Sunday, 19 October 2025

आध्यात्मिक साहित्यः ‘मौन’नै शुन्यता र पूर्णता

   लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन



कथा

विनम्र आग्रह

यो पोेष्ट मैले श्रद्धेय गुरुदेव डा. राजकुमार प्याकुरेलज्यूलाई ट्याग गरेको छु । म स्वघटित चार महिनाको मौन ध्यान साधनामा रहदा यस अवधिमा ममाथि खराव आत्मा अर्थात चेतनाहरुले अत्यन्तै दुःख दिरहेको अवस्थामा वहाँको चैतन्य चेतनाले मलाई निकै ठूलो सहयोग र संरक्षण प्रदान गरेको थियो । मौन ध्यान साधना सम्पन्न भएपछि मैले वहाँसंग फोनमा कुरा पनि गरेको थिएं हृदयदेखि हार्दिक कृतज्ञता व्यक्त गर्नकालागि, फेरीपनि हार्दिक कृतज्ञता गुरुदेव । साधना अवधिमा मलाई वहाँले आफ्नो विराट स्वरुपको दर्शन पनि दिनुभएको थियो । मौन साधना अनुभवको यस कथात्मक आध्यात्मिक विवरणमा वहाँले गर्नुभएको सहयोगबारे उल्लेख गरिएकोले म वहाँलाई यो पोष्ट पढ्नु हुन विनम्र अनुरोध गर्दछु । अन्य समयमा पनि वहाँसंग फोनमा र मेसेन्जरमा कुराकानी भएकाछन् ।


‘यो बाटो कहाँ जाने कहाँ पुग्ने हो...’

काठमाडौंबाट यात्रामा निस्कदा हामी दुईजोडी तथा चारजनाकोे यात्राको लक्ष्य लमजुंग जिल्ला स्थित पर्यटकीय दृष्टिकोणले सार्क राष्ट्रको नमुना स्थान ‘घलेगाउँ’ जाने भन्ने थियो । मुंगलिन पुगेर दुइतले खाजाघरको बाटोपट्टिको झ्यालमा बसेर गफ्फिदै बडो स्वादिष्ट समोसाचाट खाजा खादैगर्दा पृष्ठभूमिमा बजिरहेको ‘यो बाटो कहाँ जाने कहाँ पुग्ने हो...’ सुमधूर संगीत कानमा गुञ्जियो, हामी मुस्कुराउदै एकअर्काको अनुहार निहार्दै र ठट्टा गर्दै आँखाले इशारा गर्यौं हाम्रो बाटो चाहिं कहाँ जाने कहाँ पुग्ने हो भन्ने भाव सम्प्रेसित गर्दै किनकी हामी कार्यालयको व्यस्त समयबाट अचानक मिलेको तीनदिनको छुट्टि मनाउन बिनाकुनै योजना रातो प्लेटको स्कारपियो लिएर अघिल्लो पटक घान्द्रुक पैदल यात्रा गएका थियौं यसपटक घलेगाउँको होमस्टे र ट्ेकिंग जाउँ भनेर हचुवामा एकविहानै हुइंकेका थियौं । चाटको मिठाससंगै पृष्ठभूमिमा बजिरहेको संगीतको सवाललाई जवाफ दिने भावमा सरसल्लाहलाई घनिभूत बनाउदै जादा हाम्रो अन्तिम निर्णय अर्थात जाने बाटो परिवर्तन भयो । हामीलाई लाग्यो घलेगाउँ नाम चलेको, धेरै जना गैरहने आरोग्य पर्यटनको अत्यन्तै लोकप्रिय क्षेत्र हो, त्यहाँ त धेरै आन्तरिक तथा वाहिरका पर्यटकहरुको घुइचो लागिरहेकै हुन्छ त्यसैले यसपटक हामी अर्कै ठाउँ जाउँ भनेर लमजुंगमै अर्को उदाउदो होमस्टे मगरगाउँ छ रे त्यहाँ जाउँ भनेर निर्णय बनायौं विलकुल शुन्य जानकारीमा र हामी चारैजनाको सहमतिमा हाम्रो गन्तव्य घलेगाउँबाट अलि वरकै मगरगाउँ होमस्टे बन्यो ।   

मगरगाउँ होमस्टेको स्वागत सत्कार, त्यहाँको स्थानीय चामलको भात, स्थानीय तरकारी, सिस्नुको र मकैको पिठोको फाँडो, सिन्कीको आलो अचार, पिउनेका लागि स्थानीय मदिरा मगर संस्कृति अनुसारको बडो स्वादिष्ट भोजन ग्रहण पश्चात मगर संस्कृतिका पहिरनमा सजिएका गाउने, नाच्ने कलाकारहरुको नाचगानमा सामेल भएर बेलुकाको दशबजे आ–आफ्नो आराम कक्ष प्रवेश गर्यौं किनकी भोलि विहानै लमजुगंको भ्युडाँडा जानुपर्ने थियो तीनघण्टाको पैदलयात्रामा । भ्यूडाँडाबाट वरिपरिका छ वटा छिमेकी जिल्लाहरु एकैपटक वरिपरि देखिन्छन्, चाँढै घरबाट निस्क्यौं भने डाँडाबाट निस्कने सुर्योदयको अदभूत दृश्य पनि हेर्न सक्छौं मनोरम प्राकृतिक छटाका अदभूत दृश्यहरुको साथमा भनेर पैदलयात्राका पथप्रदर्शक थान बहादुर मगरले हामीलाई लोभ्याइरहेका थिए । 

भोलिपल्ट विहान हामी फिका चिया पिएर पैदल यात्राकै क्रममा अर्को स्थानमा स्थानीय खाजा खाने भनेर घरबाट निस्कियौं । करिव तीनघण्टाको घरि उकालो, घरि तेर्सो, घरि ओरालो, कतै रातो, कतै पहेंलो माटो भएको अत्यन्तै सफा, घाँस, झार, रुखका पातले छोपिएको जैविक विविधताले युक्त प्राकृतिक बाटो हिड्दै, बाटोमा देखिएका जंगल, साना–ठूला बोटविरुवा, जडिबुटी, ग्रामीण वस्ती, पालेका जनाबरहरु, गोठ, चरन, जंगली प्राणी, पंक्षी तिनीहरुका क्रिडा हेर्दै, रमाउदै, अवलोकन गर्दै हामी थकित भएर भ्युडाँडा पुग्यौं । भ्युडाँडा पहाडको नागी अर्थात पहाडको फराकिलो टुप्पो रहेछ । त्यहाँको मनोरमतामा नजर घुमाउदै स्थिर भएर केहीबेर थकाइ मारर्यौं, पथप्रदर्शकले पेयको अनुरोध गरे, पानी पियौं र दृश्याअवलोकनका लागि उनलाई पथप्रदर्शन गर्न अनुरोध गर्यौं । भ्युडाँडा लमजुंगका वरिपरिका होमस्टेहरुको दृश्याबलोकन गर्ने मूलकेन्द्र रहेछ, तीनतिरबाट डाँडामा पुग्ने बाटाहरु रहेछन्, धेरैतिरबाट आउनु भएका विदेशी र आन्तरीक पर्यटकहरुको भिड देखियो डाँडामा । आगन्तुकका लागि दृश्यावलोकन गर्न बनाइएका उभिने, बस्ने, आराम गर्ने स्थानहरुमा कोही दृश्यमा रमाइरहेका, कोही लेखिरहेका, कोही मस्त आपसमा वातमारिरहेका, कोही मस्त ध्यान गरिरहेका देखिन्थे । हामी पनि वरिपरिको दृश्य हेरेर आफ्नो मौजमा आफ्नै प्रकारका क्रियाकलापमा मस्त भयौं, सबैतिर नजर घुमायौं । वरिपरिको दृश्यलाई अझ नजिक देखाउने दृष्टिकोणले भ्युडाँडामा वरिपरिको दृश्य हेर्न दुरबीन राखिएको रहेछ, ठूलो आकारको नेपालको झण्डा राखिएको रहेछ, अर्को पहाडको टुप्पोमा सेतो बौद्ध गुम्बा चम्किरहेको थियो... ।

कति लामो समय बिताउने यहाँ भनेर पथप्रदर्शकले सोधेका थिए किनकी उनीहरुले हरेक पर्यटककोलागि निश्चित शुल्क बुझाउनु पर्ने रहेछ त्यहाँ बिताएको समयअवधि बराबरको, शुरुमा त हामीले आधा घण्टा भनेका थियौं र उनले त्यही अनुसारले शुल्क बुझाए तर माथि पुगेपछि हाम्रो समय लम्बियो किनकी घलेगाउँबाट हामी जस्तै भ्युडाँडा दृश्यावलोकनमा आएका हाम्रा कलेज जीवनका पुराना तीनजना साथीहरु भेटिए धेरै वर्षपछि । नेपाली मूलका अष्ट्रेलियन उनीहरु अष्ट्रेलियाबाट दुईहप्ताको छुट्टी मनाउन मातृभूमि नेपाल आएका रहेछन् विदेशी साथीहरु सहित । विदेशी साथीहरु पनि खुव दंग परिरहेका थिए नेपालको मौलिक सामाजिक, सांस्कृतिक, प्राकृतिक जनजीवनसंग । सामान्य हाइहेल्लो र एकअर्काको खबर लिसकेपछि आ–आफ्नो गन्तव्यतिर लाग्ने तयारीमा थियौं हामी तर संगै व्याचलर्स गर्दाका मेरो कलेजका साथी, पन्थी कैलाशजी अलि गंभिर देखिए र उनले मसंग केहीबेर संवाद गर्न चाहेको रुचि प्रकट गरे, मैले आफ्नो समुहलाई अनुरोध गरें केहीबेर म कैलाशजीसंग समय बिताउछु भनेर र स्वीकृति पनि पाएं । समय कम भएकोले कैलाशजीले हाम्रो आ–आफ्नो नामको पछाडि जी नलगाउने शर्त राखेर सिधै आफ्नो मनको जिज्ञासा राखे र अलि अप्ठ्यारो मान्दै मलाई जवाफ दिन अनुरोध गरे,

“यो समय अनुपयुक्त होला श्रीशा तिम्रोलागि तर मलाई जान्नु छ । ...मौन के हो... ? मौन ध्यान साधनामा के–कस्ता अनुभूतिहरु हुन्छन्, साधनाका क्रममा डर लाग्छ ?? तिम्रो मौन ध्यान साधनाको अनुभव मलाई पनि जान्नु छ विस्तारमा श्रीशा ।” 
“हाहाहा.... !”

