमात्माको निमित्त भएर आफ्नो शन्ति तथा आनन्दका र अरुको कल्याणको लागि कर्म गर्दछ । 
यसकारण म सकारात्मक अहंकारको पक्षमा छु किनकी अहंकार संधै नराम्रो हुदैन । सकारात्मक अहंकारले हरेक मनुष्यलाई कर्म गर्न प्रेरित गर्दछ र मनुष्यले क्षणिक तथा वाहिरीनै भएपनि आफ्नो जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दको महसुस तथा अनुभव गर्दछ जुन उसको सहज, सरल, सफल र व्यवस्थित जीवनका लागि अत्यावश्यक हुन्छ । मनुष्यले तरिका जानेर अहंकारको सहि ढंगले सदुपयोग गर्नसक्यो भने यसले मनुष्यलाई आकासमाथि उठाइदिन पनि सक्छ तर सहि ढंगले सदुपयोग गर्न जानेन भने यसले मनुष्यलाई जमिनमूनि धसाइदिन पनि सक्छ । अहंकारको उचित प्रकारले सदुपयोग गर्दा मनुष्यले सांसारिक जीवनका दुःख, पिडा, निराशा, असन्तुष्टी, तनाव, चिन्ता आदिबाट मुक्ति पाउन सक्छ । हरेक मनुष्यले आफ्नो जीवनमा खोजेको पनि यही नै हो सुख प्राप्ति र दुःखबाट निवृत्ति । यसरी सांसारिक जीवनका उतार–चढावहरुबाट मुक्ति अनुभव गरेर सुखी, खुशी, शान्त, आनन्दित भएको व्यक्ति सर्बकल्याणका लागि सेवा प्रदान गर्ने कर्महरुतिर आकर्षित र अग्रसार हुदै जान्छ र वास्तविक सेवा तथा भक्तिभावका कर्मले उ पारमार्थिक जीवनमा मोक्ष प्राप्त गर्ने मार्गतर्फ उन्मुख हुन्छ । 
हरेक मनुष्यमा अहंकार हुन्छ, ज्ञानीहरु अहंकारको सदुपयोग गर्छन् । उनीहरुले अहंकार मुस्किल विषय होइन, यसलाई आफ्नो अनुकुल सदुपयोग गर्नुपर्छ भन्ने बुझेका हुन्छन् र अहंकारलाई सकारात्मक मोड दिएर इख तथा करुणावस आफ्नो जीवन उर्जालाई सेवा, परोपकार, दान, पुण्य, भक्ति आदि सर्बकल्याणका कर्महरुको माध्यमबाट आफूमा अहंकार शुन्य बनाएर अध्यात्म साधनालाई निरन्तरता दिदै मोक्ष मार्गतर्फ उन्मुख हुन्छन् । तर अज्ञानीहरु अहंकारको सदुपयोग गर्न जान्दैनन् र जानेर, नजानेर दुरुपयोग गर्छन र अहंकार अर्थात म, मेरो मैले, मलाई अर्थात म–म–म–म भन्ने सानो ‘म’ को श्रृंखलाको दलदलमा फस्दै जान्छन् किनकी उनीहरुमा भएको अहंकारको ठूलो पर्खालले उनीहरुको अन्तरतममा रहेको आत्मा अर्थात ठूलो ‘म’ को प्रकार छेकिदिएको हुन्छ र उ अन्धकारमा जीवन जीरहेको हुन्छ । अन्धकारमा जीवन जीरहेको कारण उनीहरुले आफूभित्रको प्रकाश मात्र नभएर अरुभित्रको प्रकाश तथा अरुका सकारात्मक गुणहरु– स्नेह, मैत्री, मायाँ, प्रेम, दया, करुणा, श्रद्धा, सेवा, भक्ति भाव देख्न सक्दैनन् र संधै अरुलाई निकृष्ट र आफूलाई उत्कृष्ट ठान्दछन् । आफ्नो आत्माको प्रकाश छेक्ने अहंकारको पर्खाल खडा भएको कारण यस्ता मनुष्यहरुले पर्खाल वारीका म–म–म–म भन्ने सानो ‘म’ का श्रृंखलाहरु मात्र देख्दछन्, आफू स्वयं र अरुका