म एक मेसो हाँसे उनले मप्रति तेर्साएको धरपकड शैलीको सवाल सुनेर र भनें, 
“कहाँ यो होहल्लाको माहोलमा तिमी मौनतिर छिरेको पन्थी ? एकदिन मेरो घर आउ काठमाडौंमा, म डाक्छु तिमीलाई, फुर्सदमा यो आध्यात्मिक विषयको सन्दर्भमा गहन संवाद गरौंला ।” 

तर नेपालको अरु क्षेत्रतिर पनि घुम्न जाने योजना रहेकोले आफूहरु काठमाडौं आउन नभ्याउने  भन्दै मलाई मौनबारे त्यहीं बर्खरै बताउकि बताउ भन्न थाले । उनी मिल्ने साथीहरु मध्यका एक भएकाले मसंग जिद्धि गर्ने अधिकार प्राप्त थियो उनलाई । मलाई पनि उनलाई हप्काउन र उने भनेको नटेर्न अधिकार थियो तर यसपटक मैले उनलाई नटेर्न सकिन र मौन साधनाबारे सारमा मात्र बताउन सहमत भएं । उनी पनि विपासनाका मौन ध्यान साधनाका लामा–छोटा कोर्शहरुमा पटक–पटक बसिसकेका रहेछन् नेपाल आएर, उनको भित्री इच्छा रहेछ मेरो कुण्डलिनी योगको मौन साधना र उनको विपासना मौन साधनाका अनुभवहरुबारे दोहोरो संवाद गरेर अनुभव साटासाट गर्न इच्छा रहेछ । उनको भित्री मनसाय बुझेपछि हामी दुवैजना मौन साधनाको विषयप्रति गंभिर भयौं । मेरो पटक–पटकका महिनौं लामा–लामा मौन साधनाबारे उनलाई जानकारी रहेछ तर उनी विदेशी भूमिमा बसेर पनि पटक–पटक नेपाल आएर विपासनाको १० दिनको, २१ ीदनको मौन साधनामा सहभागी भएको कुरा मलाई पटक्कै थाहा थिएन । यसपश्चात हामीविचको मित्रवत उर्जासंगै मौन साधनाको अलौकिक उर्जा पनि जोडिदै गयो र हामी मौन साधनाबारे संवादमा सहज भयौं । उनले पहिला मेरो मौन साधनाको प्राररम्भ र अनुभव सुनाउन आग्रह गरे, म सहमत भएं किनकी मौन साधनाका क्रममा घटित हुने विषयहरुको अनुभव नभएका मानिसहरुसंग मौन साधनाका परालौकिक अनुभव तथा अनुभूतिहरुका बारेमा सुनाउनु तथा संवाद गर्नु भनेको आफूलाई अन्धविश्वासी, मुर्ख र मनोरोगी बनाउनु बराबर हो र म स्वयंमले नै यसप्रकारको तितो अनुभव गरिसकेको थिएं पटक–पटक तर अर्को व्यक्ति जो आफू जस्तै मौन साधनासंग अभ्यस्त भएको साधकसंग यस्तो अलौकिक आध्यात्मिक संवाद गर्न पाउनु अहोभाग्यको अवसर थियो हाम्रो लागि ताकि आफू मार्फत मौन साधनाको इश्वरिय पराअलौकिकताको परमज्ञान अध्यात्ममा प्यास भएका अरु साधकहरुले पनि जान्न सकुन, परमात्माको ज्ञान अरु धेरैको समक्ष पुग्न सकोस् र यस्ता जानकारीहरुबाट मौन ध्यान साधनाका प्यासी तथा अध्यात्म मार्गीहरुले आफ्नो अध्यात्मको प्यास मेटाउन सकुन् ।  

हामीले संवाद शुरु गर्यौं, आन्तरिक पर्यटकका रुपमा भ्रमणमा रहेकोले मैले मौन साधनाबारे र मौन ध्यान साधनाका अनुभवहरु कैलाशलाई संक्षेपमा बताउने प्रयास गरें तर उनी सन्तुष्ट भएनन् र करिव १० मिनेटको संवादपछि उनले लामो गहिरो श्वास लिदै भने, 
“म काठमाडौंमा तिमीकहाँ आउछु श्रीशा, मेरो स्थाइ घर ताप्लेजुंग भएकोले म पूर्वका धेरै ठाउँहरु घुमिसकेको छु त्यसैले पूर्वी नेपालको भ्रमण समय घटाएर म तिमीकहाँ आउछु अष्ट्रेलिया फर्कनुअघि यो संवाद पूरा गर्न ।”
“एकदम सहि निर्णय कैलाश, अध्यात्म ज्ञानका कुरा हतारमा गर्नुपनि हुदैन, हतारमा पहिलो त सबै कुरा विस्तारमा बताउन सकिदैन, महत्वपूर्ण कुराहरु छुट्न सक्छन् र दोस्रो व्यक्त गर्न खोजिएको वास्तविक भाव प्रकट नहुन सक्छ..., हुन्छ हामी छिट्टै भेट्नेछौं ।”

हामी सौहार्दपूर्ण भावले काठमाडौंमा मेरो घरमा पुनः भेट्ने र यो विषयलाई निरन्तरता दिने निर्णय गरेर भ्युडाँडाबाट विदा भयौं, म दक्षिणको बाटोबाट भ्युडाँडा चढेको थिएं त्यतैबाट झरें मगरगाउँ होमस्टे फर्कन र उनी पश्चिमको बाटोबाट भ्युडाँडा चढेका थिए उनी त्यतैबाट झरे घलेगाउँ होमस्टे फर्कन । 

करिव एकहप्तापछि काठमाडौं आएर उनले मलाई फोन गरे र म कहाँ आए, हामीले संगै विहानको खाना खायौं र एक हप्ताअघि लम्जुंगको भ्युडाँडामा अधूरो छोडेको मौन ध्यान साधनाको संवाद पुनः शुरु गर्यौं ‘मौन’ के हो भन्ने प्रसंगबाट । कैलाशले मलाई समय लिएर शुरुदेखिको सबै अनुभव तथा अनुभूतिहरु विस्तारमा बताउन अनुरोध गरे र मैले पनि टाउको हल्लाएर उनी समक्ष सहमति जनाएं ।


मौनको सार

सामान्य तथा सांसारिक अर्थमा मौन निशव्दता हो तर पारमार्थिक तथा आध्यात्मिक अर्थमा मौन स्वयं परब्रम्ह अर्थात परमात्मा हो तसर्थ मौन नै शुन्यता र मौन नै पूर्णता हो । मौन दुई प्रकारका हुन्छन्– प्रयास तथा साधकले प्रयास गरेर हुने मौन र निस्प्रयास तथा साधकको बिना कुनै प्रयास स्वस्फुर्त घटित हुन्छ । प्रयास मौन व्यक्ति स्वयंको प्रयासले हुने हुनाले यो अलिक कठिन हुन्छ किनकी प्रयास गरिएको मौनमा व्यक्तिको वाणीमात्र चुप हुन्छ तर उसको अन्तरमनमा विचारका कोलाहलहरु चलिरहेका हुन्छन् । निस्प्रयास मौन व्यक्तिको अन्तरआत्मा अर्थात चैतन्य चेतनामा अलौकिकता घटित भएपछि स्वतः व्यवहारमा देखिने हुनाले यो सहज हुन्छ किनकी निस्प्रयास मौनमा व्यक्तिको शरीर, मन, भावहरुमा सम्पूर्ण रुपमा आन्तरिक शान्ति छाएको हुन्छ । ध्यान साधना प्रारम्भिक साधना हो, ध्यानको अन्तिम सिढि निस्प्रयास मौन हो । निस्प्रयास मौन घटित भएपछि ध्यानका सबै विधि तथा चरणहरु श्वासमा, शरीरमा, चक्रहरुमा, मन्त्रोच्चाहरणमा केन्द्रित हुने आदि सकिन्छन् र साधक निस्प्रयास मौनको अग्निमा तपिन तथा खारिन थाल्छ तव साधकलाई पराभौतिक संसारका रहस्य, चमत्कार, दिव्यता, अलौकिकताका विषयहरु अनुभूतिमा आउन थाल्छन्, ब्रम्हाण्ड अर्थात स्वयं परब्रम्हले सिधै सम्पर्क, संवाद गर्न र आफ्ना सूचना तथा जानकारीहरु सम्प्रेसित गर्न थाल्छ । मौन साधनामा तपिएको तथा खारिएको साधक परब्रम्हको माध्यम, सहायक तथा ब्रम्हदूत बन्दछ ब्रम्हाण्डको सर्वकल्याणका कार्यहरु गर्नमा निस्काम भावले लागिपर्दछ ।

   
मौनका उपलव्धि 

मौन साधनाका सांसारिक र पारमार्थिक तथा आध्यात्मिक दुईप्रकारका उपलव्धिहरु हुन्छन् । सांसारिक उपलव्धि अन्तर्गत मौनले हरप्रकारले व्यक्तिको शरीर स्वस्थ, मन एकाग्र, भाव शान्त राख्न मद्धत गर्दछ र पारमार्थिक तथा आध्यात्मिक उपलव्धि अन्तर्गत मौनले आत्मा अर्थात चेतना जाग्रीत गरेर आध्यात्मिक प्रगति गराउछ र बुद्धत्व प्राप्तितर्फ उन्मुख हुन मद्धत गर्दछ । आफू अन्तरमुखी स्वभावको भएको र परिवार तथा सम्वन्धिहरुसंग मेरा सवाल–जवाफहरु प्राय ‘अँ’ र ‘अँह’मा हुने भएकाले म संधै एकप्रकारको मौनकै अवस्थामा रहिरहेको हुन्छु । पेशा र शोख दुवै कारणले लेखक भएकोले आफ्नो लेखन कार्यमा यतिविधि तल्लीन हुन्छुकी म घरमा समेत २४ घण्टामा मुस्किलले ३०० देखि ५०० शव्द मात्र बोल्छु होला मौन साधनामा नरहेको अवस्थामा समेत । कहिलेकाहीं मेरो अन्तरमुखी प्राकृतिक स्वभावलाई छेडखानी गर्दै घरमा मलाई ‘यो त बोल्नै जान्दिन, यसको साटो पनि हामीले नै बोल्दिनु पर्छ’ भन्नुहुन्छ । 

भनिन्छ जो व्यक्ति कम बोल्छ, कम हाउभाउ र इशारा गर्छ उसको शरीर, मन, भाव संधै शान्त र स्थिर रहन्छ, उ कहिल्यै हतारमा हुदैन । यो भनाइ ममा एकदम ठिकसंग बैठिएको पाउछु म किनकी खाना खाने लाइनमा समेत सबै भन्दा अन्तिममा जाने मान्छे हुँ म, अरु दौडेको र तछाडमछाड गरेको देख्दा अचम्म लाग्छ र मनमनै अरुलाई किन त्यस्तो भएको होला जस्तो लाग्छ । आफू किशोर अवस्थामा फुटबल खेलाडी रहेको, युवा अवस्थामा डवलि नृत्यांगना रहेको र प्रौढ अवस्थामा योग तथा ध्यानको प्रशिक्षक रहेकोले प्रभुको कृपाले म सदा शारीरिक रुपमा सुगठित, चुस्त र स्वस्थ रहदै छु । आफू सदा ग्ल्यामर जगतमा भनिने गरेको जस्तो ‘जिरो फिगर’मा रहदै आएको हुनाले मैले मौन साधनाका शारीरिक तथा स्वास्थ्य लाभबारे स्पष्ट रुपमा थाहा पाउनेगरि त्यतिसारो ख्याल तथा महसुस गरेको छैन तर वैचारिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक तथा आध्यात्मिक लाभका इन्द्रियजनित, मनजनित तथा भावजनित अनुभवहरु र इन्द्रियातीत, मनातीत तथा भावातीत अनुभूतिहरु अत्यन्तै धेरै भएका छन् । 