पर्खाल पारी भएका सकारात्मक गुणहरु– स्नेह, मैत्री, मायाँ, प्रेम, दया, करुणा, श्रद्धा, सेवा, भक्ति भाव देख्न सक्दैनन् । आफ्नो आत्माको प्रकाश अगाडि खडा भएको यही अहंकारको पर्खालको कारण यस्ता मनुष्यहरु संधै आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमसत्यबाट बिमुख रहिरहन्छन् । यही नै हो अहंकारको विपक्ष तथा नकारात्मक पाटो । अहंकारको नकारात्मक पाटोलाई हरेक मनुष्यले अझ गहिरो गरि बुझ्नु र विश्लेषण गर्नु आवश्यक छ र हरकोहिले नकारात्मक अहंकार त्याग्नुपर्छ । नकारात्मक अहंकार छोडेर सकारात्मक अहंकार र निरअहंकारमा प्रवेश गर्दै सेवा तथा भक्तिभावमा चुर्लुम्म डुब्नुपर्छ तवमात्र मनुष्यको मोक्ष मार्गको यात्रा प्रारम्भ हुन सम्भव हुन्छ ।
सांसारिक जीवनमा मनुष्यले जतिपनि दुःख, पिडा तथा अपमानको अनुभव गर्छ ती सबै अहंकार अर्थात सानो ‘म’का श्रृंखलाहरु म–मेरो–मैले–मलाईका कारण हुने गर्दछ । यस्तो अहंकार अर्थात सानो ‘म’ले कहिले पहिचान खोज्छ र पाएन भने दुःखी हुन्छ तथा अपमानको पिडा वोध गर्दछ । कहिले मान–प्रतिष्ठा खोज्छ र पाएन भने दुःखी हुन्छ तथा अपमानको पिडा वोध गर्दछ । कहिले कसैले मलाई अस्वीकार गर्लाकी भनेर डराउछ र अरुबाट चाहेको कुरा पाएन भने दुःखी हुन्छ तथा अपमानको पिडा वोध गर्दछ । यही सानो ‘म’ अर्थात अहंकार कसैले प्रशंशा गर्यो भने दंग पर्छ तथा मातिन्छ र कसैले आलोचना गर्यो भने दुःखी हुन्छ तथा आतिन्छ । यसप्रकारका विशेषताहरु ममा अत्यन्तै धेरै रहेछ त्यसबेला तर योग, ध्यान तथा अध्यात्म साधनाबाट आफ्नो अहंकार न्यून गरेपछि अव म सामान्य र फरक व्यक्ति भएको छु, सुमिता ।
नकारात्मक अहंकार अहम, अभिमान तथा घमण्ड हो यसले अरुको र व्यक्ति स्वयंकै पनि हानि गर्दछ किनकी नकारात्मक अहंकारमा अरु भन्दा आफू ठूलो हुँ, जान्ने हुँ, राम्रो हुँ, राम्रो काम जति सबै आफूले गरेको हुँ र नराम्रो काम जति सबै अरुले गरेका हुन्, कामको जस, मान–प्रतिष्ठा, सुविधा मैलेनै पाउनु पर्छ, अपजस जति अरुले पाउनुपर्छ भन्ने निकृष्ट तथा निच भावको सोचको तोरा अत्यन्तै धेरै हावी भएको हुन्छ । तर आम मनुष्यहरुले सहजै छुट्याउन सक्ने गरि सकारात्मक अहंकार र यी नकारात्मक अहंकार छुटेयाउने स्पष्ट सीमारेखा भने छैन । यसकारण कहिलेकाहीं सोच्दै नसोचिएको व्यक्ति उदाहरणको लागि सन्त, योगी, गुरु, सदगुरुहरुमा पनि नकारात्मक अहंकार तथा अभिमानको तोरा अत्यधिक पाउन सकिन्छ भने कहिलेकाहीं कोही असल तथा राम्रो होला भनेर अपेक्षा नै नगरिएको व्यक्तिमा सकारात्मक अहंकारको तोरा राम्रो तथा उच्चतम पाउन सकिन्छ । अहंकार दृश्य वस्तु होइन, यो मनुष्यको सोच, विचार, मन, भावनामा