मौन साधनाका सांसारिक लाभका शरीर, मन, भावनामा आएका सकारात्मक अनुभवहरु नै आध्यात्मिक प्रगतितर्फ उन्मुख हुने आधारभूत खुड्किालाहरु हुन् किनकी वेदान्त दर्शनको मूलसार उद्धृत गरिएको भजन शिरोमणि अत्यन्तै आध्यात्मिक व्यक्तित्व श्रद्धेय श्री भक्तराज आचार्यको ‘...एकदिन मैले प्रभुसंग सोधें कसरी शान्ति मिल्छ...’ वेदान्त भजनमा मार्गदर्शन गरिए जस्तै मनुष्यको विचार शुद्ध नभइकन कर्म शुद्ध हुदैन; कर्म शुद्ध नभइकन शरीर स्वस्थ हुदैन; शरीर स्वस्थ नभइकन मन एकाग्र हुदैन; मन एकाग्र नभइकन भाव शान्त हुदैन; भाव शान्त नभइकन आत्मवोध हुदैन; आत्मावोध नभइकन चेतना जाग्रीत तथा प्रकाशित हुदैन, चेतना जाग्रीत तथा प्रकाशित नभइकन परमसत्यको तत्वज्ञान हासिल हुदैन; तत्वज्ञान नभइकन ब्रम्हज्ञान हुदैन; ब्रम्हज्ञान नभइकन विजब्रम्हको अनाहद नाद श्रवण हुदैन, विजब्रम्हको अनाहद नाद श्रवण नभइकन परमात्मा साक्षातकार हुदैन र परमात्मा साक्षातकार नभइकन मोक्ष प्राप्ति तथा जन्म–मृत्युको भवसागरबाट त्राण मिल्दैन । यसप्रकार मूल तथा पहिलो खुडकिलो मनुष्यको सकारात्मक विचार हो । मनुष्यको सकारात्मक विचारनै सिढि चढ्दै, चढ्दै, चढ्दै परमात्मा साक्षतकारसम्म पुग्छ र मोक्षमा स्थित हुन्छ । साँच्चैनै भौतिक संसारका यी सिढिहरु चढ्दै, चढ्दै, चढ्दै पराभौतिक संसारमा प्रवेश पाएर एकसाथ यी दुई जगत विचमा रमण गरिरहदा जीवन अत्यन्तै रहस्यपूर्ण र चमत्कारिक लाग्ने रहेछ पन्थी कैलाश । 

मेरो पारमार्थिक अनुभवमा मौन साधनाको सार एक वाक्यमा भन्नुपर्दा, 
“व्यष्टिभित्र समष्टि रहेछ र समष्टिभित्र व्यष्टि रहेछ अनि शुन्यता नै पूर्णता रहेछ र पूर्णता नै शुन्यता रहेछ !”

सनातन अध्यात्म दर्शन शास्त्रहरुमा उल्लेखित अकाट्य सत्यवाक्य सुनिदै आइएको छ, ‘यथा पिण्डे तथा ब्रम्हाण्डे, तथा पिण्डे यथा ब्रम्हाण्डे’ अर्थात ब्रम्हाण्डमा जे छ मभित्र हुबहु त्यही छ र मभित्र जे छ ब्रम्हाण्डमा पनि हुबहु त्यही नै छ । चैतन्य चेतनामा स्थित भैसक्नु भएका सबै सिद्ध सन्त, साधु, योगी, बुद्धत्व प्राप्त महापुरुषहरु; सारा प्राणी, वनस्पति, पदार्थहरु, ग्रह, नक्षेत्र, पुरै आकाश तथा ब्रम्हाण्ड मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शरीरभित्रै समाहित भएर रहेका छन् किनकी मनुष्यको शरीर सुक्ष्म स्वरुपमा विराट ब्रम्हाण्डको प्रतिविम्व हो । जव मनुष्यले निस्प्रयास तथा ीवस्फुर्त घटित हुने मौन साधनाको सर्वस्वीकार्य प्रक्रियागत मार्गबाट आफ्नो शरीर, मन, भाव, आत्मा अर्थात चेतनालाई सुक्ष्म रुपमा जान्न सक्षम हुन्छ, तव उसले आफ्नै माध्यमबाट विराट ब्रम्हाण्डलाई राम्ररी जान्न र बुझ्न सक्छ किनकी हरेक मनुष्य स्वयं ब्रम्हाण्ड हो, उ नै ब्रम्ह हो र ब्रम्हाण्डमा रहेका सबै सृष्टिहरु ब्रम्ह हुन् । यहाँ सबैतिर ब्रम्ह मात्र छ, ब्रम्ह वाहेक अरु केहीपनि छैन, अहं ब्रम्हास्मि, तत्वमसि अर्थात म स्वयं ब्रम्ह हुँ र तिमी पनि त्यही ब्रम्ह हौ, वेदान्त दर्शनको मूलसार पनि यही हो । आफू स्वयं ब्रम्ह हुँ भनेर जान्नु नै निस्प्रयास मौन साधनाको वास्तविक उपलव्धि र आध्यात्मिक परिभाषा हो ।  मेरो सन्दर्भमा, मौन साधनाको प्रक्रियागत मार्ग हुदै जव सांसारिक जगतबाट पारमार्थिक जगतमा प्रवेश गरें तव पराभौतिक संसार अर्थात परमात्माका जगतका अत्यन्तै धेरै प्रकारका इन्द्रियातीत, मनातीत, भावातीत अलौकिक, रहस्मय, चमत्कारिक अनुभूतिहरु ममा तलबाट माथि जाने सोपानको क्रममा मभित्रै घटित हुदै गए ।

म डेढ दशकदेखि कुण्डलिनी योगको साधना गर्दै आइरहेको छु । साधनाको प्रारम्भदेखि नै पराभौतिक संसारका केही रहस्यमय अलौकिक विषयहरु मेरो अनुभवमा आउन थाले । सबैभन्दा पहिला मैले ध्यान साधनाको गहन अवस्थामा बन्द आँखामा मलाई इन्द्रियातीत, मनातीत, भावातीत अनुभूति गराउने दृश्यहरु आए र आवाजहरु श्रवण भए जो कसैसंग न शव्दमा, न इसारा तथा हाउभाउमा व्यक्त गर्न तथा बुझाउन सकिने प्रकारका थिए । अझ कतिपय त आफू स्वयंले बुझ्न र पत्याउनै नसकिने अत्यन्तै रहस्यमयि प्रकारका थिए । ध्यान साधनाको गहन अवस्थामा बन्द आँखामा आउने ती दृश्य र आवाजहरु राम्रा तथा सकारात्मक किसिमका दिव्य प्रकाश, भगवद् चेतना, चैतन्य तथा दिव्य आत्मा अर्थात चेतनाहरु र वहाँहरुका आशिर्वाद, मार्गदर्शन, प्रेरणाका रुपमा आए । यससंगै घृणित तथा नकारात्मक किसिमका नराम्रा शैतानका भिमकाय बिभत्स आकृतिहरु, नारकिय अन्धकार, मारकाट, रगत–पीप, चिच्चाहट, रोदन, खेदाइ, तर्साइका रुपमा आए । ती सबै अनुभवहरु आफूभित्रै समाहित गर्दै चुपचाप ध्यान साधनाको प्रज्वलित अग्निमा जलाउदै साधनालाई निरन्तर अगाडि बढाइरहें ।

ध्यान साधनाको गहिराइमा अर्को प्रकारको इन्द्रियातीत, मनातीत, भावातीत अनुभूति थियो अदृश्य जगतका राम्रा र नराम्रा सबै किसिमका आत्मा अर्थात चेतनाहरुको सुक्ष्म आवाज सुन्न सक्ने र दोहोरो संवाद गर्नसक्ने । यसक्रममा अत्यन्तै दिव्य संवाददेखि अत्यन्तै घृणित संवादहरु पनि भए । यस्ता रहस्मय र चमत्कारीक अनुभूतिहरुदेखि म आफैं चकित पर्थें के भएको होला मलाई यस्तो भनेर, कहिलेकाहीं डर पनि लाग्थ्यो कतै मेरो ध्यान साधनामा केही कमीकमजोरी पो भैरहेको छ कि भन्ने । यसबारे विलकुल चुपचाप रहेर, आफू एक्लैले भेटेसम्म खोज गर्दै गएं र केही हदसम्म मनमा उठेका सवालहरुको जवाफ पाउदै पनि गएं । चुपचाप गरिएका खोजका नतिजाहरुका अनुसार आफूभित्र आध्यात्मिक प्रगति भैरहेको र क्रमशः पराभौतिक संसारलाई जान्ने, बुझ्ने क्षमता वृद्धि भैरहेको संकेत पाएपछि साधनालाई निरन्तर अगाडि बढाईरहें । 

साधनाको गहिराइमा फेरी अर्को इन्द्रियातीत, मनातीत, भावातीत अनुभूति भयो । फरक भौगोलिक क्षेत्रमा रहेका तथा एकै ठाउँमा रहेका मेरा निकटका आफन्त तथा सम्वन्धीहरुले मेरो बारेमा व्यक्त गरिरहेका राम्रा तथा आलोचनात्मक सूचनाका विषयहरु उही समयमा मेरो मस्तिस्कमा सूचित भएर आउन थाले । मेरोबारेमा कहाँ कसले के भनिरहेको छ भन्ने कुरा उही समयमा मलाई सबै थाहा हुन थाल्यो । के हो यो भनेर मैले छड्के जाँच पनि गरें अध्यात्म विज्ञान र भौतिक विज्ञानका सान्दर्भिक विषयहरुमा, र खोजमा यो अनुभूति सत्य सावित भयो । यो विषयलाई अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान अर्थात क्वान्टम साइन्सले पनि ‘क्वान्टम इन्ट्यांगलमेन्ट’का रुपमा तथ्यगत आधारमा प्रमाणित गरिसकेको छ । केही कुरामा त क्रोधवस मैले असन्तुष्टी जनाएं र बहस पनि गरें तर यो असन्तुष्टी र बहसको नकारात्मक प्रभाव अर्को निकटको व्यक्तिलाई पर्यो, उसले मलाई कुरा लगाएर भडकाएको भनेर अर्थ लगाउन पो थालियो । त्यसपछि म यस्ता सूचनाहरु ग्रहण मात्र गर्न थालें, कसैलाई व्यक्त गरिन यसले विपत्तामा अशान्ति मच्चाउने रहेछ भनेर । यस्ता अनुभूतिहरु भैरहदा मनमा प्रसन्नता पनि जाग्यो, मनमनमा खुशी भए कि ममा क्रमशः आध्यात्मिक प्रगति भैरहेको छ । यी क्रमशः एकपछि अर्को गर्दै अनुभूतिमा आइरहेका क्षमताहरु आध्यात्मिक प्रगतिका सूचकहरु रहेछन्, म सुक्ष्म संसारमा प्रवेश गरेर त्यहाँको वास्तविक वस्तुस्थितिहरु जान्ने क्रममा रहेछु ।

साधना अगाडि बढ्ने क्रमसंगै राम्रा र नराम्रा पक्षहरुको संख्या र तोरा बढ्दै गयो । यस क्रममा राम्रा तथा दिव्य आत्मा अर्थात चेतनाहरुबाट संरक्षण प्राप्त हुदै गयो र नराम्रा तथा खराव आत्मा अर्थात चेतनाहरुसंग झगडा चर्किदै गयो सुक्ष्म जगत तथा पराभौतिक संसारमा जुन म एक्लैले मात्र देख्न, सुन्न र भोग्न सक्थे । भौतिक संसारका मेरो बगलमै भएका निकट आफन्त तथा सम्वन्धिहरुलाई केहीपनि थाहा हुदैनथ्यो त्यसघडि मभित्र केके चलिरहेको छ त घटित भैरहेको छ भनेर । साधनामा भएका राम्रा र नराम्रा सबै प्रकारका अनुभव तथा अनुभूतिहरु अरुलाई हुबहु सुनाउने अनुमति हुदैन त्यसैले यहाँनेर म रोकिने अनुमति चाहान्छु कैलाश । त्यसैले अव म राम्रा तथा दिव्य र सुक्ष्म जगतबाट अरु समक्ष सुनाउन अनुमति भएका अनुभव तथा अनुभूतिका स्मृतिहरु मात्र म यहाँ साझा गर्नेछु । 