सुक्ष्म रुपले लुकेर बसेको हुन्छ र आवश्यकता अनुसार प्रकट हुन्छ । कहिलेकाहीं त आफू स्वयंलाई समेत थाहा हुदैन आफू र अरुले राम्रो, परोपकारी, सेवा, भक्ति भावले भरिएको भनिरहदा आफूमा नकारात्म अहंकार अर्थात अभिमान, अहम, घमण्ड, घृणा, द्वेश प्रकट भएको किनकी अहंकार अत्यन्तै चलाख र अति सुक्ष्म हुन्छ, यसले कुनबेला कसरी व्यक्तिलाई आफ्नो चपेटामा लिएर अभिमानी बनाएर अरु समक्ष लज्जित बनाइदिन्छ थाहानै हुदैन, जव यसको परिणाम आउछ तव मात्र व्यक्ति झस्किन्छ, ओहो, म पनि यस्तो अहंकारी, अभिमानी, घमण्डी रहेछु भनेर । 
अधिकांश मनुष्यहरु सांसारीक जीवन र पारमार्थिक दुवैप्रकारको जीवन एकसाथ जीरहेका हुन्छन्, यो अलक विषय हो कसैको सांसारिक जीवन पट्टि बढि झुकाव हुन्छ र कसैको पारमार्थिक जीवन पट्टि बढि झुकाव हुन्छ । अहंकार सांसारिक जीवनको प्रमुख ‘साधना’ हो किनकी अहंकार तथा इख बिना सांसारिक जीवनलाई अगाडि बढाउन तथा प्रगति हासिल गर्न सक्दैन तर अहंकार सकारात्मक भए मात्र साधना हो नभए जीवनको प्रमुख बाधा नै यही बनिदिन्छ । पारमार्थिक जीवनमा अगाडि बढ्न तथा प्रगति गर्नकालागि सकारात्मक र नकारात्मक दुवै प्रकारका अहंकार बाधा हुन् । विशेष गरिकन नकारात्मक अहंकार तथा अभिमान प्रमुख बाधा हो किनकी अध्यात्म साधनाको प्रमुख उद्देश्य मनुष्यको आत्मा र परमात्माको विचमा रहेको अहंकारको पर्खाल हटाएर तथा मनुष्यलाई अहंकारबाट मुक्त गराएर प्रेम, सेवा, भक्ति, ध्यानको मार्गमा लगाउनु हो तर मनुष्यको नकारात्मक अहंकार तथा अभिमानको पर्खाल तोड्न अत्यन्तै मुस्किल हुन्छ । अहंकारका आयाम जस्तै प्रकारहरु पनि रहेकाछन्– व्यक्तिगत अहंकार, पारिवारीक अहंकार, सामाजिक अहंकार, सांस्कृतिक अहंकार, धार्मिक अहंकार, आध्यात्मिक अहंकार । यी सबै प्रकारका अहंकारको आफ्नै हानि, नोक्सानीहरु हुन्छन् जसले व्यक्ति स्वयंलाई सबैभन्दा बढि नकारात्मक प्रभाव पार्दछन् र साथसाथ परिवार, समाज, संस्कृति, धर्म, अध्यात्म सबै क्षेत्रमा हदैसम्मको नकारात्मक प्रभाव पार्दछन् ।
यी मध्य सबैभन्दा बढि खतरनाक आध्यात्मिक तथा धार्मिक अहंकारलाई मानिएको छ किनकी यसले मनुष्यको सांसारिक र पारमार्थिक दुवै जीवनका वाहिय तथा आन्तरिक सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दमा नकारात्मक प्रभाव पार्दछ । म ध्यान साधक हुँ, मैले यस्तो अनुभव तथा अनुभूति गरें, म अरु भन्दा आध्यात्मिक तथा धार्मिक छु, मेरो धर्म सबैभन्दा उत्कृष्ट हो, मेरो गुरु सबैभन्दा ज्ञानी हो जस्ता अभिमान प्रकट गर्ने आध्यात्मिक तथा धार्मिक अहंकार बिनासकारी हुन्छ सांसारिक अर्थात व्यक्तिगत, पारिवारिक, सामाजिक अहंकारको