साधनाको क्रममा मलाई धेरै प्रकारका अलौकिक, दिव्य, चमत्कारिक र रहस्यमय अनुभव तथा अनुभूतिहरु भए । मेरो बुझाइमा, भौतिक तथा स्थुल रुपमा मनुष्यको भौतिक अस्तित्व जनाउने शारीरिक शरीरको निश्चित उचाइ, दम्बाइ, चौडाइ तथा तौल र यसका सीमाहरु रहेका हुन्छन् तर पराभौतिक तथा सुक्ष्म रुपमा मनुष्यको आध्यात्मिक अस्तित्व जनाउने सुक्ष्म शरीरको उचाइ, दम्बाइ, चौडाइ तथा तौल केहीको पनि कुनै सीमा हुदैन । न शुरु, न अन्त्य हुन्छ, यो अनन्त हुन्छ ब्रम्हाण्ड जस्तै किनकी मनुष्य स्वयं ब्रम्ह र ब्रम्हाण्डको सर्जक हो । ब्रम्हज्ञानमा उपलव्ध भैसक्नु भएका तथा ब्रम्ह साक्षातकार गरिसक्नु भएका सबै अग्रज सिद्ध तथा विकसित आत्मा अर्थात चैतन्य चेतनाहरुले दिनुभएका यस सन्दर्भका विस्तृत विवरणहरु उस्तै–उस्तै प्रकारका रहेका हुन्छन् । यी सबै विषयहरुमा थोर–बहुत सैद्धिान्तिक र व्यवहारिक दुवै प्रकारले अनुभवी भएपछि अव मलाई मौन ध्यान साधनाका क्रममा हुने कुनै प्रकारका गतिविधिहरु अनौठा लाग्न छाडे र डरलाग्न पनि छाड्यो, विस्तारै म यी अनुभव तथा अनुभूतिहरुमा रमाउन थालें किनकी यी गतिविधिहरु मेरा दैनिकी बनिसकेका थिए र सान्दर्भिक विषयहरुको खोजका अनुसार यी सबै अवस्थाहरु वास्तविक अध्यात्म साधकको साधनाका क्रममा आउने अनिवार्य चरण र सिढिहरु रहेछन् । राम्रा र नराम्रा सबै प्रकारका अनुभव तथा अनुभूतिहरुबाट नगुज्रिकन तथा सुक्ष्म जगत तथा पराभौतिक संसारका सबै विषयहरु प्रत्यक्ष रुपमा नजानीकन तथा नभोगीकन परमात्मा साक्षाकार र मोक्षमा उपलव्ध नै नभइने रहेछ । परमात्मा साक्षातकार गर्ने र मोक्षमा उपलव्ध हुने मूलमार्ग नै यही रहेछ । यति बुझेपछि अव आध्यात्मिक साधनाको मार्गमा आउने सबै प्रकारका अवरोधहरुसंग जुध्ने प्रेरणा र हिम्मत भरियो ममा र मैले चुपचाप निरन्तर आफ्नो ध्यान साधना अगाडि बढाइरहें ।

प्राय यस प्रकारका अलौकिक, दिव्य, रहस्यमयि तथा चमत्कारिक अनुभव तथा अनुभूतिहरु शुरुशुरुमा म ध्यान साधनामा रहेको अवस्थामा मात्र हुने गर्थे तर पछिल्ला चरणहरुमा क्रमशः गहन ध्यान साधनाको अवस्थाका साथसाथ कुनैपनि समय म एकाग्र भएको अवस्थामा; विहान र साँझ पूजा आराधनामा गरिरहेको अवस्थामा; आफूले योग–ध्यान गरिहेको र अरुलाई सिकाइरहेको अवस्थामा; आध्यात्मिक प्रवचन गरिरहदा; परिवारसंग रहदा; साथीहरुसंग रहदा; घरमा तथा कार्यलयमा काम गरिरहदा; बाटोमा हिड्दा प्राय प्रातः भ्रमणमा बारबार हुनथाले र वर्तमान समयमा पनि यस्तै अवस्थाहरुमा हुदै आइरहेका छन् । साधनाको निरन्तरता र आफूमा आएको आध्यात्मिक प्रगतिसंगै पछिल्ला समयहरुमा नकारात्मक प्रकारका अनुभव तथा अनुभूतिहरु कम हुदै गए र सकारात्मक प्रकारका अनुभव तथा अनुभूतिहरु बढ्दै गए । ध्यान साधनालाई निरन्तरता दिरहेको अवस्थामा एक समय मलाई अचानक निस्प्रयास मौन घटित भयो स्वस्फुर्त रुपमा र यो पहिलो मौन निरन्तर चार महिना चल्यो, यसपछि छ महिना र एघार महिना समयअवधिका यस्तै प्रकारका मौन दुईपटक घटित भए । पहिलो निस्प्रयास मौन साधनामा सबैभन्दा बढि र पछिल्ला निस्प्रयास मौन साधनाहरुको निरन्तरता र गहनताको गहिराइमा समयक्रमसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै प्रकारका रहस्यमय तथा चमत्कारिक इन्द्रियजनित, मनजनित, भावजनित अनुभवहरु र इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिहरु हुदैगए र भैरहेका छन्, ती मध्य केही यहाँ म तिमीसंग साझा गर्नेछु कैलाश–


रहस्य र चमत्कार

आँखा बन्द गरेर मौन ध्यान साधनामा बसेपछि भौतिक संसारले अदृश्य, अप्रामाणिक, कपोलकल्पित मान्दै आएका र आफू स्वयंलाई पनि पत्याउनै मुस्किल हुने सनातन अध्यात्म दर्शनका शास्त्रहरुमा घुमाएर तथा सिधै उल्लेख गरिएका पराभौतिक संसारका चमत्कारिक, रहस्यमयि, अलौकिक तथा दिव्य विषयहरु दृश्यमा, श्रवणमा, सुगन्धमा, स्पर्शमा, साक्षातकारमा तथा संवादका रुपमा मेरो अनुभव तथा अनुभूतिहरुमा आए ।

   
ब्रम्हाण्डको सम्पर्क

अस्तित्व, प्रकृति, ब्रम्हाण्ड, परब्रम्ह, परमात्मा, इश्वर, भगवान, गड, खुदा, अल्ला जुन नाम तथा उपमाले सम्वोधन गरेपनि एउटै तत्व हो, उही ब्रम्हाण्डको महाउर्जा तथा महाशक्ति हो । निस्प्रयास मौन साधनामा तपिएको तथा खारिएको साधकलाई यो महाउर्जा तथा महाशक्तिले विभिन्न माध्यमबाट सांकेतिक भाषाहरुका माध्यमबाट प्रत्यक्ष रुपमा सम्पर्क गर्दछ र आवश्यक सूचना तथा जानकारीहरु सम्प्रेषित गर्दछ र साधक ब्रम्हाण्डको सर्वकल्याणका लागि यी सूचना तथा जानकारीहरुलाई सहि ढंगले कार्यान्वयनमा ल्याउने ब्रम्हदूत बन्दछ । यस्ता संकेतहरु दोहोरिने नम्बरहरुका रुपमा; पुस्तकको नाम, अध्यायको विषय तथा अनुच्छ्दका रुपमा; सामाजिक संजालहरुमा सन्देश तथा चित्रहरुका रुपमा; आकाशमा दृश्य आकृतिका रुपमा; तथा सोझै साधकको मन, मस्तिस्कमा सम्प्रेसित भएर आदि धेरै प्रकारले आउने गर्दछन् र ब्रम्हाण्डले दिन खोजेका सूचना तथा जानकारीहरु स्वतः साधकको अन्तरज्ञानमा प्रष्फुटित हुन्छन् र उसले त्यही अनुसार सर्वकल्याणका कामहरु गर्दछ ।  


स्वआत्मिसंग साक्षातकार

मनुष्यको स्थुल शरीरको सीमाना छ तर सुक्ष्म शरीर तथा उसको आत्मिक अर्थात चेतनात्मक शरीरको कुनै सीमाना छैन, यो अनन्त हुन्छ किनकी मनुष्य स्वयं नै ब्रम्ह हो र उसैको चैतन्य चेतनाको विस्तार नै समुच्चा ब्रम्हाण्ड तथा परमात्मा हो । सर्वकल्याणका कार्यहरुका लागि आकासिय प्रशासनमा योजनावद्ध रुपमा ब्रम्हाण्डले विकसित आत्मा अर्थात चैतन्य चेतनाहरुलाई छनौट गर्दछ र एउटै आत्मा अर्थात चेतनालाई विभिन्न भागमा विभाजन गरेर उनीहरुलाई फरक–फरक कामहरुको जिम्मेदारी दिन्छ । यी विभाजित आत्मा अर्थात चेतनाहरुले ब्रम्हाण्डको संकेत अनुसार सबै मत्र्यलोक(जहाँ जन्म–मृत्युको चक्र चलिरहन्छ)हरुमा सर्वकल्याणका आ–आफ्नो जिम्मेदारीका कामहरु गर्दछन् । विभाजित आत्मा अर्थात चेतनाहरुलाई खटाइएको कार्य गर्ने क्रममा आवश्यकता अनुसार ब्रम्हाण्डले विभिन्न जन्महरुमा मत्र्यलोकमा यिनीहरुलाई भेटाउछ स्वआत्मिका रुपमा र आवश्यक सूचना, जानकारी, उर्जा आदान–प्रदान गराउछ र फेरी छुटाउछ, आवश्यकता परे फेरी भेटाउछ, फेरी छुटाउछ र जन्मौं–जन्मसम्म यसरीनै चलिरहन्छ... । यो प्रक्रिया तवसम्म चलिरहन्छ जन्म–जन्मसम्म जवसम्म विभाजित आत्मा अर्थात चेतनाहरु मोक्षकालागि पूर्णपात्रताले भरिदैनन् । जव उनीहरुमा प्रात्रता पूर्ण हुन्छ तव ब्रम्हाण्ड द्वारा उनीहरुलाई पुनः एकै आत्मा अर्थात चेतनामा समाहित गराएर पूर्वस्वरुपमै ल्याएर मोक्ष गराइन्छ र उसलाई ब्रम्हाण्डको अझ माथिल्लो तहको कामको जिम्मेवारी दिइन्छ । यसक्रममा पृथ्वीलोक तथा मत्र्यलोकको यस जन्ममा मेरो विभाजित आत्माको आधा भाग अर्थात मेरो स्वआत्मिसंग प्रत्यक्ष साक्षातकार भयो पहिला पराभौतिक रुपमा र पछि भौतिक रुपमा । स्वआत्मिसंगका यसप्रकारका साक्षातकारहरु यसअघिका सयौं जन्महरुमा पनि भैसकेका परालौकिक दृश्यहरु सिनेमाको पर्दामा जसरी आए मेरो ध्यान साधना र निस्प्रयास मौन साधनाका क्रममा । लिंगका आधारमा स्त्री या पुरुष प्रकृतिको तथा सृष्टिचक्रको विषय हो ब्रम्हाण्डले केवल आत्मा अर्थात चेतनासंग मात्र सरोकार राख्दछ ।


बारबार एकै दृश्य(देजाभु) 