तुलनामा किनकी सांसारिक अहंकार मोटो हुन्छ, यो व्यक्तिको सोच, विचार, भाव, शव्द, व्यवहार, आचरण, हाउभाउमा व्यक्त हुन्छ, यसलाई सजिलै जान्न तथा अनुभव गर्न सकिन्छ र समाधान तथा व्यवस्थापनकोे उपाय अपनाउन सकिन्छ आफू स्वयं र अरुको सल्लाह सुझाव अनुसार तर आध्यात्मिक तथा धार्मिक अहंकार देखिदैन, यो अत्यन्तै पातलो तथा सुक्ष्म स्वरुपको हुन्छ । आध्यात्मिक तथा धार्मिक अहंकार अदृश्य, अत्यन्तै सुक्ष्म तथा पातलो स्वरुपमा प्रेम, सेवा, परोपकार, दान, पुण्य, दया, करुणा, आस्था, सर्बकल्याणका अभियानहरुमा लुकेर बसेको हुन्छ । यसले सबैभन्दा पहिला व्यक्ति स्वयंलाई हानि गर्दछ नजानिदो रुपमा र यसले खासगरि मनुष्यको जीवनको आन्तरिक विकास तथा पारमार्थिक विकासको मार्गमा अवराध खडा गर्दछ । त्यसपछि यसको नकारात्मक प्रभाव तथा खराव तरंग विस्तारै अरुतिर परिवार, समाज, राज्य, प्रकृति, ब्रम्हाण्डमा फैलिदै तथा विस्तार हुदै जान्छ । यसकारण हरकोही मनुष्यले अहंकारका आयाम, प्रकार, प्रभाव तथा तोराको बारेमा राम्ररी जानेर, बुझेर, विश्लेषण गरेर यसको न्यूनिकारण, सन्तुलिकरण तथा व्यवस्थापनमा विशेष ध्यान पुर्याउनु पर्दछ किनकी अध्यात्म तथा धर्म र अहंकार एकआपसमा विपरित ध्रुव हुन्, कुनै एकको उपस्थितिमा एकअर्कोसंग एकसाथ रहनै सक्दैनन् । मनुष्यको जीवनमा अहंकार यतिसम्म खतरनाक हो कि यसको अन्तिम विन्दु तथा गन्तव्य पागलपन तथा आत्महत्या हो तर अध्यात्म तथा धर्मको अन्तिम विन्दु तथा गन्तव्य आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमसत्यमा स्थित हुनु हो । अहंकारको नकारात्मक पाटोको बारेमा जति बोले पनि यसको विषय कहिल्यै सकिदैन, तिमीले मेरो कुराहरुलाई कसरी ग्रहण गरिरहेकी छौ मलाई थाहा छैन, सुमिता तर मेरो उद्देश्य आम मनुष्यहरुलाई अहंकारको विकाराल स्वरुप देखाएर तर्साउनु होइन बरु यसको नकारात्मक पाटो बुझेर आफू सतर्क होउन र अरुलाई पनि सतर्क रहन ज्ञान प्रदान गरुन भन्ने हो, तसर्थ म यहाँ अहंकारबाट मुक्तिको उपायबारे पनि बताउछु । 
अति उपभोक्ततावाद र प्रतिस्पर्धात्मक जीवनशैलीको जगजगी रहेको वर्तमान समयका मनुष्यहरुको सबैभन्दा ठूलो समस्या नै उनीहरुको अहंकार बन्दै आइरहेको छ । अधिकांश मनुष्यहरु खासगरि नकारात्मक अहंकार तथा अनावश्यक अभिमान, अहम, घमण्डका कारण अनेक प्रकारका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अस्वस्थता तथा असन्तुलनताहरुबाट पिडित भैरहेका छन् । तसर्थ अस्वस्थता तथा असन्तुलनताहरुबाट आफूले छुटकारा पाउनु र अरुलाई छुटकारा दिलाउने प्रयास गर्नु अत्यावश्यक छ । अहंकारबाट छुटकारा पाउनकालागि सर्वप्रथम त मानसिक तथा भावनात्मक प्रयासनै गर्नु पर्दछ सबैले । यसकालागि अहंकारका श्रृंखलाहरु म–मेरो–मैले–मलाई भन्ने अभिमान, अहम तथा घमण्डका भावहरुलाई त्यागेर प्रेमका श्रृंखलाहरु स्नेह–मायाँ–मैत्री–दया–करुणा–सहयोग–सेवा–दान–पुण्य–परोपकार–सर्वकल्याण–प्रशंशा–कृतज्ञता–क्षमा–श्रद्धा–भक्तिका भावहरु आफूमा भर्ने प्रयास गर्नु पर्दछ । अहंकारलाई त्याग्नुपर्छ तर मानसिक तथा भावनात्मक प्रयासले मात्र अहंकार त्यागीदैन किनकी अहंकार शरीरमा धारण गरेको कुनै पहिरन तथा आभुषण होइन जो खोलेर फाल्छु तथा त्याग्छु भनेर त्यागीयोस । 
अहंकार मनुष्यको सोच, विचार, मन, भावनामा जन्म–जन्मदेखि जरा गाडेर बसेको हुन्छ उसको संचित, प्रारव्ध तथा क्रियमाण संस्कारको रुपमा र नजानिदो किसिमले यी पूराना संस्कारहरुले मनुष्यलाई नियन्त्रणमा लिरहेको हुन्छ जुन क्रमिक रुपमा मनुष्यको सोच, विचार, बोलि, व्यवहार, आचारण, सम्वन्धहरुमा प्रकट भएर वाहिर आउने गर्दछ । अहंकारको जरा गहिरो गाडिएको हुनेहुनाले यसलाई मानसिक तथा भावनात्मक अठोट तथा सैद्धान्तिक प्रवृत्तिले मात्र त्याग्न तथा यसबाट छुटकारा पाउन सकिदैन । मनुष्यको स्वाभाव अनुसार कहिलेकाहीं त मानसिक, भावनात्मक तथा सैद्धान्तिक प्रवृत्तिले अझ बढि अहंकारीतातिर लानसक्ने खतराको संभावना पनि हुन सक्छ । अहंकारबाट दिगो रुपमा छुटकारा पाउन र आफूमा रहेका अहंकारका श्रृंखलाहरुलाई त्यागेर प्रेमका श्रृंखलाहरुमा आफूलाई स्थापित गर्न प्रक्रियावद्ध रुपले निष्ठावान भएर अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका पुर्णतः वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुको व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यासहरुलाई अनुशरण गर्नु अत्यावश्यक हुन्छ । अत्यन्तै गहन तरिकाले वाहिर म यसो गर्दैछु भनेर हल्ला–खल्ला तथा देखावा नगरीकन विस्तारै आफूलाई मौनतामा ढालेर आफूतिर फर्किने प्रक्रिया प्रारम्भ गर्नु पर्दछ तवमात्र विस्तारै अहंकारको त्याग गर्न सफल हुन सकिन्छ । सनातन अध्यात्म विज्ञानमा यो प्रक्रियालाई आफूतिरको यात्रा, अन्तरयात्रा, आत्म अवलोकन तथा आत्म विश्लेषण साधना भनिन्छ । 
अन्तरयात्रा तथा आत्म अवलोकन साधना पद्धतिको प्रयोगात्मक अभ्यासको प्रक्रियामा जव मनुष्य स्थिर र एकचित्त भएर ध्यान साधनामा बस्छ तव एकएक गरि अंहारका श्रृंखलाहरु म–मेरो–मैले–मलाई आदिलाई सुक्ष्म रुपमा विश्लेषण गरिन्छ । म फलानो... हुँ, यो... मेरो हो, यो... मैले गरेको हो, मलाई यो... चाहिन्छ जस्ता अहंकारका परत तथा बोक्राहरु छोडाउन प्रारम्भ गरिन्छ प्याजका परत छोडाए जस्तैगरि । 
म को हुँ ? के म शरीर हुँ ? के म मन हुँ ? के भावना हुँ ? 