म जाग्रीत, तन्द्रा, स्वप्न, साधनाको अवस्थामा रहदा पटक–पटक एकै जस्ता लाग्ने तथा पहिलानै घटित भैसकेका तथा महसुुसमा आइसकेका जस्ता लाग्ने विषय, स्थल, अनुभव तथा अनुभूतिहरु बारबार आए । पहिलनै देखिसकेको जस्तो लाग्ने दृश्यहरु, पहिलानै पुगिसकेको जस्तो लाग्ने स्थानहरु, पहिलानै सुनिसकेको जस्तो लाग्ने विषयहरु, पहिलानै महसुस गरिसकेको जस्तो लाग्ने विविध घटनाहरुको अनुभव तथा अनुभूतिहरु बारबार भए । धेरैजसो देजाभुका अनुभव तथा अनुभूतिहरु आफ्नो विभाजित आत्मा अर्थात जुम्ल्याहा आत्मा अर्थात स्वआत्मि अर्थात ट्वीनफ्लेमसंग भएका थिए र आफ्ना केही सहआत्मि अर्थात सोलमेटहरुसंग भएका थिए । 


सपना

सपनामा पुर्वजन्महरुमा आफूले आध्यात्मिक पद्धति अनुसार विविध प्रकारले अरुलाई चिकित्सा तथा उपचार प्रदान गरिरहेका; अध्यात्म दर्शनको सन्दर्भमा प्रवचन दिरहेका; अरुलाई आत्मा अर्थात चेतनाको विकासको सन्दर्भमा मार्गनिर्देश गरिरहेका; आफू भगवान बुद्धको प्रवचन सतसंगहरुमा सामेल भएको; आध्यात्मिक अभियानका कार्यहरुका नेतृत्व गरेर हिडेका आदि धेरै दृश्यहरु आएका थिए दोहोरि–दोहोरिकन । स्वाआत्मि र सहआत्मिहरुसंग एकसाथ भएका पुर्वजन्मका स्मरणयोग्य दृश्यहरु अत्यन्तै धेरै आएका थिए र निरन्तर आइरहेका छन् । 

दृश्य 

ध्यान साधना र निस्प्रयास मौन ध्यान साधनाको गहन अवस्थामा अनेकौं प्रकारका दृश्यहरु बन्द चर्म चक्षु तर खुल्ला दिव्य चक्षुमा आएका थिए । रंगीविरंगी चम्किला प्रकाशहरु; मनुष्यको सुक्ष्म शरीरमा रहेका चक्रहरु; सुक्ष्म जगतका अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान अर्थात क्वान्टम विज्ञानले समेत अहिलेसम्म पक्डिन नसकेका अति सुक्ष्म पदार्थ तथा परमाणुका तरंगहरु, प्रकाशका तरंगहरु, डि.एन.ए, अत्यन्तै सुक्ष्म रेशा, स्ट्रीगं अर्थात थ्रेडहरु; ब्रम्हाण्डका दुरदुरका ग्रह, तारा तथा पिण्डहरु, आकाशगंगा, काला छिद्रहरुको सुरुगं अर्थात ब्ल्याक होलहरु दृश्यमा आएका थिए र अझै पनि आइरहन्छन् । 

ध्वनि 

मौन ध्यान साधनाको गहन अवस्थामा आफ्नै अन्तर हृदयमा गुञ्जिरहेका अनाहद नादका विभिन्न प्रकारका ध्वनिहरु श्रवणमा आएका थिए र आइरहन्छन् । अनाहद नादका सुमधूर ध्वनिहरु श्रवणमा आउनु अघि ध्यान साधनाका प्रारम्भिक दिनहरुमा एकाग्रता, शान्ति, आनन्दलाई नै भंग गर्ने तथा साधनामा बाधा पुर्याउने प्रकारका झिझो लाग्ने कर्कस तथा अत्यन्तै ठूला आवाजहरु आउने गर्थे । मौन साधनाको गहनतासंगै पछि विस्तारै कर्कश तथा अरुचि लाग्ने आवाजहरु कम हुदै गए र सुमधूर ध्वनिहरु मात्र सुनिन थाले । मौन साधनाको क्रममा चेतनाको विकासमा मद्धत मिल्दै गयो र परमशान्ति, परमआनन्द पनि बढ्दै जान थाल्यो ।

स्पर्श

मौन ध्यान साधनाको गहन अवस्थामा विभिन्न प्रकारका राम्रा तथा सकारात्मक, नराम्रा तथा नकारात्मक आत्मा अर्थात चेतनाहरुले गर्ने गरेको स्पर्श स्पष्ट थाहा हुन्थ्यो । राम्रा तथा सकारात्मक आत्मा अर्थात चेतनाहरुले प्रेम, करुणा, आशिर्वाद, मार्गदर्शनको भावले छोएका तथा स्पर्श गरेका धेरै अनुभूतिहरु भएका थिए भने नकारात्मक आत्मा अर्थात चेतनाहरुले व्यभिचार भावले छोएका तथा स्पर्श गरेका धेरै अनुभूतिहरु भएका थिए ।

सुगन्ध

बढिजसो मौन ध्यान साधनाको गहनतामा रहेको अवस्थामा विभिन्न प्रकारका चन्दन, धूप, वनस्पति, फल तथा फूल आदिका अत्यन्तै मिठो सुगन्धहरु अनुभूतिमा आएका थिए । मैले धेरैजसो समय श्रीखण्ड चन्दनको अत्यन्तै मिठो सुगन्ध अनुभव गरेको थिएं र अझैपनि यो सुगन्ध बिना कुनै श्रोत हररर आउने गर्छ कहिलेकाहीं । पहिलो पटक सन् २००३ मा बिना कुनै भौतिक श्रोत श्रीखण्डको अत्यन्तै मिठो सुगन्ध अनुभूतिमा आएको थियो मलाई । ध्यान साधनाका प्रारम्भिक दिनहरुमा अत्यन्तै नमिठो, कुहिएको सिनो, कुनै विषादि तथा रसायन जस्ता दुर्गन्धहरु पनि अनुभूतिमा आएका थिए तर साधनाको गहनतासंगै विस्तारै दुर्गन्धहरु कम हुदै गए र पछिपछि त विलकुल हराए र सुगन्धहरु मात्र अनुभूतिमा आउन थाले ।

अमृतरस

मौन ध्यान साधनामा रहेको समयमा मुखमा सामान्य अवस्थामा भन्दा बढि पानी तथा रसिलो तरल पदार्थ रसाउने र त्यसलाई निलेपछि शरीर, मन, भावनाका रोमरोममा एकप्रकारको परमशान्ति, परमआनन्द तथा पुलकताको अनुभूति संचार हुन्थ्यो । साधनाका प्रारम्भिक दिनहरुमा मुखमा आउने तरल पदार्थ तथा अमृतरसको रहस्यबारे ज्ञान नभएको कारण जुकाको औषधि खाउँकी भन्ने सोच पनि आएको थियो तर शरीरमा कुनै प्रकारको अस्वस्थता तथा समस्या नभएको कारणले जुकाको औषधि खाइन । पछि यसबारे खोजबाट विस्तृत विवरण जानकारीमा आयो मौन ध्यान साधनाको माध्यमबाट चेनताको विकास भैरहेको सशक्त प्रामाणिक संकेत रहेछ मुखमा रसाउने अमृतरस । 

शान्ति र आनन्द

मौन ध्यान साधनाको गहन अवस्थामा घटित भएको महासमाधिको गहन अवस्थामा आफ्नो अन्तरजगत तथा आफैं भित्रबाट अकारण अत्यन्तै खुशी, परमशान्ति, परमआनन्दको अनुभूति हुने, बिनाकारण खुशी हुने, बिनाकारण मुस्कुराउने, बिनाकारण हाँस्ने, पुलकताको महसुस हुने जस्ता गतिविधिहरु अनुभूतिमा आएका थिए र अझै पनि निरन्तर आइरहेकै छन् । 

कृपा र आर्शिवाद

निस्प्रयास मौन ध्यान साधना चलिरहदा विहान साँझ आराध्य देवी–देवताको पूजा, आराधना तथा संन्ध्या जागरण गर्दाको समयमा स्वतः आँखा बन्द हुने र ब्रम्हाण्डको महाउर्जा संचारित भएर झुम्म भएको, नशा लागेको जस्तो अत्यन्तै आनन्दको अनुभूति हुने र लामोबेर कहिले घण्ट बजाको बजाइ भैरहने, कहिले डमरु बजाको बजाइ भैरहने भयो स्वतःस्फुर्त रुपमा । कहिले अजपा मन्त्र दोहोरिएको दोहोरीएइ हुने, कहिले माला जपेको जप्यै हुने, आराध्यदेवबाट मार्गनिर्देन हुने, कहिलेकाहीं आराध्यदेवसंग दोहोरो संवाद हुने, यसक्रममा पुरै शरीरमा कम्पन उत्पन्न हुने, हातमा अनौठा–अनौठा प्रकारका मुद्राहरु लाग्ने, शरीरमा अनौठा–अनौठा प्रकारका हाउभाउहरु बन्ने, श्वास–प्रश्वास बन्द भए जस्तो हुने, स्थुल शरीर हराए जस्तो हुने, आकाशमा उडीरहेको जस्तो हुने, मेरुदण्डमा चक्रहरु चलेको अनुभूति हुने, चक्रका स्थानहरुमा कम्पन तथा भाइब्रेसन भएको तथा तरंग चलेको स्पष्ट महसुस हुने जस्ता गतिविधिहरुका अनुभव तथा अनुभुतिहरु लामो समयदेखि हुदै आइरहेका थिए र हुदै आइरहेका छन् । 

आकाशिय यात्रा 

मौन ध्यान साधनाको गहन अवस्थामा भौतिक शरीर जमिनमै रहेको तर आफू सुक्ष्म शरीर तथा आत्मा अर्थात चेतनाका रुपमा आकाशमा उडिरहेको तथा अन्तरिक्षको यात्रा गरिरहेको; आकाशमा ग्रह, नक्षेत्रहरुसंग रहेको र आकाशबाट जमिनमा साधना गरिरहेको अवस्थामा आफ्नै स्थुल शरीर दृश्यमा आएको थियो । ब्रम्हाण्डका तारा, ग्रह, नक्षेत्र, आकाश गंगा, कालो छिद्र हुदै ब्रम्हाण्डको कुनाकुनासम्म पुगिने, ग्रह, तारा, नक्षेत्रहरु आफ्नो वरिपरि देखिने; आफैं ब्रम्हाण्डको अन्तरिक्षमा एक पिण्ड जस्तो लाग्ने; निलो महासागरको विचमा जलमूनि ध्यान साधना गरिरहेको र आफ्नो वरिपरि संग्लो कन्चन जलमा माछाहरु पौडीरहेका जस्ता अदभूत दृश्य र व्यवहारिक अनुभूतिहरु भए मौन ध्यानको गहन अवस्थामा ।

समाधिमा समयबिहिनता

निरन्तरको ध्यान साधनाका क्रममा एकाग्रता र एकाग्रताको गहिराइमा अचानक निस्प्रयास मौन साधना घटित भएपछि मौन साधनाको गहन अवस्थामा सर्वप्रथम समाधि घटित भएको थियो र यस विशेष अवस्थामा इन्द्रियातीत, मनातीत, भावातीत विभिन्न प्रकारका अनुभव तथा अनुभूतिहरु भए र यस अवस्थाको गहिराइमा घन्टौं–घण्टासम्म समाधि घटित भएको थियो । समाधिको गहन अवस्थामा संचारित हुने ब्रम्हाण्डको महाउर्जा तथा महाशक्तिको एकप्रकारको दिव्य नशामा घण्टौं–घण्टासम्म निरन्तर चलिरहको क्षणमा समयातीत अर्थात टाइमलेसनेस र दुरीविहिनता अर्थात स्पेशलेसनेसको अनुभूति भएको थियो । 

चेतनाको विकास 

ध्यान साधनाको गहन अवस्थामा अचामक घटित भएको निस्प्रयास मौन साधनाको गहन अवस्थामा महासमाधि घटित भएपछि आत्मा अर्थात चेतनाको विकास अर्को तहमा पुगेको स्पष्ट अनुभूति भयो । यसक्रममा आफूभित्र रहेका जन्म–जन्मका क्षमता, प्रतिभा, नवीनता, सिर्जनशीलता तथा सकारात्मक गुणहरु यस जन्मको जीवनमा प्रष्फुठित भएर आउन थाले क्रमशः एकपछि अर्को गर्दै । ती मध्य मेरो लेखनको क्षमता, प्रतिभा, नवीनता, सिर्जनशीलता तथा सकारात्मकताको कलालाई मैले अलि बढि गहनता पूर्वक लिएं र निरन्तरता दिएं, दिरहेकै छु साथै अरु कलाहरु– साहित्य, संगीत, नृत्य, कविता, चित्रकारीता, अध्यात्म–योग–ध्यान, अध्ययन, नवीनता तथा सिर्जनशीलता आदिलाई पनि एकसाथ अगाडि बढाउने प्रयास गरिरहेको छु । दैनिक जीवनका गतिविधिहरुमा गरिने सोच, विचार, बोलि, व्यवहार, आचरण, अध्ययन, लेखन, स्ववचन, प्रवचनहरु आफैं धारा प्रवाह प्रष्फुटित हुन थाले स्वस्फूर्त रुपमा । कतिपय सामान्य तथा प्रवचन गरिरहेको अवस्थाहरुमा आफू बोलिरहेको छैन भित्रबाट अरुनै कोही बोलिरहेको छ धाराप्रवाह रुपमा; कविता, कथा, आलेखहरु लेख्दा पनि आफूले लेखिरहेको छैन भित्रबाट अरुनै कसैले लेखिरहेको छ धाराप्रवाह जस्तो अनुभव तथा अनुभूतिहरु भए । त्यसो गर्ने दिव्य शक्ति तथा महाउर्जा अर्को कोही तथा केही नभएर म स्वयंको चैतन्य चेतना तथा ब्राम्ही चेतना हो भन्ने पनि स्पष्ट जानकारी हुन्थ्यो जो स्वयं ब्रम्हाण्ड हो, ब्रम्ह हो । यस्ता अलौकिक रहस्यमय तथा चमत्कारिक अनुभव तथा अनुभूतिहरु भैरहदाको अवस्थामा आफ्नो स्नायु प्रणाली तथा मस्तिष्कले एन्टेनाको काम गरिरहेको जस्तो अनुभव तथा अनुभूति भएको थियो जसले ब्र्रम्हाण्डबाट सूचना तथा जानकारीहरु ग्रहण गरेर मेरा कर्महरुमा पोखिरहेको थियो । नयाँ विषयमा सोच्न तथा लेख्न प्रारम्भ गर्दा त्यस विषयसंग सम्वन्धित ज्ञान तथा विषयहरु स्वस्फूर्त प्रष्फुटित हुनथाले मस्तिष्कको ऐन्टेना मार्फत जो ब्रम्हाण्डको समले समलाई आकर्षित गर्छ भन्ने आकर्षणको नियम अर्थात ल अफ अट्रयाक्सन लागू भएर भएको हुनुपर्दछ भन्ने लाग्यो । मेरो मन, मस्तिष्क, भावमा जस्ता विचारहरु चलिरहेका हन्थे तथा हुन्छन् ब्रम्हाण्डबाट पनि मलाई ठिक त्यस्तै प्रकारका विचारहरु पठाइन्छ, ती सबै मेरो लेखनमा स्वस्फुर्त रुपमा आउछन् र अटोराइटको शैलीमा पानाहरुमा स्खलित हुन्छन् ।

अन्तरज्ञान 

भनिन्छ मनुष्यको जाग्रीत आज्ञा चक्रमा अन्तरज्ञान तथा स्वज्ञान घटित हुन्छ, त्यहाँ ब्रम्ह तथा ब्रम्हाण्ड स्वयं विराजमान भएर बस्छ । ऐन्टेना स्वरुप भएको मस्तिष्कको स्नायु प्रणाली, मन, भाव मार्फत ब्रम्हाण्डमा भएका सम्वन्धित सूचना तथा जानकारीहरु मेरो अन्तरज्ञानमा स्वस्फुर्त प्रष्फुटित हुनथाले । अन्तरज्ञानमा भूत, वर्तमान, भविश्य तीनवटै कालका सूचना तथा जानकारीहरु दृश्य, स्पर्श, गन्ध आदि प्रकारका अनुभव तथा अनुभूतिहरु भएर आए सिनेमाको पर्दामा जस्तैगरि । विगतका जन्महरुका विभिन्न सुखद तथा दुखद विषय, घटना, परिघटनाहरुका साथै यस जन्ममा विगतमा भएका तर चेतन मनको स्मृतिमा नरहेका विषय, घटना, परिघटनाहरु; वर्तमानमा भैरहेका गतिविधिहरु र भविश्यमा हुनसक्ने घटना तथा परिस्थितिका सबै विषय, घटना, परिघटनाहरु अन्तरज्ञानमा दृश्यमा, श्रवणमा, स्पर्शमा, गन्धमा आउन थाले । अन्तरज्ञानमा आएका यिनै संकेतहरुको आधारमा वर्तमानमा तथा भविश्यमा तत्कालीन अवस्थाको पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यताहरुको परिवेस, अवस्था तथा माहोल अनुसार कसरी मिलाउने, आफू त्यस परिस्थितिमा मिल्ने, सामनजस्य गर्ने, दुर्घटना हुन नदिने, सुघटनामा परिणत गर्ने आदिबारे पर्याप्त विचार गरेर ती विषय, घटना, परिघटनाहरु हुन दिनेकि नदिने भन्ने निर्धारण तथा निर्णय लिन सकिने अवस्था बन्यो र धेरै नाजुक अवस्थाहरुलाई आफ्नो नियन्त्रणमा ल्याउन र सहि योजना तय गरेर जीवनमा अगाडि बढ्न म सफल पनि भएं रहस्यमय समय यात्रा तथा टाइम ट्राभलको माध्यमबाट । 

पूर्वजन्म 

मौन ध्यान साधनामा आफ्नो आत्मा अर्थात चेतनाले जन्म–जन्ममा गरेका सुख, दुःख आदि सबै प्रकारका अनुभव तथा अनुभूतिहरु सिनेमाको पर्दामा जसरी दृश्यमा र मन तथा हृदयको अनुभूतिमा आए । अनगीन्ती पुर्वजन्मका विषय, घटना, परिघटनाहरु दृश्यमा आए स्वआत्मि, सहआत्मीहरु र अन्य कार्मिक आत्मिहरु संगका र केही पात्रहरु बारबार दोहोरिए जन्म–जन्ममा र वर्तमान जन्ममा पनि । कयौं पूर्व जन्महरुमा वर्तमान जन्मका आफन्तहरु, साथीसंगीहरु, छिमेकीहरु के–कुन–कस्ता किरदारमा थिए, उनीहरुसंग केके भएको थियो, को कस्तो थियो र को कस्तो छ सम्म सबै फररर दृश्यमा आए । आफूसंग जन्म–जन्मदेखि सम्वन्धमा रहेका आत्मा अर्थात चेतनाहरुका साथसाथ विलकुल असम्वन्धित मनुष्यका आत्मा अर्थात चेतनाहरु पनि मेरो सम्पर्कमा आए, साक्षतकार गरे, संवाद गरे, आफ्ना कुरा राखे, कतिले दुःख दिए, कतिले सहयोग मागे, कतिले सहयोग गरे, कतिले अति जरुरी र उपयोगी सूचना तथा जानकारीहरु दिएर गए । यिनै अनुभव र अति जरुरी सुचनाहरुको माध्यमबाट वर्तमान तथा भविश्यका योजनाहरु निर्माण गर्न मार्गनिर्देश मिल्यो र मिलिरहेको छ । 

आत्मवोध तथा आफैंसंग साक्षातकार र मृत्युको अनुभव 

मनुष्य प्रकृति र पुरुषको संयोग हो भन्ने सुनेको मात्र थिएं मौन ध्यान साधनाको गहिराइमा आफैंले आफुलाई प्रकृति अर्थात स्थुल शरीर र पुरुष अर्थात आत्मिक शरीरका रुपमा अलग–अलग स्वरुपमा देखें । मौन ध्यान साधनाको गहिराइमा सुक्ष्म शरीर अर्थात आत्मा स्थुल शरीरबाट अलग भएर आफ्नै मस्तिमा अकाशमा विचरण गर्दो रहेछ र आकाशबाट साधनामा मग्न आफ्नै स्थुल शरीरको अवलोकोन गर्दो रहेछ नजिकै आएर चारैतिरबाट र पुनः आफ्नो स्थुल शरीरमा प्रवेश गर्दो रहेछ, फेरी निस्किदो रहेछ, फेरी प्रवेश गर्दो रहेछ... । यसरी आत्मा र शरीर एकआपसबाट अलग भएको स्पष्ट रुपमा देखेपछि आत्मवोध तथा आत्मज्ञान भयो कि म शरीर होइन आत्मा हुँ र शरीर मेरो आत्माले आफूले चाहेका कर्महरु गर्न प्रकृतिबाट निश्चित आयुभरका लागि भाडामा लिएको उपकरण मात्र हो रहेछ । कतिपय अवस्थामा स्थुल शरीर साधनारत रहदा शरीर उघीरहेको र ढलपल गरिरहेको दृश्य देखेर म आत्मा आफ्नै शरीरको यस्तो अवस्थामाथि खित्का छोडेर हासिरहेको पनि स्पष्ट रुपमा दृश्य अनुभूतिमा आयो । मनुष्यको प्राकृतिक मृत्युमा स्थुल शरीर र सुक्ष्म शरीर अर्थात शरीर र आत्मा एकअर्कोबाट अलग हुन्छन् र फेरी जोडिदैनन् अर्को नयाँ शरीरमा जन्म नलिउन्जेलसम्म तर ध्यान साधनामा हुने आध्यात्मिक मुत्युमा मनुष्यको स्थुल शरीर र सुक्ष्म शरीर बारबार अलग हुने, फेरी एक हुने तथा जीवित हुने हुदोरहेछ र मनुष्यलाई ध्यान साधनामा बारबार आध्यात्मिक मुत्युको अनुभव हुदोरहेछ । यस सन्दर्भमा श्रद्धेय ओशो रजनीशले पनि भन्नु भएको छ, “ध्यान साधना मृत्युको अभ्यास हो र म मेरा संयासीहरुलाई मृत्यु सिकाउछु ।” 