होइन, किनकी शरीर, मन, भावना त मेरा हुन् जो प्रकृति अर्थात पृथ्वी–जल–अग्नि–वायू–आकास पंचतत्वका समिश्रणबाट बनेका हुन् । म शरीर, मन, भावना हुँ भन्ने बुझ्नु तथा मान्नु भ्रम हो र यही भ्रम नै अहंकार हो किनकी हाम्रो ‘शरीर’ प्रकृतिबाट निर्मित भएको हुन्छ, ‘मन’ ज्ञान तथा कर्म इन्द्रियहरुद्वारा प्राप्त सूचनाहरुबाट निर्मित भएको हुन्छ, ‘भावना’ परिस्थिति अनुसार निर्मित भएका अनुभवहरुबाट निर्मित भएको हुन्छ । शरीर, मन, भावना अस्थिर हुन्छन् सानो ‘म’ हुन् र यी पलपल बदलिरहेका हुन्छन् तर त ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना हुँ जो कहिल्यै पनि बदलिन्न, संधै उही रहिरहन्छु र मेरो शरीर, मन, भावना निरन्तर बद्लिरहेका दृश्यहरु देखिरहेको तथा अनुभव गरिरहेको हुन्छु साक्षी भएर । 
त्यसोभए के म नाम हुँ ? के म पहिचान हुँ ? के म मान–प्रतिष्ठा हुँ ? 
होइन, किनकी नाम, पहिचान, मान–प्रतिष्ठा त अरुले वाहिरबाट दिएका हुन् जुन आज छ भोलि नरहन पनि सक्छ तर ‘म’ त संधै रहिरहन्छु र यी नाम, पहिचान, मान–प्रतिष्ठामा निरन्तर आइरहने गतिविधि तथा उतार–चढावहरु देखिरहेको तथा अनुभव गरिरहेको हुन्छु साक्षी भएर । 
मसंग जेजे वस्तु तथा सेवा, सुविधाहरु छन् के ती मेरा हुन् ? 
होइन, किनकी म त खालि हात आएको थिएं र खालि हातनै जान्छु, यी वस्तु तथा सेवाहरु म यो संसारमा आउनुअघि पनि यहीं थिए अर्कोको स्वामित्वमा र म गएपछि पनि यहीं रहनेछन् अर्कोको स्वामित्वमा मेरो स्वामित्व छुट्नेछ तर ‘म’ त संधै आफ्नो स्वामित्वमा रहिरहन्छु र यी वस्तु तथा सेवाहरुको स्वामित्वमा निरन्तर आइरहने बदलावका गतिविधि तथा उतारचढाउहरु देखिरहेको तथा अनुभव गरिरहेको हुन्छु साक्षी भएर ।
के मेरा कर्महरु मैले गरेका हुन् ? 
होइन, किनकी मेरो शरीर, मन, भावनाले गरेका हुन् जो पंचतत्वद्वारा निर्मित भएका हुन् । पंचतत्व प्रकृति अर्थात परमात्माबाट सृष्टि भएको हो मनुष्यले बनाएको होइन तसर्थ म लगायत सबै चिज, वस्तु तथा तिनका सेवा तथा सुविधाहरु परमात्मा प्रदत्त हुन् र जेजे भैरहेको छ यहाँ सबै प्रकृति अर्थात परमात्माद्वारा नै भैरहेको छ, हामीले केही पनि गरेका छैनौं, हामी निमित्त मात्र हौं, हामीद्वारा प्रकृति अर्थात परमात्माले सबै कर्महरु गरिरहेको छ ।
मलाई भन्ने भाव किन आउछ ? 