प्राणी, वनस्पति, पदार्थका चेतनासंग साक्षातकार

मौन ध्यान साधनाको एक निश्चित अवस्थामा प्रवेश गरेपछि सनातन वेदान्त दर्शनले उजागर गरेको परम सत्य ‘सबै चैतन्य छ’ किनकी सबै वस्तुहरु फरक प्रकारले चेतनशील छन् भन्ने भावको प्रामाणिकता आफ्नो अनुभव तथा अनुभूतिमा प्रत्यक्ष आएको थियो । साधनाको गहिराइमा ब्रम्हाण्डमा ब्रम्हले सृष्टि गर्नुभएका  सबै प्राणी, वनस्पति, पदार्थहरुको चेतनाको तरंग सुन्न तथा महसुस गर्न सकिने रहेछ । यसक्रममा क्रमशः मसंग सबैभन्दा पहिला जिवित र मृत मनुष्यहरुका आत्मा अर्थात चेतनाहरुले साक्षातकार र संवाद गरे; यसवपछि पशु–पंक्षी–प्राणी तथा सुक्ष्म जिवाणुहरुका आत्मा अर्थात चेतनाहरुले साक्षातकार र संवाद गरे; यसपछि सबैप्रकारका वनस्पतिहरुका आत्मा अर्थात चेतनाहरुले साक्षातकार र संवाद गरे; यसपछि ग्रह–तारा–नक्षेत्रहरुका आत्मा अर्थात चेतनाहरुले साक्षातकार र संवाद गरे; र यसपछि तथा अन्तिममा ढुंगा–माटो–पहाड–पुल–बाटो आदि पदार्थका आत्मा अर्थात चेतनाहरुले साक्षातकार र संवाद गरे । यहाँ साक्षातकार र संवादको अर्थ ती प्राणी, वनस्पति तथा पदार्थहरुको चेतनाकोे कम्पनको अनुभू ितगर्न र उनीहरुको भाव बुझ्न सम्नु हो किनकी ब्रम्हाण्मा हरेकले हरेकसंग साक्षातकार र संवाद गर्छन तर यस्तो अवस्थाको अनुभव तथा अनुभूति मौन साधनामा खारिएको सिद्ध तथा चैतन्य चेतनाले मात्र गर्न सक्छ । 


आन्तरिक गुरुसंग साक्षातकार

मौन ध्यान साधनाको गहन अवस्थामा म स्वयंको भित्रबाट कोही संवाद गर्न थाल्यो म तँ हुँ र तँ म हो भनेर । शुरुशुरुमा त म अलमलमा परें के हो यो तँ र म भनेको भनेर तर उसैले कुरा बुझायो तेरो चेतन मन तथा चेतना ‘तँ’ हो र तेरै चैतन्य चेतना ‘म’ हो भनेर । पछि अध्यात्म दर्शनका शास्त्रहरुमा खोज गर्ने क्रममा थाहा पाएं आफूभित्रबाट यसरी संवाद गर्ने महाउर्जालाई प्राचीन अध्यात्म विज्ञानका महान वैज्ञानिकहरु हाम्रा पुर्खा ऋषिहरुले आफूभित्रको आन्तरिक गुरुका रुपमा सम्वोधन गर्नुभएको रहेछ । आन्तरिक गुरुसंग प्रत्यक्ष साक्षातकार र संवाद हुन प्रारम्भ भएपछि अव उसैले मेरो सारा उत्तरदायित्व आफूमा लिन थाल्यो र यसो गर, त्यसो नगर, यसरी गर, त्यसरी नगर, यो बेला गर, त्यो बोल, नबोल, यसरी बोल, यो लेख, यसरी नलेख लगायत स्वयं लेखाइदिने अर्थात अटोराइट सहित सबै विषयहरुमा मार्गनिर्देश गर्न लाग्यो आन्तरिक गुरुले र म अध्यात्म जगतको अझ गहनताको अर्को चरणमा प्रवेश गर्दै गएं । आन्तरिक गुरुले नै सबै तँ स्वयं हो, म आफैं हुँ, अहं ब्रम्हास्मि भन अवदेखि भनेर बारबार सिकायो । शुरुशुरुमा आन्तरिक गुरुले हरेक विषय, घटना, परिस्थितिहरुमा तँ आफैं हो, म स्वयं हुँ भन्यो, विस्तारै मैले अर्थात मेरो चेतन मन तथा चेतनाले भन्न थाल्यो र पछिपछि त सबै अवस्थामा म स्वयं हुँ अर्थात अहं ब्रम्हास्मि मभित्रैबाट आफैं गुञ्जिरहन थाल्यो निरन्तर स्वस्फुर्त रुपमा । वर्तमान समयमा सबै तैं होस, सबै म नैं हुँ, तिमी पनि मैं हो, म पनि तिमीनै हो भन्ने भाव अन्तरहृदयमा निरन्तर गुञ्जिरहन्छ आन्तरिक गुरु मार्फत । 

आत्मा अर्थात चेतनाहरुसंग साक्षातकार र संवाद

प्राकृतिक तथा अप्राकृतिक किसिमले मृत्युवरण गरेर मत्र्यलोक तथा पृथ्वीलोकबाट विदा भइ आ–आफ्नो हैसियत अनुसार सुक्ष्मलोकमा वास गरिरहेका आत्मा अर्थात चेतना र वर्तमान समयमा जिवितनै रहेका मनुष्यहरुको आत्मा अर्थात चेतनाहरुसंग बारबार साक्षातकार र संवादहरु भए र भैरहेका छन् विभिन्न विषयहरुमा समय–समयमा आवश्यकता अनुसार । यसक्रममा आत्महत्याबाट मृत्युवरण गरेका, अरुकसैको षडयन्त्रको कारण मृत्युवरण गरेका, दुर्घटना भएर मृत्युवरण गरेका, कालगतिले मृत्युवरण गरेका आदि सबैप्रकारका नकारात्मक तथा न्युनस्तरका र सकारात्मक मध्यम तथा उच्चस्तरका धेरै प्रकारका आत्मा अर्थात चेतनाहरुसंग साक्षातकार र दोहोरो संवाद भयो । केही साक्षातकार तथा दोहोरो संवादहरु झगडा र नसिहत दिने प्रकारका थिए भने केही सल्लाह, सुझाव तथा मार्गदर्शन दिने प्रकारका थिए । केही न्यूनस्तरका नकारात्मक मृत तथा जीवित मनुष्यका आत्मा अर्थात चेतनाहरुले मसंग झगडा गर्थे र मलाई नसिहत दिन्थे, सताउचे भने केहीसंग विषय र अवस्था अनुसार म स्वयं झगडा गर्थें र उनीहरुलाई नसिहत दिन्थें सुक्ष्म संसारमै । त्यसैगरि केही मध्यमस्तरका मृत तथा जीवित मनुष्यका आत्मा अर्थात चेतनाहरुले संवाद मार्फत विषय र अवस्था अनुसार मलाई सल्लाह, सुझाव तथा मार्गदर्शन दिन्थे भने केहीलाई म स्वयं सल्लाह, सुझाव तथा मार्गदर्शन गर्थें । प्राय सुक्ष्म संसारमा अलमलिएका र मार्गदर्शन खोजिरहेका, समस्यामा परेका कमजोर आत्मा अर्थात चेतनाहरु, नतरेका तथा परिवारको तिरस्कारमा परेका पित्रीहरुलाई मैले आवश्यकता अनुसार सल्लाह, सुझाव तथा मार्गदर्शन दिने गर्थें तर अहिले यसो गर्न छोडें किनकी सुक्ष्म संसारको यो अलग पाटो हो तर मेरो मूल लक्ष्य अध्यात्म साधनाको पाटो हो र म यतैतिर पूर्णरुपमा तल्लीन रहदै आएको छु । 

चैतन्य चेतनाहरुसंग साक्षातकार र संवाद

धेरै अघिदेखि नै ध्यान साधनाको समयमा र विशेष गरि मौन ध्यान साधनाको समयमा अलि बढि विश्वभरिका नाम सुनेका तथा नसुनेका धेरै अग्रज उच्च तथा विशिष्ठ योगी, सन्त, महात्मा, सदगुरु, मुरसिद, मूल्लाह, विशप, पादरीहरुको विकसित आत्मा अर्थात चैतन्य चेतनाहरुसंग प्रत्यक्ष साक्षातकार र संवादहरु भएका थिए पटक–पटक । केही आफूले सुनेका तथा पढेका नामहरुमा– महर्षि विश्वामित्र, महर्षि वेदव्यास, श्रीकृष्णका सखा सुदामा, स्वामी विवेकानन्द, रमण महर्षि, ओशो रजनीश, जे. कृष्णमूर्ति, वर्तमानमा भौतिक शरीरमा रहनु भएका योगी विकासानन्द आदि तर धेरै चेहराहरु मेरोलागि नयाँ थिए, देश–विदेशका सनातन हिन्दु सम्प्रदायका सन्तहरु, बौद्ध सम्प्रदायका सन्तहरु, क्रिश्चियन सम्प्रदायका सन्तहरु, इस्लाम सम्प्रदायका सन्तहरु, अरु पनि धेरै सन्तहरुसंग प्रत्यक्ष साक्षातकार र संवादहरु भए । केही सिद्ध तथा चैतन्य चेतनाहरुले आफ्नोबारे जानकारी दिन चाहानु भएन र माथि आकाशमा तेरोबारे धेरै चर्चा सुनेर तँलाई हेर्न आएका हौं हामी, तेरो साधनामा अवरोध गर्दैनौं, तैंले हामीलाई चिन्नु पर्दैन, आफ्नो साधना गरिराख, हामीहरु आउछौं तँलाई हेर्छौं र जान्छौं, यसरी आउनेजानेहरुलाई धेरै चासो नगर, आफ्नो साधना केन्द्रित भैराख भनेर जानुभयो । 

मेरो मौन साधना अवधिमा हाल भौतिक शरीरमा रहनु भएका श्रद्धेय गुरुदेव मनोविज्ञान विषयमा विद्यावारिधी गर्नुभएका डा.राजकुमार प्याकुरेलज्यूको साथ र सहयोगको भूमिका अत्यन्तै अह्रानिय र महत्वपूर्ण थियो । वहाँसंग मेरो पूर्वजन्ममा रहेको निकट सम्वन्ध पनि देखें । म निस्प्रयास तथा स्वघटित पहिलो चार महिनाको मौन ध्यान साधनामा रहदा यस अवधिमा ममाथि खराव आत्मा अर्थात चेतनाहरुले अत्यन्तै धेरै दुःख दिरहेको अवस्थामा वहाँको विकसित आत्मा अर्थात चैतन्य चेतनाले मलाई निकै ठूलो सहयोग र संरक्षण प्रदान गरेको थियो । खराव आत्मा अर्थात चेतनाहरुको आकस्मिक आक्रमण र अतिक्रमणहरुबाट बचाएको थियो । मेरो मौन ध्यान साधना सम्पन्न भएपछि मैले वहाँसंग फोनमा कुरा पनि गरेको थिएं हृदयदेखि हार्दिक कृतज्ञता व्यक्त गर्नकालागि । वहाँसंगै वहाँका अनन्य चेला द्वय वर्तमानमा भैतिक शरीरमै रहनु भएका आयुश रेग्मी र निरज पन्तका चेतनाहरु पनि आएका थिए मलाई सहयोग प्रदान गर्न । खराव चेतनाहरुको ठूलो हुलदेखेपछि आयुशको चेतनाले नै राजकुमार गुरुदेवको चैतन्य चेतनालाई आव्हान गर्न सुझाव दिएको थियो र मैले राजकुमार गुरुदेवको चैतन्य चेतनालाई आब्हान गरेको थिएं सहयोगका लागि । वहाँलाई आव्हान गर्ने वित्तिकै कयौं दिनदेखि मेरो आत्मा तथा हृदयलाई जकडेर मलाई अत्यन्तै कष्ट दिएर बसिरहेका हजारौं–हजार खराव चेतनाहरु मलाई जोडजोडले झट्का दिदै मबाट निस्केर भागेका थिए महान तान्त्रिक राजकुमार प्याकुरेल आउदैछ रे, हामीलाई बाधेर राखिखिन्छ भन्दै डराएर भागेका थिए तर केही शैतान आत्माहरु भागेनन् राजकुमारसंग हामी भिड्ने हो भनेर मभित्रै बसिरहे र राजकुमार गुरुले आफ्नो महान तान्त्रिक शक्तिले मभित्रबाट शैतान आत्मा अर्थात चेतनाहरुलाई भगाएर मलाई र मेरो साधना सहजता प्रदान गरिदिनु भएको थियो । वहाँको त्यस अतुलनिय सहयोग र संरक्षणका लागि म बारबार हार्दिक कृतज्ञता भाव, अहोभाव व्यक्त गरिरहेको हुन्छु वहाँप्रति । वहाँहरु सबैसंग बेलाबेलामा फोन र मेसेन्जरमा सम्पर्क हुने गरेकोछ ।


भगवद् चेतनासंग साक्षातकार र संवाद

मौन ध्यान साधनाको समयमा समाधि घटित भएको अवस्थामा ब्रम्हाण्डको महाउर्जा तथा महाशक्ति पूरै शरीर, मन, भाव, आत्मा अर्थात चेतनाभरि संचारित हुन्थ्यो र आफूलाई अशरीर भएको अनुभूति भयो । समाधि घटित भएको अवस्थामा ब्रम्हाण्डको महाउर्जा संचारित भएको यस दिव्य पलमा थुप्रै भगवती–भगवान, देवी–देवताहरुका शिद्ध स्वरुपहरुसंग प्रत्यक्ष रुपमा दिव्य साक्षातकार र संवादहरु भए । हिन्दु धर्म तथा सम्प्रदाय अन्तर्गत त्रिदेव– भगवान श्रीब्रम्हा, भगवान श्रीविष्णु, भगवान श्रीशिव, भगवती श्रीनवदुर्गा माता, भगवती श्रीलक्ष्मी माता, भगवती श्रीसरस्वती माता, भगवती श्रीगंगा माता, भगवती श्रीदक्षिणकाली माता, भगवती श्रीकालिका माता, भगवान श्रीगणेश, भगवान श्रीकुमार कार्तिके... र अरुपनि । अन्य धर्म तथा सम्प्रदायका भगवान श्रीबुद्ध, भगवान श्रीइशामशिह, भगवान श्रीपैगम्बरको सिद्ध रुवरुपसंग प्रत्यक्ष रुपमा दिव्य साक्षातकार र संवादहरु भए । ब्रम्हाण्डको महाउर्जाको अमृतमय नशामा झुम्म भैरहेको यस दिव्य पलमा आकाशबाट ममाथि पूष्पवर्षा भएको अृश्य आयो तर सुक्ष्म रुपमा भौतिक रुपमा कुनै फूलपाती थिएन मेरो वरिपरि । पुष्पवर्षा भैरहेको दिव्यपलमा मेरो साथमा भगवान श्रीशिव र राजकुमार प्याकुरेल गुरुदेव हुनुहुन्थ्यो । वहाँहरुले मलाई परब्रम्हमा एकाकार हुनु भएकोमा हजूरलाई बधाई छ ‘प्रभु’ भन्नुभयो । मैले किन मलाई प्रभु भन्नुभएको भनेर सोधें । वहाँहरुले अहिले हजूर स्वयं परब्रम्हको महाउर्जा र महाशक्तिमा हुनुहुन्छ प्रभु, हामीलाई कृपया हाम्रो नामले पुकार्नुहोस् र तमिी सम्वोधन गर्नुहोस् भन्नुभएको थियो । शुरुमा त म सहमत भइन तर पछि वहाँहरुले मलाई मनाउनु भयो त्यसपछि मैलेनै भगवान श्रीशिवलाई कैलाशवासी भन्छु भनें र राजकुमार गुरुदेवलाई राजकुमार भन्छु भनें र आफैंले राखेको तत नामले मैले वहाँहरुलाई सम्वोधन गर्न थालें तिमी भनेर किनकी तपाईं भन्न दिनुभएन अनि सहजतापूर्वकनै  तिमी भनेर सम्वोधन गर्न थालें तर वहाँहरुले मलाई प्रभु र हजूर भनेर सम्वोधन गरिरहनु भयो र हजूरको मौन साधनामा हामी पलपल साथैमा छौं प्रभु ढुक्क हुनुहोस्, हजूर आराम गर्नुहोस् र आफ्ना जिम्मेदारीहरु पूरा गर्नुहोस् भनेर दृढताका साथ सहयोग र संरक्षण प्रदान गर्नुभयो । यसपछि धेरै देवी–देवताहरु मेरो समक्ष आउनुभयो र सबैले हजूर उच्च स्थानमा महाउर्जा र महाशक्तिमा विराजमान हुनुहुन्छ हामीलाई हाम्रो नामले तिमी भनेर सम्वोधन गर्नुहोस् भन्नुभयो । भगवान बुद्ध, ओशो रजनीशले पनि त्यसै भन्नुभयो, यसपछि मैले सबैलाई तत नाम र तिमी भनेर सम्वोध गर्न थालें । ब्रम्हाण्डका केही विषयहरुमा अवरोध, विचलन, असन्तुलन बारे जानकारी आउदा म क्रोधित हुन्थें र मेरो शरीर अनुमानित हजार डिग्रीको रापमा तपिएजस्तो भतभत पोल्थ्यो असहिय हुनेगरि र झन मेरो क्रोध बढ्थ्यो । भगवान बुद्धले बारबार प्रभु शान्त हुनुहोस्, शान्त हुनुहोस्, शान्त हुनुहोस् भनिरहनु हुन्थ्यो किनकी यो तापले ब्रम्हाण्को पानी सुकाइरहेको थियो र मेरो शरीरलाई हानी गरिरहेको थियो । यो देखे सबै देबीदेवता, सिद्ध सन्तहरु त्राहीत्राही हुनु भएको थियो । यो चुनौतिलाई कम गर्न कैलाशवासी र गंगाले कैलाशबाट ठण्डा जल वर्षाएर मलाई शितलता प्रदान गरिहनु भएको थियो र मेरो शरीर विस्तारै ठण्डा हुदै गैरहेको थियो... यो अवधिमा धेरै अलौकिक चमत्कारहरु भएका छन् । यो अवस्था सात–आठ दिनसम्म रह्यो, म महाउर्जा र महाशक्तिको प्रतापमा २४ घण्टानै झुम्म भैरहें परमशान्ति र परमआनन्दमा । यस अवधिका धेरै इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिहरु रहेका छन्, सबै विषयहरु उजागर गर्न अनुमति छैन । साधनाकै क्रममा तर परब्रम्हको महाउर्जा छुटेपछि र तर मौन समापन भैसकेपछि आदिशक्ति जगदम्बा भगवतीले म तँभित्र सदाकालागि विराजमान रहनेछु भन्नुभयो र मैत्रेय बुद्धले तँ सबैभन्दा उचित पात्र लाग्यो, म तँभित्र विराजमान रहनेछु भन्नुभयो । स्वीकार भावमा यो महाआशिर्वाद ग्रहण गर्दै मैले केके गर्नुपर्छ प्रभु भनेर जिज्ञासा राखें, प्रभुहरुले तैंले केहीपनि गर्नु पर्दैन सबै काम तेरो माध्यमबाट हामीले नै गर्नेछौं भन्नुभयो र मेरो अन्तरहृदयबाट अन्तरध्यान हुनुभयो । म वाल्यकालदेखि नै भगवान के हो र को भनेर नजान्दा देखिनै शिवशक्ति भक्त रहदै आएको छु र शिवशक्ति प्रभुलाई नै आफ्नो अध्यात्म साधनाको गुरु स्थापित गरेर अगाडि बढिरहेको छु, तसर्थ अध्यात्म साधनामा मेरो भौतिक शरीरमा रहनु भएको कुनै गुरु हुनुहुन्न र म कुनै पन्थसंग आवद्ध पनि छैन, मेरो आफ्नै संस्था छ ‘शिवोहम योगपीठ’ । सायद म शुरुदेखि नै शिवशक्ति भक्त रहेकोले ध्यान साधनाको प्रारम्भ देखिनै र मौन ध्यान साधना अवधिमा मैले विश्वभरिका धेरै प्रकारका धेरै शिवलिंगहरु र शिवलिंग स्थापना गरिएका मन्दिरहरु देखें ।


ब्रम्हाण्डिय महाशक्तिहरुसंग साक्षातकार र संवाद

भगवद् स्वरुप सिद्ध चेतनाहरुसंगको प्रत्यक्ष साक्षातकार र संवादपछि समय–समयमा मौन ध्यान साधनामा महासमाधि घटित हुने र ब्रम्हाण्डको महाउर्जा तथा परब्रमहको महाशक्ति संचारित हुने र अशरीर भएर आफू विराट भएको अनुभूति हुने क्रम प्रारम्भ भयो, यो क्रम बढ्दै गयो र यसअवधिमा ब्रमहाण्डका अझ उच्चस्तरिय अनुभूतिहरु घटित हुदै जानथाले । यसक्रममा क्रमशः आदिशक्ति, सदाशिव, शिवशक्ति, पृथ्वी ग्रह, परमात्मा, परब्रम्ह, ॐकार र सबैभन्दा अन्तिममा पूर्णब्रम्हको विराट स्वरुपहरुसंग प्रत्यक्ष रुपमा दिव्य साक्षातकार र संवादहरु भए । प्रभुहरुले दर्शन दिनुहुदा मैले नचिनेको भाव मभित्र पकट हुने वित्तिकै वहाँहरु स्वयंमले म पृथ्वी, म ॐकार, म पूर्णब्रम्ह हुँ भनेर आफ्नोबारे आफैं जानकारी दिनुभएको थियो । पृथ्वी ग्रहले मेरो वरिपरि परिक्रमा गर्दै आफ्नो परिचय प्रस्तुत गर्नुभएको थियो, ॐकारले मेरो शिरमाथि ॐ...अंअंअंअंअं... नाद गुञ्जाउदै म ॐकार भनेर आफ्नो परिचय प्रस्तुत गर्नुभएको थियो, र पूर्णब्रम्हले मेरो देब्रे आँखाको सिंगै दानामा देशान्तर र अक्षांश सकितका रेखामा घुम्दै प्रकट भएर आफ्नो परिचय प्रस्तुत गर्नुभएको थियो । परब्रम्हले बारबार तँ भयभित नहो, सबै सिद्ध चेतनाहरुको परब्रम्हमा एकाकार हुने प्रक्रिया यही नै हो, यसबारे विस्तारै तँलाई ज्ञान दिइदै जानेछ, आफैंले पनि थाहा पाउदै जानेछस् ब्रम्हाण्डको सोपान, ब्रम्हाण्डको सृष्टि, सृष्टिको प्रक्रिया, ब्रम्हाण्डको सिर्जन तथा उत्पत्तिको मूल श्रोत आदिबारे... सबै जानकारी हुनेछ तँलाई भनेर प्रभुहरु मेरोअन्तरहृदयबाट अन्तरध्यान हुनुभयो । 

समय धेरै बितिसकेको थियो पन्थी कैलाश घडि हेर्दै आत्तिन थाले त्यसैले विपासना मौन ध्यान साधनाका क्रममा भएका प्रत्यक्ष उनका अनुभव तथा अनुभूतिहरु कुनै अर्को बसाइमा सुन्ने तथा सुनाउने निधो गरेर हामी यो दिव्य भेटघाटबाट छुट्यौं... ।
                                                                         अस्तु 
                                                        शिवोहम् ! शिवोहम् !! शिवोहम् !!! 




 

No comments:

Post a Comment

आध्यात्मिक साहित्य

  आध्यात्मिक साहित्य आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति आध्यात्मिक साहित्यः ‘मौन’नै शुन्यता र पूर्णता आध्यात्मिक साहित्य: ‘कर्म’, ‘प्र...