यो भाव पनि भ्रम तथा अहंकार हो किनकी जव म शरीर, मन, भावना, नाम, पहिचान, मान–प्रतिष्ठा केही होइन; यहाँ मेरो भन्ने केहीपनि छैन; मैले कुनै कर्म गरेको पनि होइन भने मलाई भन्ने भाव नै भ्रम हो । म, मेरो, मैले भन्ने नै छैन भने मलाई भन्ने सवाल नै आउदैन । मलाई चाहियो या चाहिएन भन्दैमा मेरो इच्छाले केहीपनि प्राप्त हुने तथा मबाट छुट्ने हुदैन किनकी मलाई कुन बेला के चाहिन्छ तथा के चाहिदैन भन्ने कुरा प्रकृति अर्थात परमात्माले नै निर्धारण गरिरहेको हुन्छ र समय र आवश्वकता अनुसार उसैले प्रदान गरिरहेको हुन्छ । हामीले जनबोलिमा सुन्दै आइरहेका छौं कि ‘समय भन्दा पहिले र आवश्यकता भन्दा बढि कहिल्यै पनि कसैलाई केही प्राप्त हुदैन’ र यो सत्य हो किनकी यो स्वयं प्रकृति अर्थात परमात्माको नियम हो जो यो नियमको विपरित गएर समाज र प्रकृतिलाई बिथोल्ने तथा असन्तुलन पैदा गर्ने दुस्साहस गर्छ जबरजस्ती दुःख, पिडा तथा सजाय पाउने उसैले हो र यस्तो काम उसले अहंकारको वसमा परेर गरेको हुन्छ, यसैकारण हरहालमा हरेक मनुष्यले अहंकार त्यानुपर्छ भनिएको हो । मनुष्यले गर्ने एकमात्र कर्म हो प्रकृति अर्थात परमात्माप्रति आस्था र समर्पण । यही आस्था र समर्पणले मनुष्यलाई अहंकारका श्रृंखलाहरुबाट मुक्त गरेर प्रेमका श्रृंखलाहरुमा स्थित गराउछ र विस्तारै उसको आत्मा अर्थात चेतनाको विकास गरेर मोक्षको मार्गमा अग्रसर गराउछ । 
आदिगुरु शंकराचार्यले भन्नु भएकोछ, “ब्रम्ह सत्यं जगत मिथ्या” अर्थात केवल ब्रम्ह अर्थात परमात्मा अर्थात प्रकृति अर्थात अस्तित्व मात्र नित्य, अपरिवर्तनशील तथा परमसत्य छ उसले सृष्टि गरेको जगत अर्थात ब्रम्हाण्ड अनित्य, परिवर्तनशील, मिथ्या अर्थात भ्रमपूर्ण छ र हामी सबै यही मिथ्या जगतमा रहेको मिथ्या शरीर, मन, भावना, नाम, पहिचान, मान–प्रतिष्ठा, म, मेरो, मैले, मलाई भन्ने भ्रममा अल्झिरहेका मुर्खहरु हौं किनकी मुर्खहरुनै भ्रमित हुने हुन् परमसत्यलाई जान्ने भगवान शिव, भगवान राम, भगवान कृष्ण, भगवान जिसस, भगवान पैगम्बर, भगवान बुद्ध, आत्मवोध भएका अनन्त चैतन्य आत्माहरु मोक्षमा स्थित भैसक्नु भएको छ तर हामी यही भ्रम अर्थात अहंकारलाई पक्डेर बसेका कारण जन्म–मृत्युको दुष्चक्रमा घुमिरहेका छौं । मनुष्यमा जति बढि भ्रममा हुन्छ उतिनै बढि अहंकारका श्रृंखलाहरुको को विष उसमा फैलिन्छ जान्छ र उसले संधै आफूलाई शरीर, मन, भावना, नाम, पहिचान, मान–प्रतिष्ठाको मिथ्या भावमा बुझिरहन्छ र म, मेरो, मैले, मलाईका अहंकारका श्रृंखलाहरुमा अल्झिरहेका आफू अर्थात ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना अर्थात प्रकृति अर्थात परमात्मा अर्थात परब्रम्हको एउटा अति सुक्ष्म कण तथा अंश हुँ र ब्रम्हाण्डमा भएका सबै प्राणी, वनस्पति, पदार्थहरुको अस्तित्वको वास्तविकता यही नै हो, सबै म जस्तै हुन् म सबै जस्तो हुन् अर्थात सबैमा म छु ममा सबै छन् भन्ने बुझ्दैन र यो जात र त्यो जात, यो धर्म र त्यो धर्म, यो लिंग र त्यो लिंग, यो देश र त्यो देश भनेर संधै झगडा गरेर बसिरहन्छ... !
                                                                        अस्तु
                                                       शिवोहम ! शिवोहम !! शिवोहम !!! 
No comments:
Post a Comment